धनराज सुनार
                                म स्कुल जाँदा आउँदा जुम्ला बजारको कृष्ण मन्दिर अगाडि विभिन्न विषयसँग आधारित सडक नाटक भइरहेका हुन्थे। मलाई सारै मन पर्थ्यो अनि म हेरिहाल्थे।
नाटक सकिएपछि घर आउँथे र आफू पनि नाटकको पात्र बन्ने कोशिश गर्थे। २०६७ सालमा चन्दननाथ स्कुलमा म कक्षा ६ मा अध्ययन गरिरहेको थिएँ। एक दिन मेरो टोलमा आई.एन.एफ जुम्लाको आर्थिक सहयोग गरिएको सुरक्षित स्तनपानसम्बन्धीको एउटा नाटक रियलसल भइरहेको रहेछ। संयोगबश म त्यहाँ प्रवेश गरे। मेरो दाजु रोशन सुनारलाई पनि एउटा पात्र दिइएको रहेछ।
म त्यस रियलसल हलको कुनाम बसेर हेरिरहेको थिए। मसँगै मेरै उमेर समूहका अरु साथी पनि थिए। नाटक रियलसलकै क्रममा हामीले उहाँहरुको अभिनय हेर्दै हाँस्दै हल्ला गर्यौँ। त्यो नाटकको निर्देशन गरिरहनुभएका ज्ञानबहादुर बिक रिसाएर हामीलाई हलबाट बाहिर निकालिदिनुभयो।
एक अर्को दिन हाम्रो टोलमा संयोगवश दुइटा शुभ कार्यको भोजसँगै भइरहेको थियो। सबै जना आ-आफ्नै काम व्यस्त थिए। त्यही समयमा एउटा अर्को नाटक पनि गर्नुपर्ने रहेछ। मलाई ज्ञान बहादुर दाइले सोध्नुभयो, 'ओई भाइ, तँ नाटक खेल्छस्?'
ढुंगा खोज्दा देउता मिले जस्तै भयो। मैले हतारैमा भने, 'हजुर दाई म खेल्छु।' लगत्तै रिहर्सल भयो। केही दिनपछि स्कुल–स्कुलमा गएर नाटक प्रस्तुत गरियो । त्यो मेरो जिन्दगीको पहिलो नाटक थियो।
एक दिनको कुरा हो म मेरो घरको बाटो अगाडि उभिरहेको थिए। एयरपोर्ट साइटबाट एक जना दाइ कालो १५० पल्सर बाइकमा आउनुभो। मेरो अगाडि रोकिनुभो र मलाई सोध्नुभो 'भाइ तिमी नाटक खेल्छौ रे हो?' 'हजुर दाइ म खेल्छु' भने। त्यसपछि उहाले मलाई नाटक खेल्ने अवसर दिने कुरा गर्नुभयाे। उहाँ हुनुहुन्थ्यो, आनन्द अधिकारी। उहाँलाई जुम्लाका थुप्रै नाटकहरुमा देख्थे।
भोलिपल्ट बिहान म उहाँको घरमा गए र नाटक खेल्ने कुराकानी भयो। बेलुकाबाट नाटक रियलसल सुरु भयाे। रियलसलमा म नडराई लाज नमानी उहाँको निर्देशन अनुसार नाटक गर्थे। पछिल्ला दिनहरुमा पनि हामीले जुम्लाका थुप्रै गाउँ ठाउँहरुमा नाटक देखायौं।
नाटक देखए बापत केही पैसा पनि पाउथे। यतिले मात्रै हुँदैन अब हामीले संस्थागत तरिकाले काम गर्नु पर्छ भनी कर्णाली कला तथा सांस्कृतिक मञ्च जन्मायौँ। जस्को नेतृत्व गरिरहनुभएको छ– जुम्लाका अग्रज कलाकार तोरण सिंह कठायतले।
मण्डलामा पहिलो पटक
मैले सुनेको थिए काठमाडौं अलि भिन्न छ रे! त्यहाँ सब चिज(कुरा)उपलब्ध हुन्छ रे ! काठमाडौंको एउटा छुट्टै संसार छ रे ! अरु थुप्रै रे रेहरु! जबसम्म म राजधानी छिरिन त्यही रे नै सुन्नुपर्थ्यो। करिब तीन वर्षभन्दा अगाडि सिर्जनशील समाज नेपाल काभ्रेको आयोजनामा 'अनलाइन सेफ्टी फर चिल्ड्रेन' कार्यक्रमको राष्ट्रिय समीक्षा सम्मेलनका लागि म काठमाडौं छिरेको थिए।
यो कार्यक्रम एक दिनको थियो र सकियो। हिउँदको महिना घुम्न र केही कामको लागि आनन्द दाइ काठमाडौंमै हुनुहुँदो रहेछ। फोनमा कुरा भोयो। भेट भयो। हामी केही दिनका लागि होटेलमा बस्यो। मैले थिएटर देखेको पनि थिएन।
'थिएटरमा काम गर्नुको मजानै छुट्टै हुन्छ' भन्ने गोविन्द सुनार दाइसँग पनि भेट हुँदा कुरा हुन्थ्यो। नेपाली फिल्म इन्ड्रस्टिजमा अहिलेको जति पनि राम्रा 'स्टार' हरु छन्, दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की जस्ता कलाकारहरु पनि थिएटरकै उत्पादन हुन् भन्ने सुनेको थिए।
एक दिन हाम्रो कुरा भयो, 'हामी पनि त्यही फिल्डको मान्छे, जाउन त थिएटर' भनेर। हामी तिनै जना अनामनगर नजिकैको एउटा सानो टिनको छनोले छाएको होटेलमा छिर्यौ। खाजा खायौँ। आनन्द दाइले गोविन्द दाइलाई सोध्नुभयो, 'के भइरहेको छ त भाइ तेरो कलाकारिता?'
अनि गोविन्द दाइले भन्नुभयो, 'दाइ म आज भोलि एउटा थिएटरमा काम गरिरहेको छु। मेटासिट नामक नाटकको रियलसल भइरहेको छ' भन्नुभयो। छलफल लामै भयो।
त्यहाँबाट आनन्द दाइ र म मण्डला थिएटरतिर तीन बजेको सो हेर्न भनेर लाग्यौं। गोविन्द दाइ पनि तीन बजेदेखि रियलसल छ भन्दै जानु भो। केही समय पछि मण्डला पुग्यौं र एक जनाको ३०० तिनसयको टिकट लियौँ र नटक हलमा प्रवेश गर्यौँ।
प्रदिप कुमार चौधरी द्वारा निर्देशित नाटक 'काला पर्थर' मन्चन भैरहेको थियो। उक्त नाटकमा सोलुखुम्बु बासीले सगरमाथा आरोहण गर्नेहरुको गाइड भएर जाँदा घर नफर्किनेहरुको कथा समेटिएको थियो। मैले नाटक हेरिरहँदा सोही कथामा कर्णालीलाई तुलना गरेर हेरे।
हाम्रो कर्णालीमा पनि कैयौं मानिसहरु पाटनमा यार्सागुम्बा टिप्नजादा हिउँ पहिरोमा परेर, चिसो भएर, लेक लागेर घर नफर्किएका घटना छन्। कर्णालीमा थुप्रै कारुणिक कथा, बेथाहरु छन् र सम्भावनाहरु पनि छन्।
हिरा बिजुलीसँगको यात्रा
म तेस्रो पटक काठमाडौं जानको लागि सुर्खेत पुगेको थिए। सुर्खेतमा एक जना श्याम वर्णको अलि अलि जुँगादाह्री पालेको कर्णालीको मुगुमा जन्मेर कर्णालीको कथा, ब्यथा र सम्भावनालाई थिएटरमार्फत् बेला–बेला सरकारको ढोका घच्घचाउने हिरा बिजुली नेपाली दाइसँग भेट भयो।
उहाँ अन्तर्राष्ट्रिय थिएटर महोत्सवको लागि काठमाडौं जाँदै हुनुहुँदो रहेछ । अनि हामीले सुर्खेत देखि नेपालगञ्जसम्मको टिकट लियौं र गाडीमा बस्यौ। गाडीको मन्द गतिमा हाम्रो परिचय तीब्र गतिमा भयो।
.jpg)
उहाँले 'गर्वछिटा नाटक लिएर कर्णालीको प्रतिनिधित्व गर्दैछौं अन्तरास्ट्रिय थिएटर महोत्सवमा(२०१९)। अरु कालाकारहरु नेपालगन्ज झरिसके म यताबाट जाँदै छु' भन्नुभयो।
मलाई भने, 'अब कर्णालीमै नाटक घरको सपना देखेको छु। हामी सबै एक भएर काम गर्नुपर्छ' भन्नुभयो। यसले मलाई उर्जा मिलेजस्तो भयो।हगाडीमा हुँदा कर्णालीको कलाकारितको बारेमा थुप्रै सम्वाद भयो। हामी नेपालगन्जको राँझामा झर्यौं। हिरा दाइले भन्नुभो, 'जाँउ न त हाम्रो साथीहरुसँग भेटघाट, चिन्जान गरौ' भन्नुभयो। हामी साथीहरु बसेको होटेलमा गयौँ र चिनजान गर्यौँ। जसमा दुई जना जुम्लाबाट हुनुहुन्थ्यो– गोविन्द सुनार र अर्जुन परियार। गोविन्द दाइले नाटकको मुख्य पात्रको भुमिका निर्भाह गर्नु भएको रहेछ। साथीहरु सँगको भलाकुसारी पछि म निस्किए। म आफ्नो कामको लागि काठमाडौं जाँदै थिए।
थिएटरको सपना
'पम्फा फुल' समाजको एक दुखान्त कथालाई लिएर तयार पारियको थिएटर नाटक थियो। यो नाटक मुगुका हिरा बिजुली नेपालीले लेख्नुभएको हो। यो नाटक पहिला काठमाडौंमा पनि मञ्चन गरिएको थियो। गोविन्द दाइले सोही नाटकलाई जुम्लामा पनि जुम्लाकै कलाकारबाट मञ्चन गरौँ भन्नुभयो। हामीले यो विषयमा गहन छलफल पर्यौँ।
यो नाटकलाई जुम्लामा स्कुले विद्यार्थी र गोविन्द सुनारको निर्देशनमा गर्ने निर्णय भो र निर्माण व्यवसायी संघको हलमा रियलसल सुरु भयो। यस नाटकको मुख्य पात्र पम्फा थिइन्। म पम्फाको भाइ भएर प्रस्तुत भएको थिए।
योभन्दा अगाडि मैले थिएटर नाटक मञ्चन गरेको थिएन। मलाई लाग्थ्यो थिएटर एक रंगमन्च हो। यो दुई शब्दले बनेको छ– रंग+मन्च । विभिन रंगहरुले सजाएर बनाइएको मञ्चलाई नै रंगमन्च भनिन्छ।
यसैगरी हामीले पनि निर्माण व्यावसायिक संघको हललाई रंग्यायौ। यो नाटकलाई जुम्लामा तीन सयदेखि चार सय जनाले हेर्नूभो। जो जतिले हेर्नुभो । उहाँहरु सबैबाट अपार माया पायौं।
त्यसपछि मैले पनि कर्णालीमा थिएटरको सम्भावना र सपना देख्न थाले। कर्णालीमा एउटा थिएटर हुन जरुरी छ किनकि कर्णालीमा यस्ता कथाहरु छन् जसले कर्णालीलाई थिएटरको माध्यमबाट विश्वसामु चिनाउन सकिन्छ।
कर्णालीमै कलाकारहरुले व्यावसायिक कलाकारित गर्न सक्छन्। मलाई लाग्छ यसले गर्दा कर्णालीको पर्यटन प्रवर्द्धनको लागि पनि निकै राम्रो भूमिका निर्वाह गर्छ।
त्यसपछि हामीले कर्णालीको नाटक लगेर लाखौं खर्चेर काठमाडौं गएर नाटक मञ्चन गर्नुपर्ने छैन। अहिले कर्णालीको कला, संस्कृति रहन सहन हराउँदै गएको छ। यदि थिएटर भएको खण्डमा यस्ता कर्णालीका कला संस्कृतलाई साप्ताहिक मासिक र वार्षिक रुपमा कल्चरल सोहरु संचालन गरी पर्यटन प्रवर्द्धनसँगै आर्थिक मुनाफा पनि गर्न सकिन्छ। यस्ता कुरालाई कर्णाली प्रदेश सरकारले गहन तरिकाले हेर्न जरुरी छ।

कर्णालीको रारामा मात्र वार्षिक हजारौं पर्यटकहरुको आगमन हुन्छ। उहाँहरु रारा घुमेर घर फर्कने बेलामा साथमा बाटोको दुख बाहेक केही पनि हुँदैन। त्यसैले थिएटर यस्ता पर्यटकको दु:ख भुलाउने चौतारी हुने छ र कर्णालीका थुप्रै सम्भावनालाई प्रस्तुत गर्ने माध्यम बन्नेछ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया