नेपाली फिल्मका प्राविधिकले किन वैकल्पिक बाटो नरोज्ने?

२०४६ को आन्दोलन, २०६२/६३ को आन्दोलन अथवा २०७२ को महाभूकम्पपछि नेपाली फिल्म कस्तो बन्नुपर्छ भन्ने बहस सतहमा आउन नसकेको बेला ढिलै भए पनि कोभिड-१९ अबधिमा यो कुरा बहसमा आउनु सकारात्मक पाटो हो। 

मलाई भने यतिबेला फिल्म प्राबिधिकहरु एक बोरा दालचामल र केही पैसाको लागि लाइन लाग्नु परेको समाचारले बढी उद्वेलित बनाइरहेको छ। चार पाँच महिना जति बेरोजगार हुने बित्तिकै हातमुख जोर्न गाह्रो पर्नुको अर्थ हामी यो पेशालाई अगाल्ने क्रममा कतै चुक्यौं कि? हामीमा के कस्ता कमी–कमजोरी रहे, जसले यो अबस्थामा ल्याई पुर्यायो? हरेक फिल्मकर्मी प्राबिधिकले गम्भीर भएर आत्मसमीक्षा गर्ने बेला आएको छ। म भने यसका सम्भाबित कारणहरु यो आलेखमार्फत खोतल्ने प्रयास गर्दैछु।

एक जना प्राबिधिकले एउटा काम सकिएको समयदेखि अर्को काम पाउने बेलासम्म घटिमा दुई तीन महिनादेखि कुनै बेला बर्ष दिनसम्म लाग्न सक्छ। कतिपय अबस्थामा फिल्मको शुटिङ सुरु हुने समय घोषणा गरेर उस्तै परे महिना दिनदेखि ४/५ महिना सरेका दृष्टान्त पनि कयौं छन्। 

यस्तो बेला सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका व्यवसायिक प्राबिधिकहरु अर्को काममा हम्मेसी जाँदैनन् वा व्यवसायिक मर्यादाले दिँदैन। सामान्यतया प्राबिधिकहरुलाई निर्माताले तीन या चार चरणमा पैसा भुक्तानी गर्ने चलन छ। 

तर थोरै मात्र त्यस्ता इमान्दार निर्माता छन्, जसले आफूले बोलेको र सम्झौता पत्रमा उल्लेख गरिएअनुसार व्यबहार गर्छन् । यहाँ समय मै पैसा नदिने मात्रै होइन, लाजै नमानी हाकाहाकी प्राबिधिकहरुको पैसा पचाइदिने बित्तीय अनुशासन पट्टक्कै नभएका निर्माताहरु पनि थुप्रै छन्। 

कतिपय अवस्थामा निर्माताबाट पैसा लिएर बीचैमा खाइदिने निर्माण नियन्त्रकहरु पनि छन्। आफू मातहत काम गर्ने क्यामेरा सहायक, लाइटका सहयोगीहरुको पारिश्रमिक सम्बन्धित छायांकारले नै पचाइदिने खबर यदाकदा आउनु पनि उदेकलाग्दो छ। त्यसो त प्राबिधिकलाई एउटा पैसामा सम्झौता गराउने, निर्मातालाई त्यही हिसाब बढाएर देखाउने अनि बीचको पैसा खाइदिने निर्देशकहरु पनि अस्तित्वमा होलान् र छन् भन्ने अपुष्ट हल्ला छ।

परिस्थिति अनुसार फिल्म क्षेत्र चलायमान बनाउन र निर्मातालाई राहत दिनका लागि प्राबिधिकहरुले सहयोग सदभाब गर्नु अन्यथा नहोला। तर यहि बहानामा केही धुर्त निर्माताका लागि पोस्ट कोभिडकाल प्राबिधिकहरुको पारिश्रमिक घटाउने अवसर मात्रै नबनोस्। 

यस्तो माहाेलमा काम गरेको पैसा समयमै पाउने नपाउने अन्योलको बीचमा आउने पैसाले यसअघि साथीभाई आफन्तसँगको ऋण सापटी र कोठा भाडा तिर्दैमा र बच्चाको स्कुल फि अनि सामान्य दैनिकी चलाउन मात्रै ठिक्क होला। कतिपयले पैसा हातमा पर्ने बित्तिकै अन्धाधुन्ध खर्च गर्ने गरेको पनि पाइयो। 

यसरी दैनिकी मात्र चलाउन पुग्ने पैसाबाट बचत गर्ने संभावना भएन। अनि बचत नै नभए पछि त्यो पैसालाई अन्यत्र कुनै सुरक्षित प्रतिफल प्राप्त हुने ठाउँमा लगानी गर्ने भन्ने प्रश्न नै आएन। 

अर्को महत्त्वपूर्ण कुरा चाहिने र हुनुपर्ने जतिको बित्तिय साक्षरता पनि हामीसँग नभएको अवस्था छ। यी र यस्तै कारणले गर्दा फिल्म लाइनका अधिकांश प्राबिधिक पलायन हुने अवस्था सिर्जना भएमा निकट भविस्य नेपाली फिल्म क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपर्ने अवश्यम्भावी छ। त्यसैले प्राबिधिकहरुलाई अन्यत्र पलायन हुनबाट रोक्नका निम्ति सम्बन्धित निकाय (नेपाल चलचित्र बिकास बोर्ड) ले आवश्यक नीति नियम तुरुन्तै ल्याउन जरुरी छ। जस्तै जागिरको जस्तो कुनै सञ्यकोशको ब्यबस्था गर्न सकिएला। 

प्रत्येक फिल्मबाट प्राप्त हुने रकमको निश्चित प्रतिशत कटाएर कुनै कोषमा सम्बन्धित निकायको तर्फबाट त्यतिनै रकम थप गरेर जम्मा गरिदिन सकिएला। अथवा अन्य भरपर्दो विकल्पको ब्यबस्था गर्न सकिएला। 

यस्तो नीति नियम लागू गर्न सम्बन्धित निकायमा दृढ़ इच्छाशक्ति भएको नेतृत्वको आवश्यकता पर्दछ। प्राबिधिकहरु स्वयं पनि चनाखो भई एउटै पेशामा भर नपरी अरु बैकल्पिक व्यवसायमा पनि हात हाल्नु सान्दर्भिक होला। जसले बर्तमानमा दैनिकी चलाउन सहज होस् अनि भबिस्यको लागि पनि आर्थिक जोहो गर्न सकियोस्।

यो आलेखमा मैले उठाउन खोजेको मुख्य प्रसङ्ग चाहिँ सिर्जनशील काममा समर्पित ब्यक्तिहरु अतिरिक्त आयस्रोत हुने काममा लाग्न हुन्छ या हुदैन? यसो हुँदा सिर्जनशीलतामा ह्रास आउने पो हो कि? अथबा यसको ठिक बिपरित आर्थिक रुपमा स्वतन्त्र हुन पाएमा अझैं बढी सिर्जनशील भइने पो हो कि? यसमा स्पष्ट दुई थरी अबधारणा देखिन्छ। 

पहिलो थरी अवधारणा अनुसार पटकथा लेखन, फिल्म निर्देशन, छांयाकन, सम्पादन जस्तो सिर्जनशील बिधामा लाग्नेले दैनिकी चलाउन अन्य पेशा व्यवसायमा संलग्न हुनुहुँदैन। यसले उक्त ब्यक्तिमा भएको सिर्जनशीलतालाई समाप्त गर्दछ। सिर्जनामा लगाउनु पर्ने अमुल्य समय र खियाउनु पर्ने दिमाग पैसा कमाउने ध्याउन्नमा लाग्यो भने सबै कुरो सकिन्छ। 

दोस्रो थरी अवधारणामा फिल्म निर्माण नै व्यवसायको एउटा स्वरुप भएको हुँदा समयको सहि व्यवस्थापन गरेर सम्बन्धित वा अरु पेशा व्यवसाय, लगानी गर्दा सिर्जनशीलतालाई खासै फरक पार्दैन। 

पहिलो अवधारणाले निर्माता/ निर्देशक दुबैको भुमिका निर्बाह गर्ने निर्देशक, आफ्नै क्यामेरा उपकरणको व्यवसाय पनि गर्ने छायांकार अनि आफ्नै सम्पादन उपकरण भएका सम्पादकको सिर्जनशीलतामा प्रश्न उठाउँछ। 

व्यवहारमा चाहिँ बिशुद्ध यहि कर्ममा लागिराखेका ब्यक्तिहरुबाट राम्रो नतिजा निस्किराखेको छ वा अन्य कर्मलाई पनि साथैअघि बढाइरहेका ब्यक्तिहरुबाट सहि काम भइराखेको छ, यो भने अध्ययनको अर्को पाटो हुन सक्द्छ।

पंक्तिकारको नीजि विचारमा तेस्रो तथा मध्यमार्गी मार्ग चाहिँ आफ्नो सिर्जनशीलताको लागि चाहिने अध्ययन, अनुसन्धान, बुद्धिशीलतामा रत्तिभर सम्झौता नगरि दैनिक जीवनयापन सहजीकरणको लागि फिल्म क्षेत्र सम्बन्धित या अन्य आय आर्जनको काम पनि गर्नु उचित कदम हुन सक्दछ। 

फिल्म क्षेत्र यस्तो कर्म हो, जहाँ चाहेको जस्तो प्रतिफल प्राप्त गर्न र सफलता हासिल गर्नका लागि निकै लामो बाटो तय गर्नुपर्ने हुनसक्छ। 

यसका लागि दृढ़ निश्यय, धैर्यता, लगनशीलता अनि त्याग–तपस्याका साथै दह्रो पारिवारीक समर्थनको आवश्यकता पर्दछ। तुलनात्मक रुपमा यस क्षेत्रमा आर्थिक रुपले सबल हुनेलाई लामो समयसम्म टिकिरहन सहज पनि हुन्छ। 

अन्तमा नयाँ जोश जागर र उत्साह उमंगका साथ प्रतिबद्ध भएर समाज राष्ट्र र समग्र मानवजातिको कल्याणको लागि केही गर्छु भन्ने लक्षका साथ अगाडी बढ्ने उद्देश्य लिएर आउनु हुने फिल्ममेकर भाई–बहिनीहरुले बिशेष गरि आफ्नो ‘करिअर’ लाई कसरी अघि बढाउने भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ।

(बज्राचार्य नेपाली फिल्मका छांयाकार हुन्)

प्रकाशित मिति: : 2020-10-27 10:23:00
# नेपाली फिल्म