कमल विक
२०२६ सालतिर यसै पनि नेपाली महिलाहरू घुम्टोमा सिमटिएका थिए। एकाधबाहेक अन्य महिलामा त्यति ठूलो चेतना पनि थिएन। चुलोचौकामै दिन बित्थ्यो।
यस्तो सामाजिक अवस्थामा पनि नेपाली सेनामा जागिर खाएर पहिलो महिला प्याराजम्परको इतिहास कोर्न सफल साहसिक महिला हुन्, सुन्दरी श्रेष्ठ।
उनलाई अहिले पनि त्यो दिन याद छ– १३ मंसिर २०२६ साल। जतिबेला उनी काठमाडौंको चोभारस्थित १४ सय मिटर अग्लो उचाईमा प्यारासुट बोकेर जमिनतर्फ हाम्फाल्दै थिइन, घरमा उनको आमा दियो बालेर छोरीको दीर्घायुको कामना गरिरहेकी थिइन। उनले एक सातामै ४ पटक जम्म गरिन्।
मूलत सुन्दरीको जन्म २००२ सालमा ललितपुरस्थित सौगलमा एक सामान्य परिवारमा भएको हो। बुवाको निधन अल्पआयुमै भयो। यतिबेला उनी १६ वर्ष टेक्दै थिइन। बुवाको निधनपछि घरको आर्थिक अवस्था बिग्रिदै गयो।
उनकी दिदिको सानै उमेरमा निधन भइसकेको थियो। दाजु–भाई कोही थिएनन्। घरको माइली छोरी भएपनि जिम्मेवारी उनको काँधमा आइपुग्यो। यही जिम्मेवारीलाई पुरा गर्ने क्रममा उनले मुखैमा आएको एसएलसीको परीक्षा पनि दिन पाइनन्। एसएलसी परीक्षाको फर्म भर्न त्यतिबेला ४० रुपैयाँ तिर्नुपथ्र्यो। यति पैसा घरमा थिएन। त्यसैले उनले टेस्टको परीक्षा दिएर बीचैमा पढाई हापिन्।
२०१८ सालतिर नेपालमा कक्षा १० सम्म अध्ययन गरको महिलाको संख्या निकै कम थियो। महिलाले पढ्नु नै ठूलो कुरा हुने जमानामा १० कक्षासम्मको पढाई आफैमा ठूलो मानिन्थ्यो। यसैले १० सम्म पढेकाले पनि आफूभन्दा तल्लो कक्षाका विधार्थीलाई पढाउने जागिर पाउँथे।
सुन्दरीले पनि ललितपुरको आदर्श शिक्षा सदनमा पढाउने जागिर पाइन्। त्यहाँ उनी कक्षा पाँचसम्मका विधार्थीलाई पढाउँथिन्। यस बापत मासिक ३० रुपैयाँ कमाई हुन्थ्यो। यतिले घर मज्जाले चल्थ्यो। स्कुलमा जागिर खाएको २ वर्षपछि एसएलसी उत्तिर्ण गर्ने आफ्नो चहाना पुरा गरेकी थिइन।
विधालयमै अध्यापन गराउँदै गर्दा २०२२ सालमा शाही सेनालाई प्याराजम्पको तालिम दिन इजरायलबाट एउटा टोली नेपाल आयो।
लगत्तै नेपाली सेनाले प्यारासुटको सामान ‘फोल्ड’ तथा ‘प्याकिङ’ गर्न २० महिला कर्मचारीको आवश्यकतासहित गोरखापत्रमा विज्ञापन प्रकासित गर्यो।
यो विज्ञापनले सुन्दरीको ध्यान मात्र खिचेन, सानैदेखि केही नौलो तथा पराक्रमी काम गर्ने आफ्नो चाहना पुरा हुन लागेकोमा उनी औधी खुसी पनि थिइन। फेरि सेनाले माग गरेको पदमा विधालयभन्दा राम्रो कमाई हुने देखेपछि उनी यता आकर्षित भइन।
सेनाले महिला कर्मचारी माग गर्नुअघि सुन्दरीले नर्सिङ पेशामा आवद्ध हुन क्षेत्रपाटीको एक अस्पतालमा नामसमेत निकालिसकेकी थिइन। तर तलब निकै कम थियो। त्यसैले उनी सेनाको जागिरमा आकर्षित भइन।
‘वास्तवमा मेरो अवस्था नै त्यस्तै थियो, उतिबेला। फेरि सानैदेखि चुनौतिपूर्ण काम गर्ने इच्छा पनि थियो,’ करिब ६० वर्षअघिको कुरा सम्झिदा उत्साही हुने सुन्दरी बताउँछिन्।
उनलाई घरबाट सेनाको महाराजगञ्जस्थित कार्यालय पुग्न हिँडेर २ घण्टा लाग्थ्यो। उनले पाँच वर्ष निकै दुःखकस्ट सहिन। यस अवधिमा उनलाई आफैले प्यारासुटबाट हाम्फाल्न सक्ने आँट पलाइसकेको थियो।
उनी बिएल नेपाली सेवासँग विगतको घटना सुनाउँदै भन्छिन्, ‘सेनाका अधिकारीसँग मैले आफै प्यारासुटबाट हाम्फाल्ने प्रस्ताव राख्दा उहाँहरू अक्कनबक्क पर्नुभयो।’
त्यति बेलाको समाज नै पुरुष प्रधान थियो। महिलालाई सधै कमजोर ठान्ने। एकपल्ट सुन्दरीको प्रस्ताव सुनेपछि सेनाका पदाधिकारीले भनेछन्, ‘तिमीहरू महिलाले प्यारासुटबाट हाम्फाल्यौं भने तोरीको फूल देख्छौं।’
