मछिन्द्रनाथको रथ जात्रामा जे देखियो (तस्बिर र भिडियोसहित)

जबर्जस्ती मच्छिन्द्रनाथको रथयात्राः प्रहरीद्वारा बलप्रयोग

शनि शाक्य

ललितपुर

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न बिहिबार जबर्जस्ती हजारौं युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी तितर वितर पारेको छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै जाँदा स्थानीय प्रशासनले थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ बजेतिर रथयात्रा गर्न आएका थिए।

‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छौँ’ भन्ने  नाराका साथ थुप्रै युवा सडकमा उत्रिएका देखिन्थे। ती युवा सडकमा उत्रिएर करीब २० पाइला रथयात्रासमेत गरे।

निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीय र प्रहरीबीच बिहीबार झडप भयो। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरे। आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्सायो।

यस्तै प्रहरीले चलाएको एउटा मोटरसाइकल पनि रथयात्रामा सहभागी भएका युवाहरुले तोडफोडसँगै आगो लगाइदिएका थिए। ललितपुरको पुल्चोकमा रथ यात्रा गर्ने भनेर सर्वसाधारण उपस्थित भएसँगै ठूलो मात्रामा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो। 

रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पार्‍यो। सडकको बीचमा ठूलो संख्यामा प्रहरी परिचालन भयो। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन्।

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट


ललितपुरको पुल्चोक नजिकै प्रदर्शनकारीबाट एक प्रहरी जवान कुटिएका छन्। प्रदर्शनकारीको कुटाइबाट घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरे  घाइते भएका छन्। उनको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, हातखुट्टा, ढाडमा चोट लागेको प्रहरीले बताएको छ। 

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा  प्रहरीले अवरोध गरेपछि आक्रोशित भीडले ट्राफिक प्रहरी जवानको मोटरसाइलकमाथि प्रहार गर्दै उनलाई लछारपछार पारेका थिए। 

स्थिति तनावपूर्ण बनेपछि जावलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई ‘डाइभर्ट’ गर्ने भनिएको थियो। मंगलबजारबाट आउने सवारीलाई रोक्न अघि बढेका ट्राफिक प्रहरी जवान घिमिरेलाई प्रदर्शनकारीले आक्रमण गरेकाे प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आक्रमणमा संलग्नलाई पहिचान गरेर कानूनी कारबाही गरिने बताए। ललितपुर प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिइ नसकिएको बताए।

रामेछापको चोप्राङमा दरबन्दी भएका प्रहरी जवान घिमिरे हाल महागनरीय ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत छन्।

महामारी नियन्त्रण नभएसम्म जात्रा गर्न नपाउने

यसैबिच महामारी नियन्त्रण नभएसम्म मच्छिन्द्रनाथको रथयात्रा तथा भोटोजात्रा दुवै गर्न अनुमति नदिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। ‘हामीले कुनै पनि मानवीय क्षति हुन नदिई सामान्य तरीका अपनाएर रथयात्रा गर्न आएका मानिसलाई हटायौं,’ भट्टले भने।

ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टले दाबी गरे।

‘उपत्यकाका तीनवटै प्रशासनले कोरोना महामारी विरुद्ध भदौ ३ गतेबाटै निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक बस्तु तथा सेवा र अनुमतिबाहेकका कुनै पनि कामकारबाही गर्न पाइँदैन । तर बिहीबार बिहानैबाट प्रशासनको आदेशविपरित उत्शृङखल समूह जम्मा भएर हाललाई स्थगन गरिएको रातो मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गर्ने तयारीमा जुटेका रहेछन् । यसमा स्थानीयको साथ र समर्थन थिएन । प्रहरीले थाहा पाउने बितिक्कै यसलाई रोक्यो । रोक्ने क्रममा झडपको स्थिति पनि आयो । प्रशासन यो घटनाप्रति संवेदनशील र सजग बनेको छ,’ भट्टले भने।

वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्नसक्ने भन्दै पुल्चोकबाट हटाएको पूजारी पूर्णराज शाक्यले बताए। रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरु सडकमा उत्रिएको हुन सक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए।

यसअघि पनि कोभिड–१९ का कारण पटक पटक  लोकेश्वरको रथयात्रा अन्योलमा परेको थियो।  आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण् भएको रथमा विराजमान गराइएको थियो ।  हरेक वर्ष करूणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याएर भोटो जात्रा गर्ने चलन छ।

यस वर्ष भने महामारीका कारण  मच्छिन्द्रनाथको भोटोजात्रा कहिले सम्पन्न हुन्छ भन्ने कसैलाई पनि जानकारी छैन । 

प्रकाशित मिति: : 2020-09-03 18:52:00

प्रतिकृया दिनुहोस्