‘मण्डला’ का सर्जक वत्सगोपाल वैद्य (भिडियाेसहित)

कमल प्रभात

काठमाडौं

बिहानी पख, झुल्किदै गरेको घामले चिसोलाई लखेट्दै थियो, हामी वत्सगोपाल वैद्यको घर पुग्दा। ललितपुरको पाटनस्थित घरमा ८० वर्षीय वत्सगोपाल सेतो कागजमा केहि चित्र कोर्दै थिए। उनको अगाडि भएको ‘क्यानभास’ का चित्रहरूले अनेकन कथा बोलिरहेका थिए। बिहान ४ बजे उठेर योगा, ध्यान र पुजाआजा गरेर गम्भीर मुद्रामा चित्र कोर्ने उनको दैनिकी नै हो।

यो उनको करिब ५० वर्षदेखि चल्दै आएको नित्यकर्म हो।  

चित्रकार वत्सगोपाल वैद्यले आफ्नो पुरै जीवन चित्रकलामा समर्पण गरेका छन्। आजसम्म उनले सयौं चित्र कोरिसकेका छन्, जुन लाखौं कलाप्रेमीको मनमुटुमा बसेको छ। 

यिनै चित्रहरूले नेपालको नाम विश्वमा फैलाउन पनि सहयोग गरेको छ। चित्रकलाबाट वत्सगोपालको घरपरिवार मात्र चलेको छैन, अनगिन्ति सम्मान तथा पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्। यसले उनलाई कलाकर्ममा लाग्न थप प्रेरित गरेको छ। 

वत्सगोपालको जन्म १९९७ सालमा भएको हो। उनका बुवा वैद्यको काम गर्थे। त्यसैले बुवाको पहिलो प्राथमिकता थियो– छोराले ठूलो भएपछि आफ्नो काम सम्हालोस्। तर, वत्सगोपालको बुवाको पेशातर्फ कत्ति पनि ध्यान थिएन।

उनी स्कुल त जान्थे तर पढाईप्रति उनको त्यति ध्यान थिएन। प्रायः उनी स्कुल जान्छु भनेर साथीभाईसँग खेल्न निस्किन्थे। 

अहिले पनि स्कुले जीवन सोच्दा मख्ख पर्ने वत्सगोपाल भन्छन्, ‘पढ्न कमजोर थिए। पढ्नै मन लाग्दैन थियो। साथीहरूसँग खेलेर दिन बित्थ्यो।’

नियमित स्कुल नजाने, पढाईमा पनि त्यति रुचि लिएको नदेखेपछि बुवाले घरमै अम्मरकोष पढाउन थाले। सरस्वती र गणेशका श्लोक कण्ठ पार्न लगाए।  

‘हुने विरुवाको चिल्लो पात भने जस्तै’ उनी सानैदेखि चित्रकलामा पोख्त थिए। हुँदा कपीमा, नहुँदा भूइँमा चित्र कोर्थे। भन्छन्–‘होस्मा थिए कि बेहोसमा तर जतिबेला पनि चित्र कोरेर बस्थँे।’

चित्रकलाप्रति उनको रुचि देखेर बुवाले आमासँग ‘यसलाई चित्रकला पढाउन पठाईदे’ भनेका थिए रे।  

उनले सामान्य अंक ल्याएर एसएलसी पास गरे। एसएलसीपछि के पढ्ने दोधाँरमा परेको बेला कसले हो, व्यवस्थापन (कमर्श) विषय पढ्दा बंैकमा जागिर खान सजिलो हुन्छ भनेको सुनेपछि नेपाल कमर्श क्याम्पसमा भर्ना भए। 

क्याम्पसमा भर्ना भए पनि पढाईप्रति फिटिक्कै ध्यान थिएन, उनको। बरु क्याम्पसमा हुने अतिरिक्त क्रियाकलापमा भने सक्रिय भएर लाग्थे। क्याम्पसमा नाच्न, गाउन र नाटक खेल्न भनेपछि हुरुक्कै हुन्थे। यसै कारण उनले ६ महिनामै क्यापस छोडे।