विगतको कुरा स्मरण गर्दै सुन्दरी भन्छिन्, ‘मलाई त केही सेनाले चुनौति दिँदै भने–तैले प्यारासुटबाट हाम्फालिस् भने कान काटेर कागलाई दिन्छु।’
तर, यति हुँदा पनि सुन्दरीले हिम्मत हारिनन्। एक महिने तालिम लिइन्। प्याराजम्पर बन्न तौललाई पनि नियन्त्रणमा राख्नुपथ्र्यो। उनले आफ्नो शरीरलाई नियन्त्रणमा राख्न ठूलो त्याग गरिन्।
उनको कडा मिहिनेतले १३ मार्चमा रंग ल्याएको थियो। चोभारको डाँडोमाथिबाट उनले जम्प हान्दा सेनाका जवानहरू अवाक बनेका थिए।
वास्तवमा उनलाई लामो समय आफू नेपालको पहिलो महिला प्याराजम्पर हो भन्ने पनि थाहा थिएन। उनी भन्छिन्, ‘सामान्य ज्ञानमा नाम प्रकासित भएपछि मात्र पो थाहा पाए।’
यतिबेला उनी औधी खुसी भएकी थिइन। पहिलो पल्ट प्यारासुटबाट जम्प गरेको घटनाको विषयमा उनी भन्छिन्, ‘डर लागेन। किन डराउनु। ठूलो रहर थियो। फेरि सेनाका जवानहरूलाई पनि देखाउँछु भन्ने अठोट लिएको थिए।’
प्यारासुटबाट जम्प गर्नुअघि सुन्दरीले परिवारका अन्य सदस्यलाई थाहा दिएकी थिइनन्। जम्प गर्नेदिन आमालाई मात्र खुसुक्क कानमा भन्न भ्याएकी थिइन।
‘मेरो कुरा सुनेर आमा डराउनु भयो। मेरो मिशन सफल होस्, मलाई केही नहोस् भनेर उहाँले दिनभरी दियो बाल्नु भएछ,’ उनले बिगत सुनाइन्।
उनको कामको मूल्यांकन पछि दरबारले पनि गर्यो। २ वर्षको अवधिमा ७ पल्ट जम्प गरेकी सुन्दरीलाई शाही सेनाले ‘सेना पदक’ बाट बिभूषित गर्यो।
राजा बीरेन्द्र सुन्दरीको कामको प्रसंसा गरेर थाक्दैन्थे। बीरेन्द्रले पनि प्यारासुटको तालिम लिएका थिए। उनी भन्छिन्, ‘एक दिन राजाले मलाई दरबारमा बोलाएर के माग्छौ, माग भन्नुभयो। के माग्ने मलाई थाहा थिएन। ड्रेस पो मागेछु।’
उनलाई त्यतिबेला सबैले साहसी भन्थे। उनी त्यसै मख्ख। ‘मलाई ठूलो कुराको चहाना पनि थिएन्। प्यारासुटको ‘प्याकिङ’ गर्दा कपडा फाटेको थियो। किन्ने पैसा थिएन, त्यसैले राजासँग ड्रेस मागेकी हुँ। तर मलाई साथीहरूले राजासँग पनि त्यति सानो कुरा माग्ने भनेर इल्लीबिल्ली बनाए,’ उनी भन्छिन्।
इजरायलबाट आएको प्याराजम्पर टोली ७ वर्षपछि स्वदेश फर्कियो। इजरायली टोलीले उनलाई आफ्नो देश लैजान खोजेको थियो। तर, घरको अवस्था कठिन भएको कारण उनले अस्वीकार गरिन्।
‘यतिबेला आमाले आँखा देख्न छोडि सक्नुभएको थियो। बहिनीहरू सानै थिए,’उनले बताइन्।
इजरायली टोली फर्किएपछि उनलाई सेनामा काम गर्न मन लागेन। बीचैमा छोडिन्। भनिन्,– ‘इजरायली गएपछि सेनाले गर्ने व्यवहार मन पर्न छोड्यो। त्यसैले राजीनामा दिए।’
उनलाई काम नछोड्न सेनाका केही अधिकारीले आग्रह नगरेका होइनन्। तर, उनको मनले मानेन। २०२८ सालमा नेपाल बैंकमा नाम निकालेपछि पेन्सनपट्टा नहुँदासम्म यही कार्यरत रहिन्।
अहिले उमेरले ७५ टेकेकी छिन्। तर, जोश र जागरमा कुनै कमि देखिदैन। यसै साता उनलाई भेट्न जाँदा भन्दैथिइन,‘अचेल त आफै उडाउन(प्याराग्लाइडिङ) पाइन्छ रे। सेनाले दिनु पर्दैन रे।’
टिभीमा अरु मानिसलाई प्याराग्लाइडिङमा उडेको देख्दा उनलाई लाग्छ रे, ‘आफै उडाउन जाउँ कि!’
सिमित परिणाममा सेनासँगमात्रै थिए। तत्कालीनशाही सेना र राजपरिवारले मात्रै प्रयोग गर्थे। शाही सेनामाप्यारागलाइडिङ ‘प्याकिङ’कामगर्न गएकीललितपुरकी सुन्दरी श्रेष्ठले निकै संघर्षपूर्ण अवस्थामाप्यारागलाइडिङ उडाएर नेपालको पहिलोे महिलाप्यारागलाइडर बनेकीहुन्।
प्रस्तुति : शनि शाक्य
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया