आइतबार, ३१ अगस्ट २०२५

प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा

News Image
• • •

नेपालका हिमाली भू-भागमा रहेका धेरै तीर्थस्थलहरूमध्ये मुगुको छायाँनाथ धाम विशेष महत्व राख्छ। सतीदेवीको शरीरको अंग पतन भएको शक्तिपीठमध्ये एक मानिने यो धाम केवल धार्मिक स्थल मात्र होइन, संस्कार, आस्था र प्रकृतिको मिलनबिन्दु हो।

धाम पुग्ने बाटो सरल छैन। घुमाउरा डाँडाकाँडा, अनकन्टार गाउँ, सर्पजस्तै उकालो–ओरालो, हावासँगै चुलिएको धुलो र कहिले बादलले ढाकिएको आकाश– यी सबै कठिनाइ पार गर्नुपर्छ। तर, यही कठिनाइ नै यात्राको सुन्दरता हो।

यात्राको प्रारम्भ श्रद्धा र उत्साह हाम्रो यात्रा सुरु भयो जुम्ला चन्दननाथ नगरपालिका-१०, खल्लाबाट। हामी गाउँकाे धार्मिक परम्परा अनुसार करिब ९:३० बजे हाम्रो गाउँ बाट  छायाँनाथ काे यात्रा सुरु गर्यौं, उम्गाडबाट हामी  १० जना एउटै गाडीमा, भित्री मनमा अपार उत्साह र बाहिरी मुस्कानसँगै बाटो लाग्यौं।

सबैभन्दा पहिला हामी चन्दननाथ मन्दिर पुग्यौं। धुप बत्तीको गन्ध, घण्टीको मधुर ध्वनि, र भक्तजनको भिडले मन्दिरको वातावरण अलौकिक बनाइरहेको थियो। हरेकले आफ्नो मनोकामना व्यक्त गर्दै यात्रा सफल होस् भन्ने प्रार्थना गरे।

गाडीमा चढेर अघि बढ्दा साथीहरूको हाँसो, पुराना सम्झना, र रमाइला ठट्टाले यात्रा रंगिन बनाइरहेको थियो।

बाटोका दृश्य हरियाली र गाउँको जीवन, लासी बजार हुँदै अघि बढ्दा खिड्कीबाट देखिने हरियाली खेतबारी, खाली चैर  डाँडा र गाउँका छानाहरू यी ठाउँसँगै हामीले १२ बजे खाली चौरमा रमाएर खाजा खायौं।

धेरै गाउँहरूमा अझै पुरानो जीवनशैली देखिन्थ्यो, ढुङ्गाको घर, परालले छाएको छाना, भट्टीबाट उडिरहेको धुवाँ, आँगनमा दौडिरहेका बालबालिका, यी दृश्यले यात्रुहरूलाई आकर्षित गरिरहेको थियो।

गाडीको धक्कापेलले कहिलेकाहीँ थकाइ लाग्थ्यो तर बाहिरको दृश्यले त्यो थकान हराउँथ्यो।

जुम्लादेखि ७  घण्टाकाे गाडी यात्रापछि, करिब ४ बजे मुगु गमगढी बजार पुग्यौं। त्यहाँबाट पैदल यात्रा सुरु हुन्छ, गमगढी बजारकाे त्याे पैदल यात्राको सुरुवात त्यहाँको चहलपहल, स्थानीय बजारको आवाज, अनि यात्राको थकाइ मिसिएको वातावरण अलिक फरक लाग्यो।

पैदल यात्राको पहिलो रात पम्फाबेसीमा बित्यो। गाउँलेहरूको आत्मीयता, आगो ताप्दै गरिएका गफ, अनि चन्द्रमाको उज्यालोमा चम्किएका हिमाल यी सबैले हाम्रो थकाइ बिर्साइदिए।

गाउँका वयोवृद्धहरूले छायाँनाथको महिमा सुनाइरहेका थिए। उनीहरूको कथामा श्रद्धा मात्र होइन, पुस्तौंदेखि बोकेको विश्वास झल्कन्थ्यो।

कठिन बाटो उकालो, ओरालो र संवाद अर्को दिन बिहान ४ बजे नै हामी उठ्यौं। बाटो साँच्चिकै कठिन थियो उकालो, ढुङ्गामाटो र कहिलेकाहीँ खोला तर्नुपर्ने। तर यात्रामा रमाइलो संवादले थकाइ कम गराइरहेको थियो।

सँगै गएका हाम्रो गाउँका महानन्द चौलागाईंले भने, ‘यदि यहाँ सडक बनेको भए यात्रा कति सजिलो हुन्थ्यो होला?’ अर्का समाजसेवी 
पूर्ण चौलागाईंले मुस्कुराउँदै जवाफ दिए, ‘तर सडक बने भने यो बाटो यत्तिको पवित्र नलाग्ला।’

यस्ता संवादहरूले हामीलाई रमाइलो मात्र दिएनन्, यात्राको महत्व पनि बुझाइरहेका थिए।

हामीले यिनी कुरासँगै बाटाे काट्दै करिब ८ बजे दुङ्गेधारा स्वर्गीय विश्रामस्थल पुग्यौं। नाम झैँ यहाँ ढुङ्गाबाट बगेको पानीको धारा थियो। वरिपरिको हरियाली, पंक्षीहरूको चहक, अनि झरनाको आवाजले वातावरण साँच्चिकै स्वर्गीय बनाएको थियो।

हामीले यहीँ खाना खायौं। केही समय विश्राम गर्दा शरीर ताजगी भयो। महान्द चौलागाईले भने, ‘यति सुन्दर ठाउँ देख्दा यात्राको सबै कष्ट बिर्सन सकिन्छ।’

संस्कारको यात्रामा मैले मेरा ‘बा’काे पिण्डदानको भाव यात्रामा लिएर गएकाे थिएँ। सहभागीमध्ये एक साथीको विशेष जिम्मेवारी थियो स्वर्गीय बाबाको पिण्डदान गर्नु। यो संस्कार गर्नकै लागि उनी यो लामो यात्रा तय गरेका थिए। देवीलाल चैलागाईंसँगै उनी अघि लागे।

साँझ करिब ४ बजेतिर हामी तिहार बगर पुग्यौं। शनिबार त्यहीँ पिण्डदान सम्पन्न भयो। संस्कार पूरा भएपछि उनको अनुहार हल्का र आत्मसन्तुष्ट देखिन्थ्यो।

हामी सबैले महसुस गर्यौं यात्रा केवल दृश्य हेर्ने वा पूजा गर्ने मात्र होइन, यो आफ्नो संस्कार, पूर्वज र परम्परासँगको गहिरो सम्बन्ध हो। निरन्तर…

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!