धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण शुरु

म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ। 

अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण शुरु भएको हो।

दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ।”

यसअघि पहिचान भएको नारच्याङ हँुदै संसारमै पहिलोपटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज” पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण शुरु गरेको छ।

जलथले हुँदै चारदेखि पाँच दिन पैदलयात्रा गरेर धवलागिरि आधार शिविरमा पुग्न सकिने स्थानीयवासीले बताएका छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशविन्दु जलथलेबाट पदमार्ग निर्माण शुरु गरेको छ।

उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेबाट फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण शुरु भएको जानकारी दिए। उनका अनुसार उकालोमा १.५ मिटर फराकिलो सिँढी चिनेर एक हजार १३३ मिटर पदमार्ग बनाउन लागिएको छ। “२० सेन्टिमिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइ भएको सिँढी बनाउने डिजाइन छ”, अध्यक्ष सुवेदीले भने, “विभिन्न ठाउँमा पाँच चौतारी पनि बनाउने लक्ष्य छ ।” गाउँपालिकाले रु १० लाख विनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले रु एक लाख २३ हजार बराबरको श्रमदान गर्नुपर्नेछ।

फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन्। ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो। गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आवमा बजेट विनियोजन भए पनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताए।

धवलागिरि आधार शिविर पुगेपछि रघुगङ्गा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धवलागिरि आइसफल पदमार्ग छ। यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १०८ धारा निर्माण शुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले  आठ लाख विनियोजन गरेको छ।

जनै पूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताए। मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने विश्वास छ।

पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्शा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए।  ग्रामीण बस्ती, जनजीवन, वनजङ्गल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो। पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ।रासस

प्रकाशित मिति: : 2021-01-29 09:10:00

प्रतिकृया दिनुहोस्