मङ्गलबार, १६ सेप्टेम्बर २०२५

नेकपा दुई ध्रुवीय हुँदै जाँदा माधव नेपाल समूहलाई धक्का

News Image
• • •

नेकपाभित्र पैदा भएको संकटमोचनका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले एक्लाएक्लै, कहिले एक–एक जना सहयोगी र कहिले दुई–दुई जना सहयोगीसहित छलफलमा जुटेका छन् .तर  ‘तेस्रो समूह’ को नेतृत्व गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल भने छलफलमा सहभागी छैनन्।

वरिष्ठ नेता नेपाल स्थायी कमिटी बैठक स्थगित भएपछि प्रधानमन्त्री निवास, बालुवाटार गएका पनि छैनन्। अध्यक्षद्वय दिनदिनै भेटघाट र छलफल गरिरहेका छन् तर अध्यक्षले बनाएकाे चार सदस्यीय अनौपचारिक कार्यदलमा समेत नेपाल पक्षकाे प्रतिनिधित्व छैन।

कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग सहमतिका लागि गठित ‘अनौपचारिक कार्यदल’ मा आफ्ना सहयोगीको रुपमा आफूनिकट स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई राखे। नेपाल समूहका एक जना पनि मान्छे राखेनन्। प्रधानमन्त्री ओलीको सहयोगीका रुपमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल तोकिएका छन्। कहिले अध्यक्षद्वय, कहिले एक–एक सहयोगीसहित, कहिले दुई–दुई सहयोगीसहित त कहिले सहयोगी समूह मात्रै बैठक बस्ने गरेका छन्। नेपाल समूहकाे विवाद समाधानमा कुनै भूमिका देखिँदैन। नेपाल समूह कतै ‘सौदाबाजी’ बाट समेत टाढिएको त हैन ? प्रश्न उठ्न थालेको छ।

प्रधानमन्त्रीको ‘टीम’ का एक जना सदस्य त यतिसम्म भन्छन्, ‘अब माधव नेपालजीले सविक एमालेबाट वा उहाँको समूहको नाममा हिस्सा खोज्ने होइन, प्रचण्ड समूहबाट भाग खोज्नुपर्छ। हिजोजस्तो नेपाल समूह भनेर खोज्न मिल्दैन।’ 

नेकपाभित्रको ‘तेस्रो शक्ति’ हुन्– वरिष्ठ नेता नेपाल। उनी त्यहाभित्र अध्यक्षद्वयभन्दा पनि वरिष्ठ नेता हुन्। उनकाे याेगदान पनि अध्यक्षहरूभन्दा कम छैन। 

नेकपा स्थायी कमिटीका ४४ जनामा साविक एमालेका २६ जना थिए जसमध्ये नेपालसँग १३ जना थिए भने अध्यक्ष ओलीसँग पनि १३ जना नै थिए। सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डसँग १८ जना थिए। 

तीन ध्रुवबाट दुई ध्रुवीय हुँदै नेकपा

ओली, प्रचण्ड र नेपाल समूहको तीन ध्रुवबाट नेकपा दुई-ध्रुवीय देखिँदै गएकाे छ। यस क्रममा नेपाल समूहले धक्का व्यहोरेको छ। सो समूहका स्थायी कमिटी सदस्यहरु नेपालसँग टाढिँदै छन्, दुई अध्यक्षसँग नजिक हुँदै गएका छन्। 

नेपाल समूह भनेर गणना गरिने तर नेपालभन्दा माथिल्लो वरियतामा सारिएका वरिष्ठ नेता झलनाथ खनाल प्रचण्डसँग निकट छन्। नेपालसँग उनकाे लामाे समयदेखि टसल छ । खनालले आपूलाई नेपालकाे समेत नेता सम्झन्छन् ।

उपाध्यक्ष वामदेव गौतम पछिल्लो डेढ वर्षदेखि ओलीसँग टाढिएका छन् । उनी कहिले प्रचण्डसँग त कहिले ओलीसँग नजिक देखिन्छन् तर पनि नेपालभन्दा अध्यक्षद्वयसँग नजिक छन्। अध्यक्षद्वयसँग समदूरीमा रहेका उनी साविक एमालेभित्र भने नेपालभन्दा ओलीसँगै निकट छन्। 

