बेसारपानीको भर पर्दा मेरा दाजुको ज्यान गयो

प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले कोरोनाको लक्षण देखिए बेसारपानी र गुर्जो खाएर घरमै बस्न सुझाव दिनुभएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको बेहोश हुनेजस्तो भएपछि मात्र अस्पतालमा जान निर्देशन दिनुभएको थियो। 

यिनै सुझाव र निर्देशनको इमान्दारीपूर्वक पालना गरी आफूलाई कोरोना लागेको शंका हुँदाहुँदै पिसीआर परीक्षणसमेत नगरी बेसारपानी खाएकै भरमा ज्वारो र रुघाखोकी निको पार्न खोज्दा मेरा दाजु मुकुन्द पाण्डेले अकालमा मृत्युवरण गर्नुपरेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमको ‘बेहोश हुने अवस्था भएपछि मात्र अस्पतालमा जान’ दिएको निर्देशन पालना गरी दाजु घरमै बस्नुभएको थियो। गत २६ असोजको मध्यराती साढे १२ बजे उहाँ घरमै अचेत हुनु भयो । 

त्यसपछि मात्र काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुर्‍याउने प्रयास घरपरिवार एवं छिमेकीले गरे । त्यति बेलासम्म ढिला भइसकेको रहेछ । प्रयास असफल भयो । काठमाडौंमा बसेर पनि दाजुले बिरामी भएपछि अस्पतालभित्र पस्नै पाउनुभएन । 

त्यसपछि हामीले अनुमान गर्‍यौँ- दाजुको मृत्युको कारण कोरोना नै हुनुपर्छ । सो अस्पतालका डाक्टरलाई पिसिआर परीक्षण गरिदिन निकै अनुरोध गर्‍यौं । 

तर, मृत्युपछि पिसिआर नगर्नू भन्ने सरकारको निर्णयअनुरुप अस्पतालले पिसीआर परीक्षण गर्न मानेन । कोरोना आशंकाबीच हामीले जतिसक्दो सुरक्षित किसिमले दाजुको अन्त्यष्टि गर्न पशुपति आर्यघाट लग्यौँ।

दाहसंस्कारका लागि पशुपतिको विद्युतीय शवदाह गृहमा लाने निर्णय गर्यौँ । हामीले निर्णय त गर्यौँ तर पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहमा दाह संस्कार गर्न कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट अनिवार्य गरेको रहेछ । 

हामीसँग कोरोनाकै कारण मृत्यु भएको प्रमाण थिएन । अनि शंकास्पद एवम् अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउनुपर्ने कोषको व्यवस्थाका कारण दाउराबाटै दाजुको शव जलाउन बाध्य भयौँ ।

करिब चार घण्टाको दाहसंकारपछि हामीले तत्काल स्वर्गीय दाइको घरमा बस्ने सबैजनाको पिसिआर परिक्षण गरायौँ- जतिसक्दो छिटो रिर्पोट आउने निजी ल्याब खोजेर । 

कोरोना भाइरसको विश्वव्यापी महामारीबीच अब के-कसरी दाइको काजकिरिया सम्पन्न गर्ने भन्ने अन्योल थियो। ल्याबमा स्वाब दिएको ९ घण्टापछि भाउजू र भतिजाहरु सबैको कोरोना पोजेटिभ भएको रिपोर्ट पायौं । 

सरकारको यस्तो गम्भीर कमजोरी थियो । सरकारी प्रक्रिया इमान्दारीपूर्वक पालना गर्ने हामीजस्ता  व्यक्ति कसरी पीडित भइरहेका छौँ भन्नेबारे पत्रकारिता पेसाको धर्म निभाएर हामीले भोगेको यथार्थ जानकारी मात्र गराउन खोजेको हुँ । 

अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने एकदमै जोखिमयुक्त क्षेत्र एवं हटस्पट बनिरहेको बारे जानकारी दिएको हुँ । 

सरकारले अब जतिसक्दो छिटो पशुपतिको आर्यघाटमा शवदाह कार्यलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्छ । नत्र पशुपति क्षेत्र कोरोनाको संक्रमण फैलाउने केन्द्र हुनेछ । मुलुकको अवस्था अझै भयावह हुने छ । 

अहिले म पनि कोरोनाको लडाइँ जितेर भर्खरै घर बाहिर निस्किएको छु । पिसिआर रिपोर्ट नेगेटिभ त आयो तर पनि अझै मेरो स्वास्थ्य पूर्ण ठीक भइसकेको छैन ।
त्यसमाथि झन दाइ गुमाउनुको पीडा पनि छ । भित्रैबाट औडाह भइरहेको छ ।

दाइको मृत्यु भएको पनि ९ दिन भएको छ । दाइको घरमा गएँ । मृत्युवरण गर्नुभन्दा केही दिन अघि उहाँले ल्याइदिएको सिन्के चाउमिन हातमा लिएर बसेको छ- ६ वर्षको नाबालक भतिजो । उसले भन्यो- ‘बाबा अस्पतालबाट आएपछि मात्र खान्छु है अंकल !’ म अवाक भएँ । अब म भतिजोलाई के जवाफ दिऊँ, प्रधानमन्त्रीज्यू ?

