सांसद प्रदीप यादवको कोरोना पोजेटिभ

जनता समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवलाई कोरोना पुष्टि भएको छ। शुक्रबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद यादवले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन्।

पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य यादवले आफ्नो स्वास्थ्यमा थप कुनै समस्या नभएको समेत जानकारी गराएका छन्।

‘आफूलाई आइसुलेट गरेर अहिले आराममा छु। आ-आफ्नो घरभित्र आत्मअनुसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु’, उनले भनेका छन्, ‘कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु।’

यसैबिच सांसद यादवले आजै मात्र आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकोसमेत जानकारी गराएका छन्।

‘आदरणीय दाजुभाइ दिदिबहिनी! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्यूलाई मैले पत्र प्रेषित गर्दै, वीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले वीरगन्ज क्षेत्रमा ५ सय शैंय्याको अस्पताल, विज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु’, उनले भनेका छन्, ‘उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ।  माननीय स्वास्थ्य मन्त्रीज्युसँग पनि सम्वाद गरेको छु।’

यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि  भएको थियो। 

योसँगै शुक्रबार पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सांसद यादवसहित उनका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन्।

संक्रमित ६२ जना वीरगंजकै हुन्। एक रौतहटका छन्। संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका छन्। वीरगंज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढीमा संक्रमित भेटिएका हुन्।

प्रकाशित मिति: : 2020-07-31 23:51:42

प्रतिकृया दिनुहोस्