त्यसो त छ वर्षअघि सम्पन्न नेकपाको नवौँ महाधिवेशनमा नेपाललाई साथ दिएका नेताहरु पनि नेपाल निकै टाढा पुगिसकेका छन्। गुटनिरपेक्ष देखाउने प्रयासमा रहेका स्थायी कमिटी सदस्य मन्त्रीद्वय घनश्याम भुसाल र योगेश भट्टराईको प्रधानमन्त्री ओलीसँगको दूरी घटेको छ। उनीहरु नेपालभन्दा ओली र प्रचण्डसँगै निकट छन्।

भुसाल र भट्टराई गत चुनावदेखि नै नेपाल समूहका कुनै पनि गुटगत क्रियाकलापमा सहभागी छैनन्।  नेपाल समूहले गुटको बैठक र ओली पक्षसँगको वार्तामा पनि उनीहरुलाई बोलाएको छैन । प्रचण्ड-नेपाल समूहबाट प्रचार गरिएजस्तो प्रधानमन्त्री ओलीले नेकपा संसदीय दल फुटाएर 'नेकपा एमाले' गठन गरिएमा त ओली पक्षसँग नगएर नेकपामै बस्लान् तर प्रचण्ड-माधवले पार्टी फुटाउने परिस्थितिमा बनेमा र नेकपामा ओली रहेमा पनि उनीहरू नेकपामै रहने निकटस्थको मूल्या‌कन छ । आफूसँग करिब दुई दर्जनभन्दा बढी सा‌ंसद् रहेकाे याे समूहको दाबी छ । 

स्थायी कमिटीका सदस्यद्वय पूर्वगृहमन्त्री भीमबहादुर रावल र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि यसबीच आफैँ नेताको हैसियत बनाइसकेका छन्। दुई महिनाअघि माधव नेपालको निवास, कोटेश्वरमा ओली समूहसँग भएको वार्तामा नेपाल समूहबाट वार्तामा सहभागी थिए- यी दुवै नेता । आफूलाई सो समूहको नेतामा मात्र सीमित राख्न उनीहरु तयार छैनन्।

प्रधानमन्त्रीले मन्त्री बनाउन आँखा लगाएका नेता हुन्- सुरेन्द्र पाण्डे। उनी चाँडै नै अर्थमन्त्री बनाइए भने आश्चर्य नहुने प्रधानमन्त्रीनिकटकै नेताहरु बताउँछन्। बैशाख तेस्रो साता प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गर्न जनार्दन शर्मासँगै सक्रिय रहेको भन्ने प्रधानमन्त्री ओलीको बुझाइ पाण्डेको सिंहदरबार यात्रामा बाधक बनेको स्रोतको दाबी छ। अहिले उनी प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डसँग समदूरीको सम्बन्धमा रहेका छन्।

नेतृ अष्टलक्ष्मी शाक्य पनि प्रधानमन्त्री ओलीको कटु आलोचक हुन् तर उनी पनि नेपालको ‘क्लोज सर्कल’ भित्र छैनन्। विगतमा नेपाल समूहमा रहेका प्रभावशाली नेताहरु शाक्य, रावल, पाण्डे वा भुसालजस्ता नेताहरुले बेग्लै नेताको छवि बनाइसकेका छन्। त्यसैले यी नेताहरु नेपाल समूहको सीमाभित्र बाँधिन तयार छैनन्। त्यसैले उनीहरुको सीधै अध्यक्षद्वयसँग सम्बन्ध बढेको छ फलस्वरुप पनि नेपाल समूहलाई असर परेको छ। 

अध्यक्ष नस्वीकार्दा थप कमजोर

नेपालले दुई महिनाअघि ‘तृतीय अध्यक्ष’ को प्रस्ताव अस्वीकार गर्दा अहिले किनारामा परेका हुन्। अध्यक्ष नबनेका कारण उनकाे भूमिका खुम्चिएको छ। प्रचण्डले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेको बेला गत बैशाख दोस्रो साता उनलाई ओलीले ‘तृतीय अध्यक्ष’ बन्न प्रस्ताव गरेका थिए तर कार्यकारी अध्यक्ष प्रचण्डले ओली हटाएर ‘पहिलो अध्यक्ष’ नै बनाउने आश्वासन दिएका कारण उनीले ओलीको प्रस्ताव अस्वीकार गरेको ओली पक्षका कतिपय नेताहरुको आरोप छ।

वास्तवमा प्रधानमन्त्री ओली पनि नेपाललाई ‘अध्यक्ष’ पद दिन चाहँदैनथे– ओली। ओलीले महाधिवेशनपछि नेतृत्व लिने गरी आफ्नो समूहमा नेपाललाई समाहित गर्न चाहेका थिए तर नेपालले ‘उधारो सहमति’ भन्दै अस्वीकार गरे। सचिवालयमै अल्पमतमा परेका ओलीलाई संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतले बल्लतल्ल मनाएका थिए। यसो गर्दा नेपालकाे हैसियत पनि बढ्ने, भोलिको नेतृत्व सुनिश्चित गर्ने र अहिलेको असन्तुष्टि हल गर्ने हिसाबले ‘तृतीय अध्यक्ष’ प्रस्ताव गरिएको ओलीलाई मनाउन भूमिका खेल्ने एक नेताले बताए ।

ओलीको अध्यक्ष बन्ने प्रस्तावपछि नेपाल एक दिन मौन रहे। अर्को दिन नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले सो प्रस्तावको विरोध गरिन्। त्यसपछि नेपालले पनि सो प्रस्तावको विरोध गरे। ‘प्रधानमन्त्रीले मान्नुभएको थिएन, उहाँलाई बल्ल–बल्ल परिस्थिति बताउँदै मनाइएको थियो’, ओलीनिकट ती नेता भन्छन्, ‘तर माधव कमरेडले नै यो अस्वीकार गर्नुभो।’ यसपछि नेपालप्रति सद्भाव राख्ने ओली समूहका नेताहरुको पनि मन दुखेको छ।

त्यसपछि नेपाल ओलीका झन् विरोधी देखिए तर चिनियाँ राजदूत होउ याङ्छीकाे एकचरण भेटलगत्तै  ओली र प्रचण्डले बैशाख २० को सचिवालय बैठकमा आत्मालोचना गरे। यो वरिष्ठ नेता नेपालका लागि 'सर्प्राइज' थियो । उनले सचिवालय बैठकमै पनि भनेका थिए, ‘दुई अध्यक्षबीच चोचोमोचो मिलाएर मात्र हुँदैन।’ त्यसपछि उनले ‘चोचोमोचो’ को विरोध गर्दै आए।

ओली र प्रचण्डभन्दा बेग्लै आचरणका नेता हुन्– नेपाल। कसैले आफूमाथि औँला नउठाओस् भन्ने उनको चाहना हुन्छ, जुन दुई अध्यक्षलाई वास्ता छैन। 

नेपालले एक वर्षदेखि नेपालले पार्टीभित्र ‘ह्युमिलेट’ गरेको महसुस गरेका छन्। उनी रिसाउने गर्छन्। दुई अध्यक्षले ‘चोचोमोचो’ मिलाएर मात्र नहुने बताउने नेपालको आशय हुन्थ्यो– दुई जना मात्र छलफल गरेर हुँदैन, आफूसँग पनि छलफल हुनुपर्छ। अर्थात्, निर्णयमा सहभागिताको खोजी थियो ।

मर्यादामा तेस्रो नै सही ! अध्यक्ष भएका भए उनलाई 'बाइपास' गरेर जान मिल्दैनथ्यो। बैठकमा समान आसन हुन्थ्यो। अधिवेशनपछि छाड्ने बताइसकेका ओलीले छाडिसकेपछि नेपाल नै हुन् भन्ने विश्वासका आधारमा नेता-कार्यकर्ताले हेर्ने दृष्टिकोण पनि अहिलेभन्दा राम्राे हुन्थ्याे । सविक एमालेको नेतृत्व स्वतः नेपालमा पुथ्यो। भावी राजनीतिमा नेपाल नै प्रतिस्पर्धी हुन् भन्ने जानी-बुझी प्रचण्डले नै नेपाललाई सो पदबाट अस्वीकार गर्न लगाएको ओली पक्षको अनुमान छ।

‘तेस्रो अध्यक्ष’ अस्वीकार गर्दा तत्कालीन राजनीतिमा नेपाललाई पछाडि पारेको छ। नेपाल घरमै बसिरहेका हुन्छन्। यत्रो संकट समाधानमा उनको भूमिका कमजोर देखिएको छ। पार्टी नेतृत्व ओली पक्ष र प्रचण्ड पक्ष गरी दुई ध्रुवीय हुँदै जाँदा नेपाल पक्षका नेता पनि कतै दुई गुटमा बाँडिने त होइनन् भन्ने खतरा बढेको छ।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!