अण्डकोषमा प्रहार गरी बेहोस बनाएँ, घाँटी थिचेर हत्या गरि टाउको छिनालेँ र त्यसपछि खुट्टा काटेँ’- अभियुक्तको बयान ‍‍(भिडियाे)

काठमाडौंको टोखा नगरपालिका १० गोंगबुमा कृष्णबहादुर बोहोराको हत्यामा संग्लन आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।

चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पछिल्लो ८ महिनादेखि होटलमा बस्दै आएका मृतक र कल्पनाबिच विगत तीन-चार वर्षदेखि फेसबुकबाट चिनजान भएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रहरी अनुसन्धानका क्रममा मृतक कृष्ण बहादुर बोहोरा कल्पनाको कोठामा बेला-बेलामा आइ भेट्ने गरेको खुलेको छ ।

मृतकले कल्पनाको फोटो राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको र आफू अनुकुल चल्नको लागि दबाब दिने गरेको समेत पाइएको एएसपी ज्ञवालीले जानकारी दिए।

महिलाले मृतकले सेक्सुअल ह्यारेसमेन्ट गरेकाले आवेशमा आएर आफूले हत्या गरेको प्रहरीमा बयान दिएकी छन् ।

प्रहरीमा अभियुक्तले दिएको बयान अनुसार शनिबार मात्रै बोहरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नंम्बरको स्कुटी प्रयोग गरी कल्पनाको कोठामा आएका थिए । सोही क्रममा कल्पनाले कृष्णबहादुरलाई दही, चिउरा, मासु र भोड्का खुवाएको खुलेको छ।

दहीमा कल्पनाले ५ वटा निन्द्राको औषधी मिसाएको पाइएको छ। खानेकुरा खाएपछि बोहोरालाई लठ्ठ परी सुतेको मौकामा फलामको मार्तोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ ।

त्यसपछि मृतकलाई कालो सलको प्रयोग गरी घाँटी थिचेको र मरेको यकीन गरेको पाइएको छ।

प्रहरीका अनुसार त्यसपछि कल्पना आफैंले धारिलो हतियार प्रयोग गरी शौचालयको ढोकालाई अचानो बनाएर टाउको र खुट्टा छिनाई झोलामा राखी आफैंले फालेकी थिइन्। शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्कीएकी थिइन्।

करीब साढे ९ बजे तिर कल्पनाले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार  शरीरलाई टुक्रा टुक्रा बनाएपछि कल्पनाले करीव ११ बजे खुट्टा र टाउको जेब्रा झोलामा हालेर घरदेखि ९ सय मिटर पर बाटोमा फालेर आइन्। 

त्यसपछि कल्पनाले बाँकी शरीर सुटकेशमा हाल्ने क्रममा छोरीले थाहा पाइन् र त्यसमा छोरीले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार कल्पनाले १ बजे बाँकी शरीर पनि बाटोमा फालेर घर फर्केकी थिइन्।

हत्यापछि सोही दिन बेलुका बिरामी लिएर काठमाडौं आएर चितवन फर्किन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरि सोही एम्बुलेन्सबाट चितवन गएको पाइएको छ।

अनुसन्धानको क्रममा कल्पना मुडभरी (पौडेल) घटनामा संलग्‍न भएको र उनकी छोरी शव व्यवस्थापनमा संलग्‍न रहेको खुलेको हो। हत्या आफू एक्लैले गरेको र शव व्यवस्थापनमा भने छोरीले सहयोग गरेको उनको भनाइ छ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्‍न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु,स्लिपिङ ट्यावलेटको खोल र मोबाइल सेटहरु बरामद गरेको जनाएको छ।

सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन ‘जो जो’ नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो एउटा तालिमप्राप्त कुकुर हो। उसैको सहयोगमा शवको टाउको र खुट्टा फेला परेको थियो।

प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो।

हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकी कल्पनालाई घटनास्थलमा ल्याएर घटनास्थलको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी महिला कलाकारसमेत रहेको रहस्य खुलेको छ । कल्पनाले केही टेलिशृंखलामा अभिनय गरेकी छन्।

आइतबार बिहान टोखा नगरपालिका १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको  सूचना प्रहरीसम्म पुगेको थियो । प्रहरी टोलीले उक्त सुटकेस खोली हेर्दा सुटकेसभित्र टाउको बिनाको मानिसको शव फेला पारेको थियो । सोही स्थानमा केही परि टाउको लगायत शरीरको अन्य भाग झोलामै फेला परेको थियो ।

प्रहरीले सोमबार मात्रै मृतकको सनाखत गरेको थियो। मृतक रोल्पा रून्तीगढी गाउँपालिका ७ घर भइ हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा भएको खुलेपछि प्रहरीलाई अनुसन्धानमा सहजता भएको थियो ।

प्रकाशित मिति: : 2020-08-11 11:30:35

प्रतिकृया दिनुहोस्