बेलायतको भेदभाव पेन्सन पाकेपछि मात्रै चाल पाएँ-फकल्याण्ड वार भेट्रान धनपाल राई (भिडियो)

७ औं गोरखा राईफल, आर्मी नं २११६४२४१, कर्पोरल धनपाल राई ।

भोजपुरको टिम्बा गाउँस्थित सिन्द्राङमा २०१६ सालमा जन्मिएको राई २०३६ सालमा बेलायती गोर्खा सैनिकमा भर्ती भए।

साथीभाइको लहलहैमा २० वर्षे अल्लारे उमेरमा मान्द्रेमा गल्ला देखाउन झरेको उनी ख्याल ख्यालमै भर्ती भए। पल्टनमा साढे १३ वर्ष नोकरी गरेर अवकाश जीवन विताइरहेका राई झापाको दमकमा गेसो अभियानसँगै ब्यापार ब्यवसाय र समाज सेवामा सक्रिय छन्।

बेलायतले पूर्वगोर्खा सैनिक र परिवारलाई सन् २००८ मा आवासीय भिसा दिएसँगै अधिकांश उनका नम्बरी बेलायत लागे। उनी भने नेपालमै रमाएर बसेका छन्। ‘युवा उमेरको जोस जाँगर र खुन पसिना बेलायतलाई सुम्पिईयो, अब बाँकी जिन्दगी आफ्नै देशमा बाँच्ने हो,' उनले भने।

पल्टनमा हुँदा हक्की, निडर र प्रष्ट बोल्ने राईको ६० वर्षे उमेरमा पनि जोस जाँगर घटेको छैन। ‘पल्टनमा गोरा साहेवले त भेदभाव गरे गरे, हाम्रै धर्के सावले पनि विभेद गरे,’ उनले विगत सम्झिए।

आफू हरेक कुरामा फिट हुँदा पनि नातावाद, कृपावाद र चाकरीले गर्दा पटक पटक पदोन्नती हुनबाट बञ्चित भएको उनको तितो यथार्थ छ।

चित्त नबुझेको कुरा तुरून्तै राख्ने स्वभावले उनी पटक पटक अनुसाशनको कारवाहीमा परे। पल्टनमा गोरा र गोर्खाबिच खानपिन, लवाईखवाई, तालिम, छुट्टि, तलब, भत्ता र पदोन्नतिमा निकै ठूलो असमानता थियो। तर यी सबै कुरामा गोर्खेमाथि चरम भेदभाव भएको उनले पेन्सन आएपछि मात्रै चाल पाए।

फकल्याण्ड युद्व फर्केर सम्झदा

फल्कल्याण्डमा तैनाथ गोर्खाली। तस्बिरः सिएनएन


२०३६ सालमा भर्ति भएर हङकङमा ९ महिना तालिम, वर्मालाईन हुँदै १९८१ सालमा युकेको फिजिकल ईन्स्ट्रक्टर तालिम गर्ने मौका पाए। लगत्तै उनी वटालियनसहित फक्ल्याण्ड युद्वका लागि मैदानमा तैनाथ भए।

२८ दिन २८ रातको सामुन्द्रिक यात्रामा रानी एलिजावेथ द्वितिय पानीजहाज मार्फत फक्ल्याण्डको टापुमा पुगे। त्यसयुद्वमा गोरा र गोर्खा सेनासहित करीव ५००० जनाको ट्रुप डिप्लोई भएको थियो। पृथ्वीमा पानीको मात्रा जमिनभन्दा धेरै सुनेका र पढेका उनले करीव १  महिनासम्म जमिनको कुनै नाम निसाना देखेनन्।

जहाज यात्राकै क्रममा भीषण लडाई चलिरह्यो, जहाज खसालेको, दुश्मनले घेरेको समाचारहरू सुनिरहन्थे। ‘जमिनमा भए त दुश्मनसँगै लडिन्थ्यो र ज्यान पनि जोगिन्थ्यो होलातर समुन्द्रको बिचमा कसरी बाँच्ने होला ?’ भन्ने चिन्ताले सताइरह्यो ।

साउथ जोर्ज पोर्टबाट उनीहरूलाई सानो जहाज गेलाहार्टले ४ दिन ४ रातमा सेन्ट कलस पुर्‍यायो । दार्विन चिनोक हेलीले अलि परसम्म लग्दा रात परिसकेको थियो। अत्यन्तै चिसो मौसम, झमझम पानी परेको, तापक्रम माइनस ४० डिग्री थियो ।

महिनौं दिनको सामुन्द्रिक यात्राले जिउ थाकेर लखतरान थियो। ३-४ खाप लत्ता कपडा, गोली गठ्ठा, हतियारसहित करीव ८० किलो समान बोकेर बुज ग्रिनसम्म हिँडेरै पुगे।

बसेपछि उठ्नै नसक्ने गरि थाकेको ज्यान, मान्छेको लाशमाथि टेक्दै हिँडेका दिनको याद उनलाई अहिले झलझली आउँछ । उनको कम्पनी ब्याक सपोर्टमा तैनाथ भयो, १४०० जति युद्धबन्दि अर्जेन्टियनको सुरक्षा र दूश्मनलाई हमला गर्ने काममा उनी खटिए ।

त्यतिवेला उनीहरूको फौज गुज ग्रिन डाँडामा डिप्लोय गरेको थियो । पोर्ट स्टेन्लीमा गेलाहार्ट जहाजद्वारा सप्लाईको लागि कम्पनि खटाउने भयो। सुरूमा बी कम्पनी पठाउने कुरा थियो, फेरि स्कट गार्ड, गोर्खा पल्टन, वेल्स पल्टन गार्ड कुन पठाउने अलमल गर्दा गर्दै गोरा कम्पनीको वेल्स गार्डलाई खटाउने भयो।

२ घण्टामै सर गेलहार्टलाई अर्जेन्टेनी सैनिकको बमले ध्वस्त बनाएको समाचार आयो। अन्य कम्पनी पोर्टस्टेन्ली तिर अगाडि बढ्दै थियो ।२४ घण्टासम्म निरन्तर ब्रिटिश फोर्सले हमला गरिरह्यो।

गोरखा पल्टन पुग्नु अगाडिनै ब्रिटिसले ठूला ठूला पम्फ्लेटमा विज्ञापन र समाचार छरेर हल्ला फिँजाएको रहेछ-‘विश्वको खतरनाक गोर्खा फौज आउँदैछन्। उनीहरूले खुकुरी निकालेपछि रगत नखाई हुँदैन, ५ वटा गोलीभन्दा कमले गोर्खा मर्दैन, जसले उसलाई हान्यो त्यसलाई छोड्दैन, ६० पाउण्ड पर्ने खुकुरी 'लेजेण्ड अफ खुकुरी'  भनेर विविसीलगायत अन्य पत्रपत्रिका र पर्चा छरेका रहेछ। वेलायतले मारग्रेट थ्याचरको दाह्रासहितको तस्विर, गोर्खा फौज र खुनसहितको खुकुरी जता ततै छरेर प्रचार गरेका रहेछ।

अर्जेन्टियन जनरल गाल्टियरी पनि के कम, उसले पनि आफ्नो शैन्य वलको खुलेर प्रचार गरेका थिए।

मौसम अत्यन्तै चिसो थियो, झमझम झरि परेको थियो तापक्रम माइनस ४० जति थियो। वृटिशको २ वटा हेलि खसालेको स्थानमा दुश्मन खोज्न लेफ्टेनन्ट वसन्त कुमार र सार्जन्ट याम बहादुर राईको नेतृत्वमा एसेल्ट एण्ड एटेकको लागि ट्रुप अघि बढ्यो।

हावा वेस्सरी चलेको थियो, अत्यन्त चिसो मौसम, गोली चलेको कानमै बज्थ्यो। गोर्खा फौजसहित ब्रिटिस ट्रुपले हमला गर्दै गयो, अर्जेन्टियन सैनिकहरू एक पछि अर्कोले आत्मसमर्पण गर्न थाले। हप्ता दिनसम्म पनिचिसोका कारण अर्जेन्टियनको हतियार (राईफल) पड्केन। सायद त्यहीँ भएर छिट्टै हात उठाएको जस्तो लाग्यो, नत्र लडाई अझै लम्बिन्थ्यो।

दुश्मनले रासन सप्लाईको जहाज ध्वस्त पारिदिएपछि उनीहरू अर्जेन्टियन सिपाहीले छोडेको बचेखुचेको रासन, प्याक मिल्क, चिया र विस्कुट खाएर बाचेका थिए।

