
बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य राख्दै सभापति देउवाले संविधान र लोकतन्त्र सिद्धयाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गलत कदम चालेको आरोप लगाए।
आफूहरु संविधानमा भएको व्यवस्थालाई टेकेर राष्ट्रपति र अदालतसमक्ष गएकाले संविधान र संसदीय प्रणाली बचाउन अदालतले निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
‘प्रधानमन्त्रीले त संविधानको उल्लघंन गरे तर राष्ट्रिपतिले पनि किन गरेको ?, देशमा किन राजनीतिक संकट पैदा गरेको ?’ उनले प्रश्न पनि गरे।
राष्ट्रपतिको नयाँ सरकार गठनका लागि आह्रवान भएपछि आफूले संविधानअनुसार प्रतिनिधि सभामा रहेका सदस्यहरुको बहुमत पेश गरेको र अर्को पक्षले पनि दाबी गरेकाले अन्तराष्ट्रिय अभ्यास अनुसार छानविन नगरी सिधै अस्वीकार गर्नु गलत भएको उनको भनाइ छ।
‘बहुमत सदस्यको हस्ताक्षर मैले पेश गरेको हुँ, राष्ट्रपतिले छिमेकी मुलुकको र अन्तराष्ट्रिय अभ्यास पनि हेर्नु पथ्र्यो, हस्ताक्षर गर्नेहरुलाई बोलाउनु पथ्र्यो, त्यसो गरिएन,’ देउवाले भने ।
प्रधानमन्त्रीले भन्दैमा संसद विघटन गर्नु पनि गलत रहेको दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीले भन्दैमा राष्ट्रपतिले जे पनि गर्ने होइन, सिफारिस भएर आएका कुरामा छलफल गरेर निणर्य लिनुपर्छ।'
लोकतन्त्र बचाउन मिडियाको भूमिका पनि प्रभावकारी हुने भएकाले यो मनपरीतन्त्रका कारण लोकतन्त्रमा खतरा आएकाले यसबेला मिडियाले जनमत निर्माण गर्न देउवाको आग्रह थियो।
सभापति देउवाले महामारीका बेला सडक आन्दोलनमा नगइ अदालती प्रक्रियाबाट लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने धारणा राख्दै भने, ‘अदालतले संविधानमाथिको हस्तक्षेप रोक्न भूमिका खेलोस। हामी संविधान बचाउन र लोकतन्त्र जोगाउन कटिबद्ध छौं।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया