जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

अनलाइनखबर

काठमाडौँ

विनोद घिमिरे

 लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ ।

सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो ।

यसरी पास गराउन खोजियो

अधिकृत शाहीले (अब्जेक्टिभ) वस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए । उनकी छोरीले त्यसै गरिन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याए ।

नतिजा प्रकाशन हुँदा उनकी छोरीको वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिल्यो । अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम एक नम्बरमा थियो । उनको प्राप्ताङ्क अस्वाभाविक लागेर सचिव आनन्दराज ढकालले पुनः छानबिन गर्न निर्देशन दिए । छानबिन गर्दा बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेको हो । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरेको छ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले अनलाइनखबरसँग भने, ‘हाम्रो सिस्टम नै यस्तो छ कि हरेक गतिविधि कहीँ न कहीँ ट्र्याक भइहाल्छ ।’

स्रोतका अनुसार अधिकृत शाहीले उत्तीर्ण परीक्षार्थीहरुको सूचीमा आफ्नी छोरीको नाम एक नम्बरमा राखेर अन्तिम नतिजा प्रकाशनको निर्णयको प्रस्ताव सचिव ढकालसमक्ष लगेका थिए । तर, ढकालले त्यसमा हस्ताक्षर गर्न मानेनन् । अधिकृत शाहीले भने तत्कालै  निर्णय गरेर नतिजा सार्वजनिक गर्न जोडबल गरे । तर नतिजा रोकेर कानुन महाशाखाका प्रमुख धर्मराज कुइँकेलको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । छानविन समितिले, अधिकृत शाहीले अनियमितता गरेको निष्कर्ष निकाल्यो ।

 

प्रकाशित मिति: : 2020-07-13 08:52:41

प्रतिकृया दिनुहोस्