‘मान्छेको सवैभन्दा ठूलो रोग भनेकै भोक रहेछ। ७-८ दिनसम्म भोक भोकै लडियो। कसैले गोजिमा हात हाल्यो कि, सबैको आँखा उतै जाने । लुकेर बिस्कुट, मिठाई खानुपर्थ्यो,  नभए खोसेर खाइदिने,' हाँस्दै उनले युद्व सम्झिए।

त्यत्रो भीषण लडाईमा भगवानले गोर्खालीलाई बचाए । जम्मा ९ जना गोर्खाली मात्र घाईते भए। युद्वपछि खाल्डा पुर्ने क्रममा एक जना गोर्खा सिपाही ग्रिनेड पड्केर बिते। यदि सर गलहार्टमा गोरखा ट्रुप परेको भए थुप्रैको ज्यान जाने थियो। दुःखको कुरा वेल्सगार्डका ७० गोरा सिपाहीले विरगति प्राप्त गरे। 

गोर्खालीको बलमा बृटिसले फक्ल्याण्ड युद्व जित्यो। अर्जेन्टियन जनरलले हार स्वीकार्दै भने, ‘हामी बृटिश फौजसँग हारेको होइन, गोर्खालीसँग हारेका हौ।' दूश्मनले यस्तो भन्दा औधी खुशी लाग्यो। विदेशी भूमिमा गोर्खालीले इतिहास रचे, देशको नाम उच्च राखेकोमा गर्वले छाति फुल्यो।

‘हामीले बृटिस साम्रज्यको लागि इमान्दार भएर बहादुरी साथ डटेर भोक भोकै लड्यौं,' उनले दुःखित हुँदै भने,‘ त्यसको उपहार स्वरूप बेलायत सरकारबाट दर्द र भेदभाव मात्रै पायौ।’

ब्रिटिसले दिनको ५-७ पाउण्ड अलाउन्स दिने कुरा थियो, तर हाम्रो भागमा १ पाउण्ड पर्‍यो। खोई त्यो पनि दियो कि दिएन उनलाई त्यति सम्झना छैन।

नेपाली झण्डा फरफराउँदै युकेमा गोर्खाको भव्य स्वागत

बेलायतमा गोर्खाको स्वागत। तस्बिरः एजेन्सी


फक्ल्याण्ड युद्व जितेपछि बेलायतमा गोर्खालीलाई भब्य स्वागत गरियो। हेलिकप्टरले स्कर्टिङ गर्दै नेपालको झण्डा फहराउँदै, आकाश र सडकभरी बेलुन र फूलमालाले हजारौं बेलायती नागरिकले ‘वेलकम ब्याक जोनी गोरखा, वेलकम होम’ को ब्यानर र बाजागाँजा सहित स्वागत गरेको थियो। त्यो बेला उनको आँखाबाट आँसु झरेको थियो।

त्यसपछि युकेमा ठाउँ ठाउँमा दोस्रो विश्वयुद्वका बेलायति वार भेट्रानले पाहुनाको रूपमा घर घरमा खानपिनको लागि बोलाएको स्मरण गर्दा फकल्याण्ड वार भेट्रान राई भावुक भए।

गोर्खाले फक्ल्याण्ड युद्व जितेपछि अमेरिकाको वेस्ट वासिङटनमा, अमेरिकन आर्मीले एक महिनाको लागि जोईन्ट ट्रेनिङ र एक्सरसाईको निम्तो दियो।

विश्वको बहादुर गोर्खा सैनिक कस्ता रहेछन् भनेर उनीहरूले बोलाएका रहेछन्। विश्वका प्रमुख मिडियाहरु समाचार संकलनका लागि पुगेका थिए। हामी गोर्खेले वेदर प्रुफ, हरेक गतिविधि जस्तै हिँड्नु, डौडिन, सैनिक प्रतिश्पर्धामा अमेरिकी आर्मीलाई पछाडि पार्दा उनीहरू छक्क पर्थे।

‘हेल्लो गोर्खा, तिम्रो खुकुरी हेरौ त!’ अच्चमित मान्दै गोराहरू हेर्न जिज्ञासा राख्थे।   

पछि एक हप्ता छुट्टिमा उनी क्यानडाको भेनकुभर पुगे। त्यहाँ गोर्खाको मास ग्रेभमा ‘ब्रेभेस्ट अफ द ब्रेभेस्ट गोर्खा’ स्मारक देखेर भावुक भए । हाम्रा पुर्खाले पहिलो विश्वयुद्वमा क्यानाडाको प्रजातन्त्रका लागि लडेर विरगति प्राप्त गरेका रहेछन्।

