बिहिबार, १४ अगस्ट २०२५

कोभिड–१९  उपचारका लागि अस्पताल र शय्या थप

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Symbolic photo
• • •

सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ।

सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए।

उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ।

नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसियु एक हजार ८७१, भेन्टिलेटर ७४१, एचडियु दुई हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन्।

प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा छ  पसललाई जरिवाना गरिएको छ।

यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराउने अक्सिजनका ४०० खाली सिलिण्डर लिन आज नेपाल वायुसेवा निगमको वाइड बडी जहाज जाँदै छ।

नेपालमा अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर छ। चीन सरकारले उपलब्ध गराउने २० हजार सिलिण्डर आएपछि ३७ हजार ७६१ अक्सिजन सिलिण्डर पुग्ने छ।

प्रवक्ता आचार्यले अलपत्र नागरिकलाई चार्टर गरेर उद्धार गरिएको जानकारी दिए।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा, नेपालगञ्ज, लुक्ला र  सुर्खेत विमानस्थलबाट १२७ आन्तरिक उडान भरी आइतबार १४८ यात्रुलाई उद्धार गरिएको छ।

यस्तै उनले खोप, स्वास्थ्य उपकरण तथा सामग्री वस्तुगत सहायतास्वरुप उपलब्ध गराइदिन चीन, जापान र गणतन्त्र कोरियाका नेपालस्थित दूतावासलाई समेत अनुरोध गरिएको जानकारी दिए।रासस

सोमबार, बैशाख २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!