श्रीनगर सांस्कृतिक डबली बन्दै

रासस

पाल्पा

तानसेन नगरपालिका–५ कैलाशनगरमा श्रीनगर सांस्कृतिक डबली बन्दै गरेको छ। 

पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए। 

'डबली निर्माण भएपछि पाल्पाका सांस्कृतिक विशेषताहरु झल्को दिने जात्रा, मेलामहोत्सव, नाचगानसमेत यहाँको डबलीबाट प्रदर्शन हुनेछ' उनले भने। 

डबली ५०० मानिस अट्ने क्षमताको हुनेछ। पाल्पा कला, संस्कृतिको धनी जिल्ला हो। पाल्पामा आधाभन्दा बढी मगर जाति बस्ती छ। तानसेनमा नेवार समुदायको बाक्लो बस्ती पनि छ। पाल्पामा अधिकांश जनजातिको बाहुल्यता रहेको र उनीहरुले कला, संस्कृति प्रदर्शन गरिरहेका हुन्छन्। अब पाल्पाका सबै संस्कृति यही डबलीबाट प्रदर्शन हुने स्थानीयवासीको दाबी छ। यस डबलीको सभाहलमा औपचारिक कार्यक्रम सञ्चालनले यस क्षेत्रमा थप चहलपहल ल्याउनेछ। तानसेनको पर्यटकीय क्षेत्र रानीमहल र श्रीनगर यही हुँदै जान सकिन्छ।

बन्दाबन्दीको अवस्थामा आयोजनाको काम धमाधम भइरहँदा सम्झौता अवधिमा नै काम सम्पन्न हुने रेन्जर पोखरेलले बताए। प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँका साइट इन्जिनीयर रोशन विष्टले ६५ प्रतिशत आयोजनाको काम पूरा भएको बताए। डबलीका लागि टिकट काउन्टरका लागि भवन, सभाहल, शौचालयलगायत काम भइरहेको इन्जिनीयर बिष्टले बताए। 

विसं २०७६ असार ८ गते सम्झौता भई असार १५ गतेदेखि आयोजनाको काम शुरुआत भएको थियो। डबली निर्माणका लागि प्रदेश नं ५ को रु सात करोड १६ लाख ९६ हजार ७८९ को लागत अनुमान बजेट रहेको छ। निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले रु ६ करोड ८२ लाख ५६ हजार ९१ बजेटमा काम शुरुआत भएको थियो। विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनी गरेको छ।

तानसेन नगरपालिकाको कैलाशनगरमा निर्माणाधीन डबलीले यस क्षेत्रमा नै चहलपहल ल्याउने भएपछि स्थानीय बासिन्दा उत्साहित देखिएका छन्। स्थानीय बासिन्दा राजेन्द्र लिगलका अनुसार डबली सञ्चालनमा आएपछि पाल्पाको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्नेछ। रोजगारीका अवसरहरु सिर्जना हुने र कला, संस्कृतिको प्रदर्शनीका कारण यस क्षेत्रमा नै पर्यटकको आगमनमा वृद्धि हुने लिगलको दाबी छ। 


 

प्रकाशित मिति: : 2020-09-15 15:06:28

प्रतिकृया दिनुहोस्