त्यसको गुण तिर्न क्यानेडियन सरकारले ‘गोरखा क्यानेडियन वेलफेयर ट्रस्ट’ संस्थामार्फत नेपालका विभिन्न भागमा छरिएर बसेका गोर्खा सैनिकलाई परोपकारी कार्यमा सहयोग गर्दै आएका छन्।

दिसा बोक्न लगाउँदा प्रतिकार

सन् १९८३ सालमा डेमोन्सट्रेशनको लागि उनको कम्पनी सेन्डर्स्ट युकेमा गएको थियो। त्यसबेला २४ घण्टा खट्नु पर्‍यो । सैनिक परेड, सरसफाई, खाना पकाउनु, भाडा धुनु लगायतका हरेक काम गरे। यसमध्ये एउटा रमाइलो तर गहकिलो घटना उनको सम्झनामा ताजै छ।

गोरखालीहरू माटो खनेर दिशा गरेपछि पुर्ने गर्थे तर गोराले भने बकेटमा दिशा गर्ने गर्थे। त्यतिबेला एक जना गोरा लान्स कोरपलले, दिशाको बाल्टी बोकेर गाडीमा राख्न उनलाई निर्देशन दिए। हक्की स्वभावका उनलाई गोरोको कुरा चित्त बुझेन र जवाफ फर्काए,‘एक घण्टा पनि नसुति सबै काम गरेको छु, तर म तिम्रो दिसा बोक्ने काम चै गर्दिनँ।’ गोराले अह्राएपछि एकजना पश्चिमेलि गोर्खे कोरपरेलले, भाइ गर्नुपर्छ भन्दै थियो तर मैले उल्टै तपाईँ नै गर्नुहोस्, म गर्दिनँ भन्दिएँ। बरू नोकरी जाओस्, दिसा बोक्ने काम मरि गए गर्दिनँ भनेर उनीसहित ३-४ जना पूर्वेली गोर्खेले गोराको दिसा बोक्न मानेनन्।

यो कुरा स्टाफ सार्जन कहाँ रिपोर्ट भएछ। ‘व्हाट द हेल्ड गोर्खा, यु आर नट ओवेयिङ अर्डर्स?’ गोरा जंगिदै कराएछ । राईले उत्तर दिएछन्, ‘वि आर ओवेयिङ अर्डर्स सर, वि ह्याभ डन सो मच हार्ड वर्क, एक्सेप्ट कलेक्टिङ सिट्स,’लामो हाँसो गर्दै उनले विगत सुनाए। त्यसपछि गोराहरु खुब रिसाउँदै, सराप्दै  आफूले गरेको दिसाको बाल्टी उनीहरूले नै बोकेछन्।

यो कुराले पल्टनमा हंगामा भएछ। निर्देशन नमानेको हल्ला खल्ला भो, माथि साबकोमा रिपोर्ट भएछ। अफिसरले हुकुम मानेन छस्, बाकेट उठाएन छस् भन्दै थर्कायो, तन्काइ हाल्यो। ‘मैले सबै काम गरेको छु साब, दिसा बोक्ने कामबाहेक । यही दिसा बोक्न नमानेको कारण घर जान परे पनि जान्छु।’ पल्टनमा केही कुरा नमाने घर पठाइदिने धम्कि आउँछ ।

त्यसपछि कम्प्लेन कमाण्डर कहाँ सोही रिपोर्ट पुगेछ। धनपाल तिमीले हुकुम मानेनछौ नि? साबले प्रश्न राखे। 'हो मैले मानेन साब, म तिनीहरूको दिसा बोक्न आएको हैन’, प्रस्टसँग आफ्नो कुरा राखे,‘ जमिन्दारको छोरो हुँ, दिसा बोक्न आएको होइन र यही कारण घर जान परे जान तयार छु।’

साब पनि निःशब्द भए । सायद उसलाई पनि गोर्खालीलाई दिसा बोकाएको चित्त बुझेन होला। यो घटना पछि गोर्खालीलाई दिसा बोक्न नपर्ने नियम बन्यो ।

‘त्यो भन्दा अघि त कति बोकेँ कति,'  उनले हाँस्दै भने।

त्यो बेला उनलाई भेदभावको ज्ञान थिएन, जानेर/नजानेर चित्त नबुझेको कुरा मात्रै राख्दै आएका थिए। अहिले पो थाहा भयो यत्रो ठूलो भेदभाव पो रहेछ।

पल्टनमा नातावाद कृपावाद, गोर्खेले पनि भेदभाव गरे

उनले पल्टनमा पफरमेन्स निकै राम्रो गर्दै गए । धेरै सहपाठीलाई उछिन्दै ५ वर्ष भित्रै कोरपरल भए। गोर्खे अफिसरले आँखी लगाए , रिस गर्दै उनको पिछा लागे। त्यसपछि उनको पदोन्नतिमा भेदभाव भयो। बढुवामा भाइबन्धु भयो भनेर कमाण्डिङको सामन्ने टेबलमा कुरा राखे। उनको एसएलसी (सिनियर लिडर कोर्ष) राम्रो थियो, तर प्रमोशनमा जहिले ब्रेक लाग्ने।

पहिलो दिन ५२ जनामा दोस्रो नम्बरमा परेका उनी त्यसपछिका दिनमा पछाडि पर्दै गए। कारण बुझ्दै जादा उनले भोटिङ नै नपाउने रहेछन्। तल्लो दर्जाका साबहरू शुभ चिन्तक भए पनि माथिका आरिसे थिए। यस कि यस गर्ने, साबसाब भन्दै मोल्नेलाई मात्र उनीरूले मनपराउने भए। तर उनीअफिसरको सामन्ने पनि गल्ति कुरा नसहने नसक्ने स्वभावका थिए। माथि साबको आँखाको तारो बनेको थिए।

सार्‍है चित्त नबुझेर आरएसएम (रेजिमेन्टल सार्जन मेजर) कहाँ गएर माथि कमाण्डिङकोमा जान्छु भन्दा उल्टै गाली गरे । ‘हैट कहाँ हुन्छ सिधै सिओकोमा जानू भन्दै झर्किए।’ खाली सजायमा मात्रै जान पाउने, कुरा राख्न नपाउने? कम्पनि कमान्डर, बटालियन कमाण्डरहुँदै गोर्खा मेजरसम्म पुगेर आफ्नो कुरा राखे। सिधै कमाण्डिङ सा’बकोमा कुरा राख्न जान लाग्दा गोर्खा मेजर भुवन सिंह लिम्बुले रोके । बल्ल पछि जान दिए।

सबै सिआर (कन्फिडेन्सल रिपोर्ट) अगाडि टेबलमा राखेर, कर्णेल क्याफर्डलाई बेलिबिस्तार सुनाएँ। 'तिम्रो एसएलसी रिपोर्ट एक्सिलेन्ट छ, तर प्रमोशनमा तिमी पछाडि पर्‍यौ।' 

के कारणले पछाडि परेको जिज्ञासा राख्दा भोटिङ सिस्टमले प्रमोशनमा ब्रेक लागेको थाहा भयो।

उनको सिआर रिपोर्ट सबै उत्कृष्ट हुँदा पनि सधै पछाडि परेँ । ' मेरो परिवारमा पहिलो ब्यक्ति बेलायति सेनामा भएँ, त्यसैले मेरो आफन्त कोहि छैनन् ।' अनि भोट पाउने कुरै भएन उनले सुनाए । यदि भोटले नै प्रमोशन हुने भए यो सबै कोर्षको के मतलब? नातवाद, कृपावाद, जातिवादले हामी जस्ता धेरै सिपाही जहिल्यै पछाडि परेका छन ।

उनले कर्णेलसामू सिपाहीको हरेक क्रियाकलापको उचित मूल्यांकन हुनपर्ने तर अफसोच त्यो हुन सकेन र प्रमोशनबाट बञ्चित गरियो भनेर बताए । जुन ब्यक्ति हरेक कुरामा दक्ष छ, उसको प्रोमोशन किन भएन भनेर प्रश्न राखेँ। अन्तिममा कर्णेलले भने, ‘मिस्टर धनपाल, मैले सिधै प्रोमोशन गर्न सक्दिनँ, मलाई तलको अफिसरहरुको सहयोग चाहिन्छ, म पनि यहाँको सिस्टमले बाँधिएको छु।'

त्यसपछि आफ्नै माथिको कमाण्डरले भोट नदिएको कुरा बुझे। ओसी पर्‍यो अर्कै जिल्लाको, न नाता पर्‍यो न गाउँले। ' कहाँबाट पाओस त मैले भोट ? कि नाता पर्नुपर्‍यो, कि जोड्न पर्‍यो, कि मोल्न पर्‍यो,' उनले पल्टनमा गोर्खे अफिसरले भित्र भित्रै गरेको भेदभाव सुनाए ।

उनले २२ वटा कोर्ष गरे। आफ्नो मान्छेलाई कोर्ष पहिला नै दिलाउँछ, अरूलाई अन्तिममा। लेट प्रमोशनको लागिलास्ट कोर्ष एमई (मेथोड अफ इन्स्ट्रक्सन)को रिजल्ट नै ढिला गरिदियो। 'बेलायतले त भेदभाव त गर्‍यो, हाम्रै गोर्खा अफिसरले पनि विभेद गरे,' उनले दुःखी हुँदै विगत सुनाए।

त्रिपक्षीय सन्धिनै भेदभावको जड

१९४७ मा भारत स्वतन्त्र भएपछि ४ रेजिमेन्ट हङकङ लाने भयो। त्रिपक्षीय सन्धिमा गोर्खाहरू बेलायती सेनाका अभिन्न अंग भएको उल्लेख गरियो। त्यो भन्दा अगाडि भए भाडाको सिपाही (मर्सनेरी सोल्जर)को रुपमा भर्ति गरेको रहेछ। तर तलब भत्ता र पेन्सन भने इन्डियन पे कोड अनुसार दिईने उल्लेख गरेको रहेछ।

भारतमा सिपाहीले २२ वर्षसम्म नोकरी गर्न पाउँछ। बेलायतले १५ वर्षभन्दा अगाडि नै सेवा निवृत्त पठाउँछ। ७ वर्षको क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन? भारतीय सेनाले हरेक १ वर्षमा २ महिना तलबी विदा पाउँछ। बेलायतले ३ वर्षमा ६ महिना छुट्टी दिन्छ तर वेतलबीबिदा दिन्छ । यसको क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन? बेलायतको दाजोमा इन्डियाले गोर्खा सैनिकलाई कुनै भेदभाव गर्दैन। हरेक ५ वर्षमा तलब रिभ्यू गर्नुपर्ने, त्यो पनि गरेन। अब बेलायत र नेपाल बिच सिधा वार्ता गरी द्विपक्षीय सन्धि हुनुपर्छ।

‘समान काम समान ज्याला हाम्रो माग हो । १९४७ देखि आज सम्मको समान तलब, भत्ता र सुविधा दिनुपर्ने हो। एक रूपैया कमि भए पनि भेदभाव हो,’ उनले भने,‘यहिँ भेदभावको विरुद्ध हो हाम्रो लडाई।’

भारत एकीकरणमा गोर्खाको भूमिका 

गोर्खाली सेनाको सहयोगमा ब्रिटिस इस्ट ईन्डिया कम्पनीले १०० वर्षभन्दा धेरै समय लगाएर कैयौं प्रान्तीय राज्यको एकीकरण गर्‍यो।

यदि भारत एकीकरण नगरेको भए हालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटा सानो प्रान्तको मुख्यमन्त्री मात्र हुन्थे। तर आज उनी विशाल भारतको प्रधानमन्त्री बनेका छन्। भारतले गोर्खाको ऋण र गुण तिर्न सक्दैन । त्यो इतिहास भुलेर इन्डियाले नेपालको आँगन मिच्दा लाज लाग्नुपर्ने उनले बताए ।

उनले २ सय वर्षको इतिहास फर्केर हेर्न मोदीलाई आग्रह समेत दिए।

नेपालमा लिपुलेक र कालापानी मात्र होइन, टिस्टा र कंगडाको कुरा उठाउनुपर्ने उनको आक्रोश छ। ‘१०० वर्षभन्दा लामो समय हाम्रा पुर्खाले बगाएको खुन पसिनाको मूल्य माग्नुपर्छ’, उनले भने।

पहिलो र दोस्रो विश्व युद्वमा हाम्रा लाखौं पुर्खा विदेशिन बाध्य भए। यदि उनीहरू विदेश नगइ देशमै सेवा गरेको भए अहिले मुलुक कोरिया-जापानको दाँजोमा विकसित हुने निश्चित थियो। तर आज यही देशमा गोर्खाली दोस्रो दर्जा सरह बाच्न बाध्य गराइएको छ उनले दुखित हुदै बताए ।

सन् १९४७ को त्रिपक्षीय सन्धी (नेपाल, भारत र ब्रिटेन) बिच भएको हो । दोस्रो विश्व युद्वमा लजिस्टिक सप्लायरको लागि बर्मामा खटाएकोकरीब ४ हजार (एक ब्रिगेड) नेपाली त्यतै अलपत्र छोडियो। विडम्बना! ती नेपालीलाई बर्मा, भारत, बेलायत  या त  नेपाललेनै हेरेको छ।

उनीहरूको जिम्मा कसले लिने? आज तीनै नेपालीभाषीको न राष्ट्र छ, न धर्म, न जाति , नत पहिचान नै छ। उनीहरू सुकुम्बासी जस्ता बाचेका छन्। यो दर्दानक भेद्भावमाथि किन सरकार बोल्दैन?

बेलायतले यतिसम्म गोर्खालीमाथि भेदभाव गर्थ्यो कि, मलेसियामा गोरा र गोर्खासंगै  लडाइमा खटिएको थियो। एकै ठाउँ लड्ने बेलायतीले प्रतिब्यक्ति ४४२ डलर दिन्थ्यो तर गोर्खालीले १६ देखि ४२ डलर पाउँथे।

त्यस्तै ब्रुनाईमा खटेको एक बटालियन गोरखा सैनिकले पाउनुपर्ने वार्षिक २४ मिलियन पाउण्ड मध्ये ६ मिलियन मात्र गोर्खालीमाथि खर्च हुन्थ्यो। यस्ता अनेकौं विभेद बेलायतले गरेको उनले स्मरण गरे।

नेपालको कुनै राष्ट्रसँग दुश्मनी नभए पनि गोर्खाली विभिन्न देश विरूद्ध अग्रपंतिमा लडे । गोर्खाले २ सय वर्षदेखि चरम भेदभाव सहनुपरेको भन्दै यो विभेदबारे तत्कालिनदेखि वर्तमान बेलायती सरकार र नेपाल सरकारले केही नबोलेकोमा दुखेसो पोखे ।

‘बेलायत साम्राज्यमा घाम कहिले अस्ताउँदैन’ भनेर गर्व गर्ने बेलायतले त्यसको महत्वपुर्ण योगदान गर्ने गोर्खालीलाइ भुलेकोछ । बेलायतले गोर्खालीको खुन-पसिना शोषण गरेको रहेछ। सन् १९८० सालसम्म गोराले ४७५ पाउण्ड पाउँदा गोर्खालीले जम्मा २१ पाउण्ड पाउँथे ।
 

गोर्खा अभियानमा गेसोसँग आबद्धता र पूर्वाञ्चलमा षड्यन्त्र

सन् १९९३ (विस २०४९) पेन्सन पाकेपछि उनी नेपाल आए । २०५१ सालमा फाट्टफुट्ट गोर्खा अभियानबारे सुन्दै आएको थिए। यसअघि २०४७ सालमै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पश्चिम नेपालतिर स्थापना भएको रहेछ ।२०५१ सालदेखि पूर्वतिर फैलिदै गयो।

यतिबेलासम्म उनलाई विभेदको कुरा केही थाहा थिएन । गेसोले जब गोर्खाको हक हित र अन्यायबारे प्रचार गर्दै गयो तब उनलाई विगत २५० वर्षदेखि बेलायतले गर्दै आएको भेदभावबारे प्रष्ट भयो ।

२०५१ सालमा गेसोको संस्थापक अध्यक्ष पदम बहादुर गुरूङ र सदस्य कृष्ण कुमार राईलगाएतको पहलमा पूर्वमा संगठन विस्तार भयो। झापामा गेसो अभियानमा उनी पनि जोडिए। झापा गेसोलाई स्थापनाकाल देखिनै उनले नेतृत्व गरे। नेपालमै पहिलो पटक दमकको सार्वजनिक ठाउँमा आमसभासमेत गराए।

उनको अभियानलाई सिपाही खलक (सार्जनभन्दा तल) ले खुलेर सहयोग गरे। उनि घर दैलो पुगेर, गोर्खाको हक हित र आन्दोलनबारे प्रचार प्रसार र प्रशिक्षित गर्दै हिँडे। तर गोर्खा अफिसर टोलीले सहयोग नागेको र उल्टो किन विरोध गरेको भनेर खबरदारी गरे । कतिले दैलो थुन्थे भने कतिले बृटिससँग लड्ने भन्दै साथ नदिएको बताए।

२०५३ साल फागुन १९ गते पोखरा, धरान, मोरङ,  झापा सहित देशै भरिबाट भेला भएका भुपु गोर्खाले टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै वृहत आमसभा गर्‍यो।

झापाबाट २८ र मोरङबाट १६ वटा गाडीमा पूर्व गोर्खा र उनीहरूका परिवार आफ्नै व्यक्तिगत खर्चमा काठमाडौं पुगेको थियो। पोखरा,धरान,बुटवल लगाएत देशैभरिबाट काठमाण्डौमा जम्मा भए । ललितपुरको नखिपोटदेखि हजारौं भुपु गोर्खा सैनिक र तिनका परिवार पैदल हिडेर टुँडिखेलसम्म पुगेर आमसभामा सहभागी भएका थिए। यो कार्यक्रमपछि नेपालस्थित बेलायती दूतावास पनि डराएको थियो ।

यसपछि उनी निरन्तर अन्याय र अत्याचार विरूद्ध गोर्खाको हक हितमा लागिरहे। आफ्नै व्यक्तिगत खर्चमा उनले गाँउ गाँउमा चिठी पुर्‍याउने कम देखि जागरण कार्यक्रममासमेत खटिए।

२०६५ को अधिवेशनमा पूर्वका केही साथीहरू गेसोको चुनावमा उठ्ने भन्दै महासचिव र उपाध्यक्षमा दाबि गरेका थिए। उनको पनि सन् २००९ मा बेलायतको भिसा लागेकाले १४ वर्ष गेसोमा नेतृत्व गरेपछि अब अरूलाई हस्तान्तरण गर्ने सोचमा थिए।

अध्यक्षमा कोही नउठ्ने भनेपछि समितिले पहिलाकै नेतृत्वलाई यथावत हुने गरी माइन्यूट गरेका थिए। तर भित्र भित्र उनलाई हटाउने खेल सुरू भएछ। चुनाव भयो। नयाँ नेतृत्व चयन भयो। तर केही समयपछि विभिन्न आन्तरिक समस्या देखाउँदै उनलाई नै पुनर्वहाली गरिएको थियो।

गेसो आन्दोलनसँगै समाज सेवामा राई

हाल आएर गोर्खा आन्दोलनका नाममा विभिन्न संस्था खुलेका छन् । गोर्खा टेक्निकल टिमले नेपाल सरकार र बेलायत समक्ष सुझाव पेश गरेको २ वर्ष नाघिसक्यो। अहिलेसम्म बेलायतले यसबारे आलटाल गरेर बसेको छ।

हाम्रो अभियान कुनै जातीय र क्षेत्रीय नभएर समग्र नेपाली नागरिकको आवाज हो । नेपाल सरकारले तत्काल वार्ता टोली गठन गरेर आफ्ना नागरिकको हक हित र गोर्खाको न्याय र समानताको लडाइमा सहयोग गर्न उनले सरकारसमक्ष आग्रह गरेका छन्।

हाल उनि दमकमा गेसोको अभियान, व्यवसाय र समाजसेवामा सक्रिय छन्। किराँत धर्म र संस्कृतिको खोजीमा समेत लागिपरेका छन्।

‘हाम्रो १० हजार वर्ष पुरानो किरात धर्म लोप हुँदैछ,' उनले भने । यसको वंशावाली खोज्दै सम्पूर्ण किराँत धर्मावलम्वीलाई जागरण गर्दै उनको रिटायर लाइफ बित्दैछ । आफ्नो धर्म संस्कार र संस्कृति विर्सेर पश्चिमा तिर ढल्केकोमा चिन्तित हुँदै उनले भने ‘भावी सन्ततिसम्म रितिरिवाज र धर्म संस्कारलाई जीवन्त राख्न किताब पनि लेख्दैछु, छिट्टै प्रकाशनमा ल्याउने प्रयासमा छु।'

जवानीको साढे १३ वर्ष बेलायती सेनामा बिताएका उनले आफ्नो कुरा टुङ्ग्याउँदै भने,‘वृटिशले न घरको बनायो, न घाटको, अब बाकी जीवन आफ्नै जन्मभूमिमा समाज सेवा गरेर बिताउने हो।’

प्रकाशित मिति: Aug 07, 2020 14:59:54

प्रतिक्रिया दिनुहोस

सबै