२०२२ सालमा गोरखापत्रले भारतमा पेन्टिङ पढ्न चाहानेका लागि छात्रावृत्तिको फर्म खुलेको विज्ञापन छाप्यो। यो कुरा वत्सगोपालकी दिदीले एकदिन बिहान खाना खानेबेलामा सुनाइन्। त्यो सुनेर वत्सगोपालको मनमा पेन्टिङ पढ्न पाउँछु कि भन्ने आशा पलायो।

त्यतिबेला उनका बुवाको निधन भइसकेको थियो। घरमा खानलाउन दुःख नभए पनि कमाउने नहुँदा आर्थिक अभाव थियो। त्यसैले मनले चाहेको पढ्न पाउने पैसा थिएन। 

दिदीले भनेपछि उनले छात्रावृतिबारे छापिएको गोरखापत्र खोजेर पढे। दिदीले बताएको दिन नै फर्मभर्ने अन्तिम दिन रहेछ। आजै फर्म भर्न सकिन्छ कि भन्ने झिनो आशा बोकेर उनी शिक्षामन्त्रालय तर्फ लागे।

छात्रवृतिको फर्म भर्न शिक्षामन्त्रालय जानु पथ्र्यो। मन्त्रालय थियो,  सिंहदरबारमा। सिंहदरबारमा जो कसैलाई प्रवेश निषेध थियो। त्यसदिन उनले पनि सिंहदरबार छिर्न निकै सास्ती भोग्नुपर्यो। कर्मचारीको हुलमुलमा ओत लागेर लुक्दै भित्र छिरेका उनी त्यतिबेला दंग परे, जब उनले छात्रबृत्तिका लागि दस दिन म्याद थपिएको कुरा पत्तो पाए।  

केही दिनमा नेपालमै छनोटको परीक्षा भयो। दस जनामध्ये उनी र गोविन्दलाल डंगोलको नाम निस्कियो। 

वत्सगोपाल २०२३ सालमा ‘पेन्टिङ’ पढ्न भारतको (मुम्बई) बम्बई पुगे। भारतमा पढ्ने वातावरण धेरै राम्रो थियो। तर आर्थिक अभावले दुःख भोग्नु परेको उनको अनुभव छ। 

‘त्यतिबेला छात्रवृत्तिबापत महिनाको तीन सय भारतीय रुपैयाँ पाउँथे। त्यही पैसाले एक महिनासम्मको सबै खर्च व्यवस्थापन गर्नुपथ्र्याे,’ उनी सम्झन्छन्, ‘घरमा कमाउने कोही नभएकोले घरबाट पैसा पठाइदिने परिस्थिति थिएन।’ 

धेरै संघर्षपछि पाँच वर्षे ‘पेन्टिङ कोर्स’ सकियो। नतिजा उत्कृष्ट आयो। धेरैले उनलाई भारतमा बसेर काम गर्न भनेका थिए। तर उनी आफ्नै देशमा बसेर योजनासहित काम गर्न चाहन्थे। त्यसैले नेपाल फर्किए। उनलाई नेपाली स्वादको कला संसारलाई चखाउँनु पनि थियो। नेपाल फर्किएलगत्तै केही महिनाभित्र उनले काठमाडौंमा एकल प्रदर्शनी गरे। यसपछि उनको चर्चा चुलियो।

 त्यतिबेला उनले झारफुकतन्त्रको बुटीभित्र कस्तो–कस्तो आकृति हुन्छ भन्ने कथा चित्रमार्फत बिम्बित गरेका थिए।उनको विशेषता नै छ–उनी बैद्यिकतन्त्र तथा पौराणिक कथामा आधारित चित्र बनाउन पोख्छ छन्। उनको चित्रमा धेरैजसो गणेश भगवानको आकृति देख्न पाइन्छ। 

नेपाल फर्किएको छोटो अवधिमै उनी धेरै स्थानमा सम्पन्न भएको चित्र प्रदर्शनीमा सहभागी भए । उनको चित्र खुब बिक्थ्यो। उनको चित्रलाई पत्र–पत्रिकाले पनि स्थान दिन्थ्यो। 

वत्सगोपालले २०३८ सालमा सूचना विभागमा सरकारी जागिर खाए। त्यहाँ किताबको ‘कभर’ तथा पोस्टर डिजाइन गर्नुुपथ्र्याे। राजा–रानीको जन्मदिनमा तथा विशेष उत्सवमा उनीहरूको फोटो बनाउनुपथ्र्यो। उनले राजारानीका अनिगिन्ति तस्बिर पनि बनाएका छन्। उनलाई त्यतिबेला बनाएको मध्ये सबैभन्दा मनपर्ने चित्र रानी ऐश्वर्यको हो, जुन जन्मदिनमा बनाएका थिए। 

उनले बनाएका चित्रहरू नेपालका विभिन्न दरबारमा, राष्ट्रिय बाणिज्य बैंकमा, जापानको फुुकुुवाकामा, नागोयामा, बेलायत, अमेरिका, जर्मन, बंगलादेश, भारतलगायतका विभिन्न संग्राहलयमा सुरक्षित छन्। 

सूचना तथा प्रसारण विभागमा लामो समय काम गरेपछि उनको सरुवा सिंहदरबारमा भएको थियो। जीवनको लामो समय सरकारी सेवामा बिताएका उनी भन्छन्– ‘यदि म सरकारी सेवामा प्रवेश नगरेको भए, सायद अल्लारे भएर हिँड्थे होला। विहे पनि हुँदैन थियो होला।’

चित्रकलाको अध्ययन, अनुसन्धान र कार्यक्रमको लागि उनी विश्वका विभिन्न देश घुमेका छन्। अहिले पनि दंग पर्दै भन्छन्, ‘म पुग्नुभन्दा पहिले मैले गरेका ‘पेन्टिङ’ विदेशका विभिन्न स्थानमा पुगिसकेका रहेछन्।’

जापानको ओसाकामा भएको अन्तर्राष्ट्रिय ‘पेन्टिङ फेस्टिबल’मा प्रदर्शनको लागि छनोट भएका एक सय एघार पेन्टिङमा उनको पनि छनोट भएको थियो। नेपालबाट पठाएका डेढ दर्जन ‘पेन्टिङ’ मध्ये वत्सगोपालको मात्र छनोट भएको थियो। उनले ‘क्यानभास’मा पञ्चतत्व सम्बन्धि चित्र बनाएका थिए। जसलाई तयार पार्न उनलाई २० दिन लागेको थियो।

उनले आफ्नो पहिलो चित्र १५ हजार रुपैयाँमा बचेका थिए। ‘सबै भन्दा बढी पाँच लाखसम्म बेचेको छु,’ उनले सुनाए,‘मन नलागेको बेला क्यानभास छुनै मन लाग्दैन। मनलाग्यो भने सुत्न मन लाग्दैन।’ उनको रुचि गीतसंगीतमा पनि छ। नाटकमा पनि अभिनय गरिसकेका छन्। 

उनको घरको एउटा कोठा पुरस्कार र सम्मानले भरिएको छ। सन् १९८१ मा ‘एसियन आर्ट अफ बंगलादेश’ बाट उनको चित्रले नेपालको लागि ‘गोल्ड मेडल’ प्राप्त गरेको थियो। यस्तै राष्ट्रिय प्रतिभा पुरस्कार–२०३१, गोरखा दक्षिणबाहु–चौथोलगायत अनगिन्ति पुरस्कार तथा सम्मान उनको घरको भित्तामा टाँङ्गिएको छ।  

माइतीघरस्थित मण्डला ‘डिजाइन’ गर्दाको त्यो बेला 

काठमाडौंको माइतीघर मण्डलाकाे ‘डिजाइन’ वत्सगोपालले नै गरेका हुन्। ०५८ सालमा काठमाडौंमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) को रौनक बढेको बेला काठमाडौं महानगरपालिकाले उपत्यकालाई सिगार्ने क्रममा माइतीघर मण्डला बनाउने योजना बनायो। खेल सुरु हुन केहि दिनमात्रै बाँकी थियो। तत्कालीन मेयर केशव स्थापितले वत्सगोपाललाई बोलाएर मण्डलाको डिजाइन गर्न प्रस्ताव गरेका थिए। उनी घर फर्किएर रातारात मण्डलाको डिजाइन तयार पारे। देश–विदेशबाट आउने पाहुनाले देख्ने र भावी पुस्ताले पनि देख्ने भएकोले आकर्षक बनाउनुपर्ने चुनौति थियो। अर्काे दिनदेखि मण्डपको काम सुरु भयो।

उनले मण्डला ‘डिजाइन’ गरेको लामो समयसम्म पारिश्रमिक पाएनन्। तर संयोगले गौरवशाली काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन्। 
शान्तिको प्रतिक मानिने मण्डपलाई सर्वसाधारणले कुल्चिएलान् भनेर वत्सगोपालले चारैतिर पानी राख्न मिल्ने बनाएका थिए। तर, अचेल आन्दोलनका नाममा त्यही पुगेर मानिसहरूले आगो बाल्ने, नाराबाजी गर्ने, प्रदर्शन गर्ने गरेको देख्दा उनलाई दुःख लाग्छ।   

स्किबसँग जोडिएको वत्सगोपालको नाम 

नेपाली कला क्षेत्रलाई संसारसामू चिनाउने उद्देश्यले स्थापना भएको संगठन हो, स्किब । त्यसमा आफ्नै छन्दका आधुनिक चित्र समावेश हुन्छन्।
बम्बईमा पढेका केही साथी थिए। तर संगठित थिएनन्। एकल प्रदर्शनी गर्न महँगो हुने कारण वत्सगोपाल र उनका साथी मिलेर स्किब समुह बनाए। 
सामूहिक कला प्रदर्शनको अवधारणासहित निर्माण भएको यो समुहले विभिन्न स्थानमा लामो समय कला प्रदर्शनी गर्यो। 

सन् १९७१ मा वत्सगोपालको घरमा बसेको बैठकले यसो टुँगो लगाएको थियो।

त्यतिबेला बैठकमा शशी शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य समावेश थिए। उनीहरूकै अगाडिको नाम जोडेर स्किब समुह गठन गरिएको हो।

यो समुहले ३० वर्ष निरन्तर कला प्रदर्शन गर्यो। सन् १९९५ मा इन्द्र प्रधानको निधनपछि पहिले जस्तो क्रियाशिल हुन सकेन। 

फोटो\भिडियो सनी शाक्य- बिएल

प्रकाशित मिति: : 2022-01-06 19:35:00

प्रतिकृया दिनुहोस्

    केही मिलाउनु पर्ने तथ्यहरुः उनले राजा रानीको तस्बीर कहिलेपनि बनाउनु भएको छैन राष्ट्रिय प्रतिभा पुरस्कार - 2062 मा पाउनु भएको हो, २०३२ हैन 2058 सालमा सार्क सम्मेलन भएको थियो, एसियाली खेलकुद हैन स्किब-71 समुहले लगातार १९ बर्ष प्रदर्शनी गरेको थियो, ३० वर्ष हैन । तर यो समुह अझै जीवित छ, इन्द्र प्रधानको निधन भएपछि समुह त्यति सकृय हुन पाएन

    • 3 बर्ष अगाडि
    • अनिस गोपाल वैद्य

    मेरो #पाजु (मामा), हाम्रो गौरव । उहाँको प्रतिभा वारे धेरै कुरा अझै समावेश हुन बाँकि रह्यो...

    • 3 बर्ष अगाडि
    • सुरेश प्रधान