पाँच सय तालिबानी जेलमुक्त

 अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। 

ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन्।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिए।

ईदका अवसरमा दिनुभएको मन्तव्यमा राष्ट्रपति घानीले भने, ‘सदभाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन हामी बाँकी ५०० तालिबानी लडाकूलाई ईदका अवसरमा रिहा गर्दैछौं।’

अफगान सरकारले यसअघि नै चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ। तर ४०० जना निकै खतरनाक ठानिएका लडाकूहरुलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ। तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताएको छ। 

राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताउएका छन्। अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताए।

राष्ट्रपतिको उक्त भनाईप्रति तालिबानले कुनै टिप्पणी गरेको छैन । 

फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो।

गएको बिहीबार तालिबानले आफ्नो कब्जामा रहेका सबै एक हजार सरकारी फौजलाई रिहाई गरिसकेको बताएका छन्। युद्धबन्दीहरुको आदानप्रदान नै शान्ति वार्ताका लागि पूर्वशर्तका रुपमा रहेको थियो।

घानी र तालिबानले यसै साता ईद लगत्तै वार्ता शुरु गर्ने संकेत दिएका छन्।
 

प्रकाशित मिति: : 2020-07-31 16:58:41

प्रतिकृया दिनुहोस्