ठूलो झरी पर्‍यो कि पिरोलिन्छ बुटवल : तिनाउ जोडले सुसाउँदा लाग्दैन निद्रा !

बुटवलको बस्ती छेउ भएर बग्ने तिनाउ नदीमा मंगलबार भीषण बाढी आयो । 

बुटवलका स्थानीय बयोवृद्धहरूका अनुसार असारको शुरूआती दिनमै आएको यो बाढी ४० वर्षयताकै ठूलो हो । मंगलवारको बाढीले तिनाउमा २०३८ सालमा आएको ठूलो बाढीको झल्को दिएको थियो । 

०३८ सालमा बाढीले पूर्वपश्चिम राजमार्गको पक्की पुल बगायो । १०० घर बिहान उठ्दा बगरमा परिणत भएका थिए । २०० जनाभन्दा बढी मानिस बेपत्ता भए । 

१०० जनाभन्दा बढीको मृत्यु भयो । त्यतिबेला हजारौं हेक्टर धानखेत बगरमा परिणत भएको बुटवलका ८० वर्षीय वृद्ध रवीन्द्र गोपाल लाकौलले सम्झिए । त्यस्तै सोही साल पाल्पाको दोभानमा २८ घर बाढीले बगाएको थियो । 

तिनाउ तीब्र गतिमा बग्ने नदी मध्येमा पर्छ । सुकुम्बासीको नाममा तिनाउको बहाव क्षेत्र अतिक्रमण गरी १२ हजार घरटहरा बनेका छन् । तीमध्ये ५०/६० वटा घरमा मंगलवार बाढी पस्यो ।

तर संयोगवशः धनजनको ठूलो क्षति हुनबाट जोगियो । असुरक्षित क्षेत्रमा घरटहरा बन्ने क्रम नरोकिँदा पानी पर्‍यो कि बुटवलबासी तिनाउले वितण्डा मच्चाउँछ कि भनेर पिरोलिन्छन् ।

बुटवलको वरदान तिनाउ मानवीय अतिक्रमणमा परेर बेलाबेलामा अभिषाप बन्दै आएको छ । तिनाउमा बाढी आउन रूपन्देहीमा पानी पर्नु पर्दैन । पाल्पामा ठूलो पानी आए पुग्छ ।

प्रकाशित मिति: : 2021-06-17 14:25:00

प्रतिकृया दिनुहोस्