किसान थपलियाको प्रश्न- ‘कृषकका लागि सरकार कहाँ छ र ?’

शिलापत्र

नुवाकोट

रमेश भारती

कृषि पेसामा पछिल्लो समय युवाहरुको आकर्षण बढ्न थालेको छ । परिवारका लागि रोजगारी र आर्थिक पक्षमा समेत सबल बन्नका लागि युवाजमात कृषि पेसामा केन्द्रित भइरहेका छन् । नुवाकोटस्थित शिवपुरी गाँउपालिका वडा नम्बर ९ खनियाचौरका सरोज थपलिया पनि नेपालमै कृषि पेसामा भविष्य देख्छन् ।

उनले नुवाकोटमा ‘फ्युचर नेपाल एग्रीकल्चर प्रालि’मार्फत तरकारी र फलफुल उत्पादन गरिरहेका छन् । नेपाललाई कृषि प्रधान देश भनेर युवा वर्गले चिनाउनुपर्ने र कृषिलाई युवाजमातले नै अर्थतन्त्रसँग जोड्नुपर्ने कृषक थपलिया बताउँछन् ।

विदेश अध्ययन गर्न जाने र वैदेशिक रोजगारीका कारण नेपालको ग्रामीण क्षेत्रमा कृषि पेसा ओझेलमा पर्न थालेको थपलियाले बताए । ‘फार्ममा गोलभेंडा, काँक्रो, तनेबोडी, काउली, बन्दासँगै फुलकोपी, धनियाँ, रायोको साग र मौसमअनुुसारको फलफुलसमेत उत्पादन हुन्छ । तरकारी खेतीका लागि समय धेरै खचिर्नुपर्छ । खेतीपाती भन्नु मात्र हो । स्याहारसुसारमा पुगेन भने उत्पादन नै हुँदैन्,’ उनले भने, ‘दु:ख गरेर तरकारी उत्पादन गर्‍यो । उचित मूल्य किसानले पाउँदैन् । किसानले उत्पादन गरेका कृषिका सामग्रीको मूल्य सरकारले नतोक्दा कृषक मारमा परिरहेका छन् ।’

फार्ममा सञ्चालनका लागि २५ लाख लगानी भएको छ । परिवारका सबै सदस्यले फार्ममा मै काम गर्नेगरेको उनको भनाइ छ । तरकारीसँगै फलफुल खेतीबाट आएको आयस्रोतले परिवारसँग अन्य केही व्यक्तिलाई रोजगारी समेत दिएको थपलियाले जानकारी दिए । फार्ममा उत्पादन भएको तरकारी र फलफुलबाट वार्षिक सबै खर्च कटाएर ९ लाखसम्म कमाइ हुन्छ ।

प्रकाशित मिति: : 2020-12-17 11:16:00

प्रतिकृया दिनुहोस्