हैदरावाद हाउसमा विपी किन झोक्किए नेहरूसँग?

हैदरावाद हाउसमा विपी किन झोक्किए नेहरूसँग?

 नेपाल–भारत सीमा विवाद–४ 

तिमीले केही राम्रो कुरा मेरो बारेमा गर्‍यौं। यो एउटा भाले अर्को भालाई मात्र भन्न सक्छ। म निकै आभारी छु तिमीसँग। तर, तिमीले मलाई क्षमा गर्नुपर्ने हुन्छ, यदि मैले तिमीलाई मेरो सानो भा भनेर सम्बोधन गरे भने। म तिमीलाई निकै स्नेह गर्छु र उत्तिकै इज्जत पनि। मलाई तिमीबाट धेरै आशा छ। तिम्रो र मेरो उमेरमा राम्रो अन्तर छ। तिमीसँग देश सेवा गर्ने र आफ्नो जनताको जीवनशैली माथि उकास्ने मनग्यै समय छ। तिमीसँग सूवर्ण अवसर छ र म पूर्ण विश्वस्त छु, तिमीले यो अवसरलाई पुरा सदुपयोग गर्नेछौं र यसले नेपाललाई मात्र होइन, हाम्रो देशले पनि लाभ उठाउन सक्नेछ।’

२७ जनवरी, १९६०।

नेपाली प्रधानमन्त्री विपी कोइरालाको विदाईमा राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूले दिएको मन्तब्य हो, यो।

पहिले अंग्रेजीबाट आफ्नो मन्तब्य पुरा गरिसकेपछि हिन्दी भाषामा नेहरूले दिएको यो मन्तब्यले राष्ट्रपति भवनको वातावरण नै भावुक बन्यो। सन् १९५२ मा मोहन शमशेर राणाको सरकार ढलेपछि तत्कालिन राजा त्रिभुवनलाई दवाव दिँदै विपीलाई प्रधानमन्त्री नबनाउन आफूले गरेको आग्रह भन्दा निकै विपरित थियो, नेहरूको त्यो मन्तब्य।

अझ, प्रधानमन्त्री नियुक्त भएपछि १७–३१ जनवरी १९६० मा विपीको पहिलो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच थुप्रै कुरामा मतभेद देखियो। यसमा पनि विशेषतः विपीको सम्भावित चीन भ्रमणलाई लिएर।

विपी प्रधानमन्त्री नियुक्त भएको १५ दिन नबित्दै भारतीय प्रधानमन्त्री नेहरूको नेपाल भ्रमणको प्रसंग हामीले ‘नेपाल–भारत सीमा विवाद–३’ मै चर्चा गरिसकेका छौं। चीनसँग सीमा विवाद चुलिएको बेला नेपाल भ्रमण गरेका नेहरू चीनविरूद्ध नेपाललाई पनि प्रयोग गर्न चाहन्थे। अझ, उनी चीनलाई घेर्न नेपालमा तत्कालिन सोभियत संघको प्रभावलाई विस्तार गर्न चाहन्थे। तर, यो कुरा विपीले ठाडैँ अस्वीकार गरे।

आफूसँगको विवादमा सैन्य सम्झौंता गर्न नेपाल आएका नेहरूको मनसाय पुरा नभएपछि हौसिएको चीनले विपीलाई प्रधानमन्त्री नियुक्त भएको तेस्रो महिना बेइजिङ भ्रमणको निम्तो दिएको थियो। (यसको चर्चा अरु अंकमा गरौंला)

भारतमै बसेर राजनीति गरेको तथा भारतीय मानसिकता बुझेको कारण उनी भारतप्रति विश्वस्त थिए। त्यसैले उनी तिब्बततर्फ बढ्दो चिनियाँ प्रभावका कारण नेपाललाई केही असर पर्छ कि भनेर चीनको धारणा बुझ्न पहिले उत्तरी छिमेकी कहाँ जान चाहन्थे। तर, नेहरूले यति ठूलो दबाव दिए। अन्ततः विपीले पहिलो भ्रमण भारतबाट सुरु गरे। भारतको तेह्रौ स्वतन्त्रता दिवसमा प्रमुख अतिथिको रूपमा निम्तो गरिएका विपी १७ जनवरीमा बिहारको पटनाबाट नेपाल–भारत सीमा विवाद रहेको भैसालोटनदेखि खातिमा, फुलवाग, आग्रा, पुना, बेङ्लोर र मैसुर हुँदै २४ जनवरीमा राजधानी दिल्ली उत्रिए।

दिल्लीमा उनको भब्य स्वागत भयो। नेहरूले विपीलाई खुसी पार्न कुनै कसर बाँकी राखेनन्। विपी आफू प्रधानमन्त्री नियुक्त भएको ७ महिनापछि भारतको भ्रमणमा निस्किएका थिए। यसबीच चीनविरूद्ध नेपाललाई उत्तेजित तुल्याउन भारतीय मिडिया, विशेष गरेर नेहरूले अनेकन प्रयास गरिरहेका थिए।

१३ जुन १९५९ मा नेहरू नेपालको भ्रमण सकेर भारत फर्किएपछि भारतीय मिडियामा दनादन समाचार आउन थाल्यो–चीनको विस्तारवादी नीतिका कारण नेपालको थुप्रै भू–भाग चीनले कब्जा गर्‍यो भनेर। 

यस विषयमा विपीले १ अक्टुवर १९५९ मा नेपाली संसदलाई जानकारी दिँदै भने, ‘नेपाल–तिब्बतको सीमा पहिले नै तय भइसकेको छ, केही ठाउँलाई छोडेर।’

चौतर्फी दबाव बढ्न थालेपछि विपीले ४ अक्टुवर १९५९ मा अर्को बक्तब्य दिनुपर्‍यो, ‘नेपालको विदेश नीति तटस्थ छ। शीतयुद्वमा अमेरिका–सोभियत संघ झैं चीन–भारत सम्बन्धमा पनि हाम्रो नीति तटस्थ छ।’

तिब्बतमा चिनियाँ सेनाको बढ्दो प्रभावलाई लिएर उनले पत्रकार सम्मेलनमा भने, ‘चिनियाँ सेनाले नेपाली सीमा नाघ्दैन भन्ने हाम्रो विश्वास हो। त्यसैले थप सुनिश्चितता आवश्यक छ जस्तो मलाई लाग्दैन।’

नेपाललाई थप उत्तेजित तुल्याउन २७ जुन सन् १९५९ मा नेहरूले भारतीय लोकसभामा एउटा बक्तब्य दिए, ‘नेपाल र भुटानमाथिको हमलालाई भारतले आफूमाथि भएको हमलाको रूपमा लिनेछ।’

नेहरूको यो वक्तब्यले नेपालमा ‘आगोमा घ्यू’ थप्ने काम गर्‍यो। एक त प्रतिपक्षी दरबारको इसारामा विपीले भारतसँग ‘सैन्य सम्झौंता’ गरिसकेको छ भनेर ‘प्रोपगाण्डा’ मच्चाउन सक्रिय थिए। त्यसमा नेहरूको वक्तब्यबाजीले विपीलाई होच्याउन राम्रै मलजलको काम गर्‍यो।

विपीले नेहरूको यो भनाईप्रति ठट्टा गर्दै ‘एक्सप्रेसन अफ फ्रेण्डसीप’ को संज्ञा दिए। र, नेहरूको भनाईको ब्याख्या गर्दै यदि चीनले नेपालविरूद्ध आक्रमण गरेको खण्डमा र नेपालले सहयोग माग गरेको खण्डमा भारतले जस्तो सुकै सहयोग गर्न तयार छ भन्ने परिप्रेक्षमा बुझ्न आग्रह गरे।

तर, दबाब बढ्दै गएपछि उनले २९ नोभेम्बर १९५९ मा पत्रकार सम्मेलनको आयोजना गरेर नेहरूलाई स्पष्ट पार्न खोजे, ‘सार्वभौम र स्वतन्त्र राष्ट्र भएको नाताले हामी आफ्नो आन्तरिक र बाह्रय नीति आफ्नै विवेक र क्षमताको आधारमा गर्न सक्षम छौं।’

भारतीय मिडियामा त्यति बेला चिनियाँ गतिविधि रोक्न नेपालमा सैन्य उपस्थिति बढाउनुपर्ने जस्ता समाचार प्रकाशित हुन्थे। नेपाली अखबारले भने ‘भारतीय सेना नेपालका लागि ढाल बन्ने’ भनाईको कडा शब्दमा भत्सर्ना गर्थ्यो। 

यही तानातानीका बीच विपीको भारत भ्रमण भएको थियो। सबैभन्दा रोचक दृश्य विपी र नेहरूबीच हैदारावाद हाउसमा देखियो। राजनीतिक रूपले निकै संवेदनशील यो भेटमा नेहरूसँग कुरा गर्दा विपीको अनुहार एक्कासी रातो भयो।

त्यतिबेला विपीसँगै भारत भ्रमणमा रहेका उनका सहायक स्वर्गीय कुमारमणि दीक्षितले सन् २०१० मा (मलाई) दिएको अन्तर्वार्तामा भनेका थिए,नेहरूसँग गफ गर्दागर्दै विपीको अनुहार रातोहुँदै गएको देखियो। म अचम्म परेँ। सधैं उज्यालो अनुहार लगाउने र हाँसिरहने विपीको अनुहार त्यस्तरी किन बद्लियो?’

उनको अन्तर्वार्ता नागरिक पत्रिकामा प्रकाशित भएको थियो। उनले त्यसमा भनेका छन्, ‘नेहरू बाहिरिएपछि मैले विपीलाई सोधे– तपाईको अनुहार एक्कासी रातो किन भयो? उत्तरमा उहाँले भन्नुभयो– हेर न, चीन नजाऊ भन्छ।’

नेहरूले त्यो वार्तामा विपीलाई चीन नजान दबाव दिएका थिए। तर, विपीले मानेनन्। उनले झोँक्किएर तत्कालै नेहरूलाई जवाफ फर्काएछन्, ‘यस्तो कुरामा हस्तक्षेप नगर।’

त्यो घटनाका प्रत्यक्षदर्शी कुमारमणिलाई विदाईका क्रममा नेहरूले विपीको विषयमा दिएको मन्तब्य वास्तवमै अचम्म लाग्ने थियो।

राजनीतिक हिसाबले नेपालका लागि विपीको त्यो भ्रमण धेरै कुरामा लाभदायक रह्यो। सन् १९५० मा नेपाल–भारतबीच भएको ‘उद्योग तथा व्यापार’ सम्झौंताको मिति समाप्त भइसकेको अवस्थामा नेपाललाई धेरै फाइदा पुग्ने हिसाबले पुनःसम्झौता भयो। नेपालले तेस्रो मुलुकबाट गर्ने व्यापारमा भारत सहमत भयो। भारत सरकारले नेपालको विकासका लागि थप १४ करोड रुपैयाँ दिने निर्णय गर्‍यो।

विपीको भारत भ्रमणमा पनि नेहरूले चीनविरूद्ध नेपाललाई सोभियत संघको प्रभाव क्षेत्रमा राख्न धेरै कसरत गरे। उनले २ घण्टा १० मिनेट प्रधानमन्त्री विपी कोइराला तथा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग गोप्य वार्ता नै गरेका थिए। तर, नेहरूको विचारसँग विपी सहमत भएनन्।

उनले भारत भ्रमणका क्रममा नेहरूको व्यक्तित्व तथा नेपालमा प्रजातन्त्र स्थापना गर्न खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंसा गरे। तर, भारतको सुरक्षा छाताभित्र बस्ने दबावलाई पूर्णरूपमा खारेज गरे।

नेपाल फर्किनुअघि ३१ जनवरी १९६० मा चण्डीगढमा भारतीय पत्रकारहरूलाई दिएको अन्तर्वार्तामा विपीले भने, ‘नेपाल र भारतबीच संयुक्त सैन्य गतिविधिको कुनै आवश्यकता छैन। निकै नजिक रहेका दुई छिमेकी राष्ट्र नेपाल र भारतबीच सैन्य गठबन्धनको कुरा बेकार मात्र होइन, झन् नराम्रो छ।’

उनले भारतीय मिडियालाई यो भनेर चुप लगाएका थिए, ‘सबैभन्दा पहिले त मलाई लाग्दैन, भारत र चीनबीच कुनै युद्धको सम्भावना छ।’

(सोभियत संघका नेता निकिता ख्रुस्चेभको प्रस्ताव कसरी विपीले अस्विकार गरेः यसको चर्चा अर्को अंकमा)  

प्रकाशित मिति: Jul 09, 2020 10:24:11

प्रतिक्रिया दिनुहोस

सबै