अदालतबाट न्याय पाएको छु, सहानुभूति देखाउनुहुने सबैप्रति आभारी छु: चन्द्रदेव जोशी

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (संयुक्त) का अध्यक्ष वयोवृद्ध राजनीतिज्ञ चन्द्रदेव जोशीले विशेष अदालतबाट साधारण तारेखमा छाड्ने आदेश भएपछि खुशी व्यक्त गर्दै आफूले न्याय पाएको महसुस गरेको बताएका छन् । 

भ्रष्टाचारजस्तो संवेदनशील आरोप लाग्दासमेत आफूप्रति सहानुभूति देखाउने राजनीतिज्ञ, न्यायकर्मी, नागरिक समाजसहित सबैप्रति आभार व्यक्त गरे ।

अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएपछि बिएल नेपाली सेवासँगको संक्षिप्त कुराकानीमा भने, ‘अदालतले मलाई न्याय गरेको छ । 

सबैभन्दा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीजी, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, ललितबहादुर बस्नेत, अमर थापा, जयदेव जोशी सहित मेरो मुद्दामा निःशुल्क बहस गर्नुहुने सबै कानून व्यवसायी साथीहरुलाई कृतज्ञता व्यक्त गर्दछु । 

मप्रति सहानुभूति राख्ने सञ्चारकर्मी र न्याय दिने न्यायाधीशलाई धन्यवाद दिन्छु ।’ उनले अहिलेजस्तै अन्तिम फैसलासम्म पनि यसैगरी सहयोग, सहानुभूति र पाउने आशा व्यक्त गरे । 

जोशीको मुद्दामा निःशुल्क बहस गर्न कानून व्यवसायीका गुरु ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी स्वयम् अदालत पुगेका थिए । उनले जोशीलाई बिनाधरौटी छाड्न माग गर्दै धरौटी आवश्यक परेमा आफू धरौटी बस्न स्वयम् आएको बताएका थिए । 

वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य, ललितबहादुर बस्नेत, पूर्वमन्त्री जयदेव जोशीले पनि बहस गर्दै गर्दै साधारण तारेखमा छाड्न माग गरेका थिए । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबारै साधारण तारेखमा छुटेका छन्। उनी सोमबार अदालतमा हाजिर भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो। अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएका थिए ।

प्रकाशित मिति: : 2020-11-23 20:11:00

प्रतिकृया दिनुहोस्