म दरबारमा भएकै बेला २०४५ सालतिर दरबार मार्गको नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्र र उहाँका केही साथीहरु तथा उहाँका अंगरक्षकहरुले पेय पदार्थ लिँदै र खाना खाँदै गर्दा के कुरामा विवाद परेछ, कुटपिट चलेछ र ती अंगरक्षक घाइते भएछन्।
युवराजको सम्म मर्यादा राखेनछन्। सबैले रिस ती अंगरक्षकमाथि पोखेछन्। त्यो थाहा पाएर मैले राजा वीरेन्द्रमा जाहेर गरेँ, ‘सरकार ! त्यस्तो घटना हुनुमा जवानी, धन–सम्पत्ति, प्रभुत्व र त्यसबेला रिसको समयमा विवेक हराउनु– यी कारणहरुमध्ये एउटै मात्रले पनि खराव गर्छ। ती चारै कुरा भए ठूलो अनर्थ हुन्छ भनी नीतिकारले भनेका छन्। युवराज मस्त जवान होइबक्सन्छ, धन–पैसाको पनि कमी छैन, युवराजधिराज भएपछि प्रभुत्व पनि हुने नै भयो। रिस उठेको बेला विवके हराउँछ। यसरी चारै कुरा भएपछि ठूलो अनर्थ हुन सक्छ।’
राजाले अलि गम्भीर भएर भन्नुभयो, ‘यसमा उपाय के छ त ?’ ‘अंगरक्षकहरु पनि उस्तै उमेरका छन, युवराजलाई के गर्दा खुसी बनाउन सकिन्छ, त्यही गर्छन् त्यही गर्ने छन्। कुनै नहुने कुरा भएपछि यो गर्नु हुँदैन भन्ने कोही छैन। त्यसकारण ती युवक अंगरक्षकमाथि उमेर पुगेको कमान्डर राखिबक्सनुपर्यो। उसले ती अंगरक्षकहरुलाई नियन्त्रणमा राख्छ। युवराजाधिराजलाई केही अदब हुन्छ, सीमाभित्र राख्न चाँडै विवाह गरिबक्सनुपर्छ। मत्ता हाती मद चढेको बेला ढोई (पोथी हात्ती) सँग लागे मात्र शान्त हुन्छ, नत्र बहुलाउँछ। प्रकृतिको नियम नै हो, महिलाहरुले पुरुषलाई वशमा राख्छन्। नीतिशास्त्रले त्यही भन्छ’, मैले जाहेर गरेँ।
‘अंगरक्षकको कुरा चैत्रको अन्ततिर सम्झाऊ, त्यसबेला उपयुक्त समय हुन्छ’, राजाको जवाफ आयो। पछि मौकामा सम्झाएँ पनि तर केही भएन। पुनः जिज्ञासा राखेँ, ‘यसपटक भएन’ भन्ने जवाफ पाएँ। त्यसपछि ढुकुटी विभागले युवराजको विवाहका लागि चाहिने गहना बनाउन लगाएको भन्ने सुनेको थिएँ।
कहिलेकाहीँ काम परेको बेला त्रिभुवन सदनमा युवराजलाई भेट्ने अवसर मिलेको थियो। युवराज स्नातक भएपछि खाली समयमा एउटा काम विशेषले म त्यहाँ गएको थिएँ। युवराजलाई भर्खर दरबारमा कम्प्युटर आएकाले हरिहरले सिकाएका थिए। युवराज कम्प्प्युटरमा तासको खेल खेलेको मैले पाएँ। ‘बस’ भनेपछि बसेँ। एकछिनपछि सम्बन्धित काम जाहेर गरेँ। अनि विदा हुन लागेको थिएँ, फेरि ‘बस’ भनेपछि बसेँ।
के छ ?’ दीपेन्द्रबाट सोधनी भयो
‘सरकारको विवाह भोज कहिले खान पाइएला भनी कर्मचारीहरु भन्छन्। बाहिर जनता पनि अब त सरकारको चाँडै विहे भए हुन्थ्यो भन्छ्न’, मैले भनेँ।
‘पर्ख न पर्ख’, युवराजधिराजले हाँसेर भन्नुभयो। यसरी भेट्न पाएको समयमा यस्तै कुरा हुन्थे।
२०५२ सालमा दरबारमा अधिराजकुमारी श्रृतिको विवाह भोज खाँदै थियौँ। दीपेन्द्र हातमा प्लेट लिएर खाँदै म भएको ठाउँमा आएर भन्नुभयो, ‘रेवती, तिमीले मेरो विहे भोज खान नपाउने भयौ।’
मैले भनेँ, ‘म नोकरीबाट अवकाश भए पनि यस्तै निम्ता पाए हाजिर हुन्छु।’ युवराज अरु बोल्नुएन। घर फर्किंदा बाटोभरि विचार गरेँ, ‘किन त्यस्तो भन्नुभएको ?’ मैले भेटेपिच्छे जस्तो उहाँको विहेको कुरा गरेकाले होला भन्ने ठानेँ। पछि यस विषयमा चाख लिएर बुझेँ।
श्री ५ युवराजधिराजको विवाह गर्ने भनेर २०४९ सालमा जिज्यूमुमा रत्नको नाता पर्ने रथी प्रदीपविक्रमकी छोरी सुप्रिया शाहको कुरा चलेको थियो। उनलाई दरबारको चालचलन र व्यवहार सिकाउन जिज्यूमुमापट्टि नै राखिएको थियो। युवराज दीपेन्द्रलाई पनि मन परेको थियो रे। त्यसैले सुप्रिया शाहको पूर्ण कदको ठूलो तस्वीर त्रिभवन सदनको दीपेन्द्रको मास्टर बेडरुममा रहेको थियो।
मुमा बडामहारानी ऐश्वर्यबाट भने सासूको नाता पर्ने हुँदा ती विहे गर्ने भनेकी केटी हुँदैन भन्ने रहेछ। इन्टेरियर डेकोरेसन त्रिपुरेश्वरले बनाएको मास्टर बेड रुमको पलंगमाथि सजाएर राखेको सो फोटो मुमा ऐश्वर्य त्रिभुवन सदन आएको थाहा पाउनासाथ दीपेन्दले लुकाउने गरेको कुरा बैंठकेबाट थाहा पाएको थिएँ। सासु–बुहारीको विवादका कारण सुप्रियासँग विवाह नहुने भनी दरबारबाट फर्काइएछ।
त्यसैले दीपेन्द्रबाट मलाई विवाहको भोज खान पाउँदैनौ भनेको मैले बुझेँ। त्यसपछि पशुपतिशम्शेरकी छोरी देवयानीसँग विहेको कुरा चलेको थियो। त्यसैबेला नेपालका खेलाडीहरु अन्तर्रा्ष्ट्रिय खेलकुदमा भाग लिन विदेश गए।
खेलकुदका सरक्षक युवराज दीपेन्द्र पनि खेलाडी युवाका प्रियपात्र भएकाले सो खेल हेर्न विदेश जानुभयो। देवयानी पनि सो खेल हेर्न गएको बेला भेट भयो रे। युवराज दीपेन्द्र र देवयानी राणामा घनिष्ठता रहेको थियो। त्यसमा पनि बडामहारानीले विरोध गरेर विहा नहुने भएछ।
युवराजको विवाहको तयारीलाई पनि समय चाहिने हुँदा धेरै अगाडि थाहा पाइन्छ। त्यस्तो केही थिएन। अंगरक्षक कर्नेल सुन्दरप्रताप राना भन्छन्, दीपेन्द्रले भन्नुभयो, ‘हेर न सुन्दर, मेरो त विहे नै नहोला जस्तो भयो, बुबाहरु मानिबक्सेको छैन।’ त्यसपछि दरबार हत्याकाण्डले गर्दा उहाँको विहे हुनै पाएन। कारणबिना कार्य हुँदैन। त्यत्रो ठूलो घटना हुन ठूलै कारण हुनुपर्छ भन्ने धेरैको धारणा थियो।
(राजदरबारका पूर्वप्रमुख सचिव रेवतीरमण खनालको पुस्तक ‘अनुभूति र अभिव्यक्ति’बाट)
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया