‘वैज्ञानिक प्रमाणमा आधारित निर्णय र भारतसँग सहकार्य हुनुपर्छ’

अनलाइनखबर

काठमाडौँ

दिवाकर प्याकुरेल

कोभिड–१९ महामारीको दोस्रो लहरसँग नेपाल जुधिरहेको छ । स्रोत–साधनको अभावमा दिनहुँ दर्जनौं बिरामीको ज्यान गइरहँदा सरोकारवालाहरू चिन्तित छन् । कतिपय सरोकारवाला तथा समूहले आफ्ना नागरिकको जीवन सुरक्षा गर्न नसकेको भनेर सरकारप्रति आक्रोश पोखिरहेका छन् भने कतिपयले नागरिकले पनि आफ्नो दायित्व पूरा नगरेको बताएका छन् ।

यस्तै केही सरोकारवालाहरूले नेपालले आफ्नो स्रोतसाधनले यस महामारीलाई थेग्न नसक्ने हुनाले अन्तर्राष्ट्रिय सहयोग माग्न ढिला गर्न नहुने पनि बताएका छन् ।

तर, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव अझै पनि नेपालसँग महामारीसँग जुध्न धेरै सबल पक्ष र अवसरहरू रहेको ठान्छन् । अनलाइनखबरसँगको इमेल अन्तर्वार्तामा उनले सरकारको आलोचना गरेका छैनन् । तर सूक्ष्म रूपमा सरकारलाई केही महत्त्वपूर्ण सुझाव दिएका छन् ।

जस्तैः हरेक निर्णय वैज्ञानिक तथ्य र प्रमाणमा आधारित हुनुपर्छ र भारतसँगको सहकार्यमा मात्र यो महामारीको असर कम गर्न सकिन्छ । प्रस्तुत छ, पाण्डवसँग अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले गरेको इमेल अन्तर्वार्ताको सम्पादित अंश :

तपाईंले नेपालको अहिलेको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? विद्यमान स्वास्थ्य सङ्कट व्यवस्थापनमा नेपालसामु रहेका चुनौती र अवसर केके होलान् ?

कोभिड–१९ विश्वकै लागि एउटा लामो सङ्कट हो । सार्वजनिक स्वाथ्य सङ्कटका रूपमा शुरु भएको यो समस्या हाल सामाजिक सङ्कटका रूपमा विस्तार भएको छ । यसमा नेपाल पनि अपवाद रहेन । हाल हामी नेपालमा अर्को लहर सामना गर्दैछौं, जसलाई ‘दोस्रो लहर’ भनेर सामान्यीकृत गरिएको छ । यससँगै केही हामीलाई पहिल्यै थाहा भएका र केही नयाँ चुनौती आएका छन् ।

स्वास्थ्य प्रणालीसँग सम्बन्धित नेपालले भोगेका चुनौती परिचित नै छन् । यसमा सबैभन्दा महत्त्वपूर्ण चुनौती सङ्क्रमणको विस्तारलाई रोक्नु हो ।

दोस्रो, सकेसम्म धेरै मानिसलाई सुरक्षित राख्नु हो । सङ्क्रमणको जालो (चेन) तोड्नका लागि जनस्वास्थ्य सुरक्षासम्बन्धी उपायहरूलाई कडा रूपमा पालना गर्न जरूरी छ । खोपको स्वीकार्यता उच्च रहेको सुनिश्चित गर्नु अर्को जरूरी काम हो । सङ्क्रमणको जोखिममा रहेका मानिसको परीक्षण तथा सम्पर्क पहिचान (कन्ट्रयाक्ट ट्रेसिङ) गरी क्वारेन्टिनमा राख्नु अनि सङ्क्रमण पुष्टि भएका वा बिरामी भएकाहरूलाई आइसोलेसनमा राख्नु पनि महत्वपूर्ण छ ।

प्रकाशित मिति: : 2021-05-05 15:21:00

प्रतिकृया दिनुहोस्