अनर्थ भो ! यो वर्ष मेरो जीवनमा अत्यन्तै ठूलो बज्रपात आइलाग्यो । गत माघ ३ गते मेरी आमाको निधन भएको थियो । आमाको मृत्यु भएपछि म र परिवारका सबै जना सदस्य काठमाडौको तारकेश्वर नगरपालिका– ५, लोलाङमा ६ वर्षअघि बनाएको घरमा ताल्चा लगाएर जन्मथलो नुवाकोटको बेल्कोटगढी नगरपालिका– ५ तिगाउँ पुगेर आमाको काजकिरियामा सहभागी भएका थियौं । 

आमाको काजकिरिया सुरु भएको सातौँ दिनको राती साढे ८ बजे एक्कासी मेरो काठमाडौको घर जिम्मा लगाएको छिमेकीको मोबाइलबाट जीवनमै कहिल्यै नभोगिएको कुरा सुनियो । 

‘लौ न, बर्बाद भो’, मेरो घरनजिकैको छिमेकीले बहिनीले भनिन्, ‘ ए दाइ, तपाइँको घर त चोरले फुटाएर सबै सामान लगिसके छ , अब के गर्ने?’ 

‘आमाको मृत्युको चिन्ता एवम् आशोच बारेर बसेको बेला समेत मौका छोपेर घरभित्र चोर पस्यो भने अब केही गर्न सकिँदैन, बहिनी ! जे नहुनु थियो, भईहाल्यो चिन्ता नलिनू । मेरो घरमा अर्को नयाँ ताल्चा लगाएर छोडिदिनू’, भनेर मोबाइल राखिदिँए ।

चोरले मेरो घरबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल लगेको थियो । ल्यापटप, सुनका गहनाहरु, ६५ हजारभन्दा बढी नगद रुपैयाँ र केही डलरदेखि मैले लगाउन सिलाएर राखेको नयाँ सुट-पाइन्ट र अन्य कपडाहरु समेत चोरहरुले निखारेर लगेछ।

आफूले घरमा जोडेर राखेको सम्पूर्ण सामान नाङगेझार पारेको महिनाभन्दा पछिल्लो महिना गत फागुन, चैतदेखि विश्वव्यापी महामारी रुपमा सुरु भएको कोरोना भाइरसको संक्रमणबाट बच्ने अनेक प्रयास गर्दागर्दै पनि हाम्रो घरपरिवारमा सबैभन्दा पहिले मेरो घरमा कोरोना प्रवेश गर्‍यो । 

सुरुका तीनदिन म लगायत मेरो घरका सबैजनालाई १०३.५ डिग्रीसम्म ज्वारो आयो । ज्वरो नियन्त्रणकालागि सिटामोल खाएर बसेको बेला म साढे ४ घण्टासम्म बेहोस भएको थिएँ । 

मलाई कोरोना रोग लागेको बेला देखिने भनिएका सम्पूर्ण लक्षण देखिएको थियो । शंका लागेर पिसीआर जाँच गर्न अस्पताल जाँदा मलगायत परिवारका सबै जनालाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसपछि हामी होम आइसोलेसनमा डाक्टरले भनेबमोजिमको औषधि खाएर बसेका थियौं । 

१६ दिनको होम आइसोलेसनपछि बल्ल साँझपख मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । सोही दिन राती गत २६ असोजको साढे १२ बजे एक्कासी भाउजूको फोन आयो, ‘दाइलाई चाप्यो । लौ न अस्पताल लैजानुपर्‍यो ।‘ 

भाउजूको रोदनमिश्रित आवाज सुनेपछि तत्काल म घरबाट मोटरसाइकलमा निस्किएँ । त्यसपछि मोबाइलमा फोन गर्दा दाइलाई छिमेकीहरुले ट्याक्सीमा हालेर त्रिवि शिक्षण अस्पताल लगेको जानकारी पाएँ । म पनि अस्पताल पुगे । 

म पुग्दा दाइलाई लिएर गएको ट्याक्सी पनि पुगिसकेको थियो । तर, मेरो दाजुले अस्पतालभित्र पस्न पाउनुभएन । इर्मेरजेन्सीको ढोका नपुग्दै प्राण त्याग गरिसक्नुभएको रहेछ ।

अझै यो कोरोनाले हाम्रो घर परिवारका अन्य सदस्यहरुलाई छोडेको छैन । मेरो माइली बहिनी कविताको सम्पूर्ण घरपरिवार भ्याएर र कान्छी बहिनी सविताको घरमा पनि प्रवेश गरेको छ । अझै यसले हामीलाई के-कति दुःख र पीडा दिने हो, अहिले यसै भनिहाल्ने अवस्था छैन । 

अन्तिममा म यति भन्छु, ‘कस्तो दैब ?’ कोरोनालाई ख्याल-ख्याल नठान्नुहोला । समयमै सावधानी नअपनाए यसले ज्यान जान सक्छ ।

(लेखक राजधानी दैनिकका वरिष्ठ पत्रकार हुन् । )

प्रकाशित मिति: : 2020-10-22 21:48:00
# कोरोना

ट्रेन्डिङ