चौरसिया हत्या प्रकरण: आरोपित उत्तम तिवारी पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा सलंग्न व्यक्ति पक्राउ छन्।

उक्त घटनामा संलग्न विन्दवासीनी गाउँपालिका ४ मधवल बस्ने निरन्जन तिवारीलाई वीरगञ्ज १६ इनर्वाबाट पक्राउ गरिएकाे हाे। 

यसअघि प्रहरी स्राेतले तिवारीलाई भारतकाे रक्साैलबाट पक्राउ गरेकाे भन्दै बिएल नेपाली सेवालाई सूचना दिएकाे थियाे। तर राति करिव साढे ११ बजे सामाजिक सञ्जालमा विज्ञप्ति निकाल्दै तिवारीलाई वीरगञ्जबाटै समातिएकाे दावी गरेकाे छ।

तर उनीसँगै कति जनालाई पक्राउ गरिएकाे हाे भन्ने अझै प्रहरीले खुलाएकाे छैन। 

‘फरार रहेका केही व्यक्ति पक्राउ परेका छन्। माथिबाट अनुमति नपाएकाे कारण यस विषयमा अहिले नै बाेल्न मिल्दैन। बाँकी कुरा आज सोमबार पत्रकार सम्मेलमार्फत जानकारी दिनेछाैं,’ पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बिएल नेपाली सेवासँग भने।

उनकाअनुसार उक्त घटनामा घाइते भई अस्पतालमा उपचारार्थ अवस्थमै रहेका तिवारी उपचाररत चौरसियाको मृत्युको खबर थाहा पाएलगत्तै नेसनल मेडिकल कलेजको आईसीयूबाट भागेरका थिए। 

उनीसँगै उनका भाइ चिन्टु तिवारी पनि फरार भएका छन्।

गत कार्तिक ६ गते जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका ५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा नेकपाको कमिटिद्वारा पार्टी प्रवेश गरेको व्यक्तिहरुलाई सपथ ग्रहण गराउने क्रममा कार्यक्रमस्थल बाहिर दुई पक्षबीच झडप हुँदा उनी घाइते भएका थिए।

बाँस र भाठाले एक अर्कालाई प्रहार गर्ने क्रममा घाइते भएका ३४ वर्षीय चौरसियाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो।

चौरसियाको हत्याको आरोपमा पर्सा प्रहरीमा क्षेत्र नं ३ का पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। 

पर्सा प्रहरीमा पूर्वसभासद गुप्तासँगै देवा सहनी, हनिफ मिया, अखिलेश चौरसिया, लक्षण चौरसिया, सन्जय चौहान, वकिल मिया, धीरज चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जनार्दन चौहानलगायत १२ जनाविरुद्ध जाहेरी दर्ता भएको हो।

उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य ज्यान मुद्दा दर्ता भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। 

पर्सा प्रहरीले जोहेरी दर्ता गर्न नमानेपछि मृतक नेकपा नेता मुकेशका भाइ महेश चौरसियाले सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ताको लागि दिएको निवेदनमा सुनुवाई गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न आदेश गरेको थियो।

स्रोतका अनुसार राजकुमार अझैसम्म फरार सूचीमै छन्।

घटनामा संलग्न भनिएकामध्ये देवा सहनी र हनिफ मियाँ गुप्ताकै श्रीपुरस्थित घरबाट पक्राउ परेका थिए। यता घटना भएकै दिन गुप्तासहित सात जनालाई प्रहरीले पक्राउ गरेपनि तीमध्ये दुई जनालाई हिरासतमा राखेर ६ जनालाई सोही दिन रिहा गरेको थियो। अहिदे घटनामा संलग्न ८ जना फरार रहेका छन्।

 

प्रकाशित मिति: : 2020-11-02 07:03:00

प्रतिकृया दिनुहोस्