४६ वर्षपछि भारत टेस्ट क्रिकेटमा अहिलेसम्मकै कम स्कोरमा खुम्चियाे

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले टेस्ट क्रिकेटको इतिहासमै सबैभन्दा छोटो योगफल तयार पारेको छ। ९६ वर्षअघि दक्षिण अफ्रिकाले इंग्ल्याण्डविरूद्ध एउटा इनिङमा सबैभन्दा कम ३० रन बनाएको थियो। 

यही अवस्थालाई दोहर्‍याएको भारतले अस्ट्रेलियाविरूद्ध एडिलेटको पहिलो टेस्टको दोस्रो इनिङमा ३६ रन मात्र बनायो। 

भारतको टेस्ट क्रिकेटमा यो अहिलेसम्मकै कम स्कोर हो। यसअघि १९७४ मा लर्डसमा भएको टेस्टमा इंग्ल्याण्डविरूद्ध भारतको एउटा इनिङ ४२ रनमा समाप्त भएको थियो। 

दोस्रो इनिङको खराब प्रदर्शनपछि भारत पहिलो डे–नाइट टेस्टमा ८ विकेटले पनि पराजित भएको छ। भारतले दोस्रो इनिङमा ९ विकेट गुमाएर ३६ रन बनाएको थियो। अन्तिम ब्याट्सम्यान मोहम्मद समी घाइते भएर रिटायर भएका थिए। 

भारतले पहिलो इनिङमा ५३ रनको अग्रता कायम गरेको थियो। तर, अन्तमा विफल भयो। दोस्रो इनिङमा सबैले निरास तुल्याए। अस्ट्रेलियाका तीब्र बलर जस हेजलउडले सबैभन्दा बढी ५ र पेट कमिन्सले ४ विकेट लिए। 

शनिबार दोस्रो इनिङको सुरुवात गरेको भारतले कप्तान विराट कोहलीलाई ४ रनमा गुमाएको थियो। कुनै व्याट्सम्यानले दोहोरो अंक चुम्न सकेनन्। 

भारतका तीन ब्याट्सम्यान चेतेश्वर पुजारा, अजिक्य रहाणे, रविचन्द्र अश्विन शून्यमा आउट भए। सबैभन्दा बढी मयंक अग्रवालले ९ रन बनाए। 

पृथ्वी शाँ ४, जसप्रीत बुमराह २, हनुमा बिहारी ८, रिद्धिमान साहा ४, उमेश यादव ४ रनमा आउट भए। समी १ रन बनाएर घाइते भए। 

भारतले पहिलो पल्ट विदेशी भूमिमा पिंक बलमा टेस्ट खेलेको थियो। यसअघि पिंक बलमा घरेलु टेस्टमा बंगलादेशलाई इनिङ र ४६ रनले हराएको थियो। 

अस्ट्रेलियाले हालसम्म ८ वटा डे–नाइट टेस्ट खेलेको छ। त्यसमा सबैमा जित हात पारेको छ। 

भारतले पहिलो इनिङमा २ सय ४४ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ९१ रन बनायो। दोस्रो इनिङमा भारतले ३६ रन मात्र बनाएपछि दुई विकेटको क्षतिमा ९३ रन बनाउँदै अस्ट्रेलिया विजयी भएको हो।

प्रकाशित मिति: : 2020-12-19 15:44:00

प्रतिकृया दिनुहोस्