मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)

अनिता लामा

अनिता लामा

काठमाडौं
News Image
• • •

प्रायः रातो पहिरन लगाउन रूचाउनुहुने, नभए रातो पछ्यौरी ओढ्नुहुने, निधारको उच्च भागमा रातो ठूलो टिका लगाउने र निधारको दायाँ भागमा चिटिक्क सिउँदो छुट्याएर लामो रातो सिन्दुर लगाउने अनि हँसमुख सेतो चेहरा। आमा साधनाको झलक्कै आउने बान्की हो यो।

बिस्तारै बोल्ने, मुस्कुराउँदै बोल्ने, पछ्यौरा सँधै ओढिरहने वहाँको स्मरण गर्दा एक भद्र तर सशक्त व्यक्तित्व छर्लङ्ग आउँछ मनमा। पछिल्लोपटक मनमोहन अधिकारीको देहवसान पश्चात वहाँ एक शान्त विशाल समुद्र लाग्दथ्यो।

२०५२ वा ०५३ सालतिरको कुरा हो, अखिल नेपाल महिला संघ (अनेमसंघ)को क्षेत्रीय सम्मेलन थियो। म त्यतिबेला काठमाडौं महानगरपालिका वडा नं. ४ को अनेमसंघको कार्यकर्ता थिएँ। काठमाडौं-४ स्थित शंखपार्कमा वहाँको प्रमुख उपस्थिति थियो। हँसिलो चेहरा, सेतो दुग्ध वर्णको व्यक्तित्व रातो पछयौरीमा वहाँको उपस्थिति कति मनमोहक थियो। कम बोल्नुहुने तर विचारको स्पष्टता र महिला मुक्ति आन्दोलनको पक्षमा प्रभावशाली तर्कले म जस्तो संगठनको प्रारम्भिक तहमा उठ्दै गरेकी कार्यकर्तालाई वहाँ निकै आकर्षक लागेको थियो।

कहिलेकाहीँ आकलझुकल टेलिभिजनहरूमा मात्रै देखिनुहुने व्यक्तिलाई हामीले नजिकबाट देखेका थियौं र मैले हेरेको हेर्‍यै गरेकी थिएँ।

२०५१ साल कार्तिक २९ गतेको मध्यावधि निर्वाचनपछि सबैभन्दा बढी सिटमा विजय हासिल गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्ष श्रद्धेय मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभएको थियो। मनमोहन अधिकारीको धर्मपत्नी हुनुहुन्थ्यो साधना अधिकारी तर प्रधानमन्त्री जस्तो व्यक्तिको जीवनसाथी हुनुको कुनै शक्ति उन्माद थिएन वहाँमा।

प्रधानमन्त्री पत्नीको रुपमा होस् वा प्रमुख प्रतिपक्षी दलको नेताको पत्नीको रुपमा, वहाँ सँधै उस्तै सामान्य, उस्तै साधारण। तिनै गुणहरूले बनेको वहाँको असाधारण व्यक्तित्व। प्रधानमन्त्री हुनुहुँदा बालुवाटार निवास तथा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुँदा महाराजगञ्ज चोकको निवास दुवै हाम्रो राजनीतिक क्षेत्रभित्र पर्ने। हामी यस क्षेत्र (त्यसबेला क्षेत्र नं. ३) का कार्यकर्ताहरूलाई निवासमा जानका लागि कुनै छेकाबन्दी वा व्यवधानहरू हुँदैन थियो।

भेटघाटका अवसरहरू धेरै नहुने तर निवासमा जाने र आउने तथा विभिन्न तहका वैठकहरू सचिवलायसँग बस्ने कार्य भइरहन्थ्यो। राजनीतिक भेटघाट, सम्पर्क, सूचनाको आदानप्रदानको केन्द्र सचिवालय र सल्लाहकारहरू हुने भएकोले त्यस प्रकारको भेटघाटमा सचिवालयबाट भएको त्यस प्रकारको व्यवस्थापन आज सम्झने गर्छु कति सजिलो र छरितो हुन्थ्यो। साधना अधिकारीको सानिध्य यस्तै प्रकारको भेटघाटमा बढी हुन्थ्यो। 

मुलुकले पहिलोचोटी पाएको नेपाली कम्युनिष्टहरूको पहिलो सरकार नेकपा एमालेको सरकार भएको कारणले सबै कार्यकर्ताले प्रधानमन्त्री निवास हेर्न पाउनुपर्छ, बुझ्न पाउनुपर्छ भन्ने भावना साधना अधिकारीमा थियो। त्यतिबेला सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीज्यूको राजनीतिक सल्लाहकार आदरणीय ईश्वर पोखरेल हुनुहुन्थ्यो। 

सचिवालयमा स्थानीय राजनीतिकर्मी काठमाडौं महानगरपालिका ४ वडाका चन्द्र सुवेदी, सुवर्ण श्रेष्ठ र तत्कालीन खड्ग भद्रकाली गाविस (हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ६) का युवा बसन्त खड्का हुनुहुन्थ्यो।

म वडास्तरको सामान्य जिम्मेवारीको कार्यकर्ता भएतापनि प्रधानमन्त्रीज्यूका सल्लाहकार तथा सचिवालयका टीमहरूसँगको नियमित भेटघाट र ब्रिफिङ्ग हामीलाई विभिन्न माध्यमबाट जानकारी आउँदथ्यो। आमा साधनाको व्यवहार र संस्कार अनुभव गर्न पाउँथ्यौ। अनेमसंघको क्षेत्रीयस्तरको र वडास्तरको भेला तथा प्रशिक्षणमा समेत वहाँ हाम्रो निम्तोमा आउनुभएको थियो।

पहिलोपटक बनेको कम्युनिष्ट सरकार अनि त्यसमाथि नेकपा एमाले जस्तो भर्भराउँदो कार्यकर्ताहरूको जोशले उठेको बलियो पार्टी। देशमा मात्रै होइन, अन्तराष्ट्रिय जगतमा पनि यो सरकारको निकै हल्लाखल्ला थियो। असाध्यै प्रचार भएको थियो। मेरो राजनीतिक जीवनको यो प्रारब्ध निकै रोमाञ्चक थियो। जसले पहिलोपटक कम्युनिष्ट पार्टीको सरकार सञ्चालनको पद्धति नजिकबाट हेर्न, अध्ययन गर्न र महशुस गर्न पाएको थियो। जसबाट धेरै कुराको सिकाई र अभ्यास भएको थियो।

सरकारका प्रमुख सम्माननीय प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्रको कार्यकर्ता भएर निर्वाचनमा खट्ने र निर्वाचनको माहौल बनाउने जिम्मेवारी निभाएको थियो। हामी स्थानीय पार्टीभित्र सबैले सम्मानजनक रूपमा साधना आमा भन्थ्यौं र मनमोहन बाबा भन्थ्यौं। प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुँदा महाराजगञ्ज चोकको घर हाम्रो लागि अति प्रिय थियो।

विजया दशमी, नयाँ वर्ष जस्ता विभिन्न पर्वहरूमा शुभकामना आदानप्रदान लगायतका ठूला ठूला कार्यक्रमहरूको आयोजना हुँदा महाराजगञ्जको त्यो निवास हामी सबैको साझा निवास झैं हुन्थ्यो। आमा साधनाले सबैलाई पुग्ने खानपान र अन्य व्यवस्थापनमा निकै चासो दिनुहुन्थ्यो। पार्टी संगठन तथा अनेमसंघको नाममा हामी द्यौसी, भैलो खेल्थ्यौं। मनमोहन अधिकारी र साधना अधिकारीले ध्यानपूर्वक मैले भट्याएको, गीत गाएको, आशिष दिएको सुन्नुभएर प्रशंसा गर्नुभएको अहिले भर्खरै हो जस्तो लाग्छ।

लामो समय शिक्षण सेवामा रहनुभएका साधना अधिकारीले २०१० सालमा निर्वाचनमा भाग लिदा पहिलोपटक महिलाले भोट हाल्न पाउने र उम्मेद्वार हुन पाउने अधिकार प्राप्त गरेको थियो। त्यसअघि २००४ सालमा पहिलोपटक भएको काठमाडौं म्युनिसिपलिटीको चुनावमा महिलालाई भोट हाल्ने अधिकार माग गर्न राणा शासकहरूका सामु साधना अधिकारी सहितको महिलाहरूको समूह जानुभएको थियो।

२०१० सालको स्थानीय निर्वाचनमा ७३ जना उम्मेद्वारमध्ये साधना अधिकारी मात्रै एक महिला हुनुहुन्थ्यो र वहाँले वडा नं. ८ को वडा सदस्य पदमा उम्मेद्वार हुनुभई अधिकतम मत ल्याई विजयी हुनुभएको थियो। नेपालको निर्वाचन इतिहासमा पहिलो महिला उम्मेद्वार हुनु र निर्वाचित पहिलो महिला जनप्रतिनिधि हुनु साथै वहाँ उम्मेद्वार एवम् विजयी भएको निर्वाचनमै पहिलोपटक महिलाहरूले भोट हाल्न पाउनुको संयोग हामी नेपाली महिला राजनीतिकर्मीहरूका लागि ठूलो उत्सवको समय हो भने आम नेपालीहरूका लागि यो ऐतिहासिक सम्मानित दिन हो।

आज हामी नागरिकको चाहना र बलमा प्राप्ति गरेको लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा तीन तहको सरकार सञ्चालनका क्रममा छौं। मत र मताधिकार, हित र हितको अधिकारको पक्षमा नागरिकको तहबाटै निर्वाचित जनप्रतिनिधिहरूले सम्झनुपर्ने ऐतिहासिक समयको रूपमा लिनुपर्दछ भाद्र १० निर्वाचन भएको दिन र भाद्र १७ गते साधना प्रधान विजयी भएको दिनलाई। राज्यपक्षबाटै यो दिन र समयलाई गौरवका साथ सम्झने दायित्व सरकारले लिनुपर्दछ।

साधना प्रधान र सहाना प्रधान किशोरकालमा आफ्नो बाबु शंकरलाल प्रधानको साथमा दोस्रो विश्वयुद्धताका बर्माबाट लखेटिने क्रममा पहिलोपटक काठमाडौं टेकेका थिए रे। काठमाडौंमा राणा शासनको विरुद्ध अलिअलि राजनीति तरंगीत भइरहेको समयमा यी दुई दिदीबहिनी किशोरीहरू राणा शासकको विरुद्धमा होइन, हामीले पनि पढ्न पाउनुपर्छ, स्कूलहरू धेरै ठाउँमा खोल्नुपर्छ, खोलेको स्कूलमा पढ्न जान पाउनुपर्छ भनेर नारा लगाएका थिए रे। केही दिन हड्ताल गरेका थिए रे भनेर मैले पढेकी थिएँ।

साधना प्रधानको पुष्पलालसँग र सहाना प्रधानको मनमोहन अधिकारीसँग भएको भेट, विवाह र महिला अधिकारको पक्षमा गरेको आन्दोलनहरूको किस्सा विभिन्न पुस्तकहरूमा र प्रशिक्षणहरूमार्फत बुझ्न पाएकी थिएँ। 

पछि सहाना प्रधान संसदीय राजनीतिको धेरै मोर्चाहरूमा नेतृत्वमा पुग्नुभयो र जीवनको पूर्णकालीन समय सामाजिक रूपान्तरण, सबल नेतृत्व र महिला अधिकारको पक्षमा लडिरहनुभयो। साधना अधिकारीले पछिल्लो समय मुलुकको सफल पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्न सफल मनमोहन अधिकारीको संघर्ष, योगदान र सबल नेतृत्वमा आफ्नो सराबर सहभागिताको सृसंस्कृति प्रदान गरिरहनुभयो।

आज महिला आन्दोलनका अग्रणी वहाँहरू दुवैजना हाम्रो सामु हुनुहुन्न। साधना र सहानामध्ये दुवैको नाम स्वतः सँगसँगै स्मरणमा आउने गर्दछ। साधना अधिकारी आज हाम्रो सामु नहुनुभएको २० वर्ष भयो। अर्थात् २०६२ बैशाखमा निधन हुनुभएका साधना आमा नेपाली महिलाहरूको लागि एउटा प्रेरणा पुञ्ज हो।

हामीजस्तो सामाजिक, राजनीतिक अभियानमा लागेका महिलाहरूको लागि एक अटल शाहस र अजस्र हौसलाको स्रोत हो। अनेमसंघले प्रकाशन गर्ने गरेको वैचारिक मासिक पत्रिका महिलाको पनि प्रथम सम्पादक हुनुहुन्छ भन्ने इतिहांस उल्लेख छ। पहिलोपटक २००४ सालमा एसएलसी परीक्षा दिने चार महिलाहरूमध्ये वहाँ पनि एक जना हुनुहुन्छ भन्ने इतिहांस पढ्न पाइन्छ।

यद्यपी नेपाली महिलाहरूको विविध क्षेत्रमा भएको अमूल्य योगदानहरूको भरलाग्दो अभिलेखहरू कहीँ कतै छैन, पाइंदैन। हामीले यस्ता विषयहरूको पुष्टी सहित सत्यतथ्य इतिहांस लेख्न जरुरत देखिन्छ, ताकि पछिल्लो पुस्ता र आउने नविन पुस्तालाई बुझाउन, बताउन सकियोस्। आफ्नो योगदान, संघर्ष र उपलब्धीमा पनि कहिल्यै घमण्ड नगर्ने, पद तथा शक्तिप्रति कहिल्यै आशक्ति नहुने सँधै शान्त तर प्रदीप्त आमा साधना अधिकारीप्रति उच्च सम्मान तथा हार्दिक श्रद्धासुमन !

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!