तपाईं पनि बन्ने कि सामाजिक अभियन्ता? 

पात्र नम्बर एक: जीवनमा उनले उत्पादनमूलक एउटा पनि काम गरेनन्।

दिनभरी तास खेल्नु, राती टिल्ल रक्सी पिएर घर फर्किनु र घर पुगेपछि होहल्ला गर्नु दिनचर्या नै थियो। उनको निधन भएको १३ औँ दिनमा सन्तानले दैनिक पत्रिकामा संवेदना छपाए– समाजसेवी फलानो ज्यूको निधन भएकोमा उहाँको बैकुण्ठबास होस् भनेर। बाचुञ्जेल समाजलाई दु:ख दिने यी जडिया मृत्युपश्चात समाजसेवी भएर निस्किए।

पात्र नम्बर दुई: उनको मुख्य पेशा नै घर भाडामा दिनुथियो। पर्यटकीय स्थान ठमेलको बाटोमा जोडिएको घर भएका कारण भाडामा लिन तछाडमछाड हुन्थ्यो। घर भाडाबापत महंगो रकम असुल्ने उनको अनेकन कचकच कसैले मनपर्ने विषय भएन।

एउटा वाक्य बोल्दा दुई पटक आमा चकारी गाली गर्ने यी घरधनीले आफ्नो बोलीका कारण पुरस्कार स्वरूप धेरै पटक कुटाइ खाइसकेका थिए। जब उनको मृत्युभयो परिवारले पत्रपत्रिकामा संवेदना प्रकाशित गर्दै उनलाई पनि समाजसेवीको कोटीमा राखे।

यी दुई नेपाली समाजको प्रतिनिधि पात्र मात्र हुन्। यिनीहरु त मरेपछि समाजसेवी भए। तर हाम्रो समाजमा यस्ता भिकमंगाहरु थुप्रै छन्, जो अरुसँग धन मागेर रातारात समाजसेवी भएका छन्।

सोह्रश्राद्धमा बचेको खीर र पुरी पशुपति बृद्धाश्रममा लगेर बाढ्ने, अरुसँग भिख मागेर क्रिकेट रङ्गशाला बनाउने, होहल्ला गर्ने, बाढीपिडितको नाममा सहयोग उठाएर आफ्ना कर्मचारीलाई तलब दिने जस्ता ‘ओभर नाइट’ र नक्कली ठग समाजसेवी धेरै देखिएको वा भोगिएको छ। उनीहरुले समाजको लागि के गरे? उनका सन्तानलाई त थाहा छैन भने, अरुलाई जानकारी हुने कुरै भएन।

अहिले नेपालमा नामको अगाडि सामाजिक अभियन्ताको फुर्को जोड्ने फेसन पनि खुब चर्चामा छ। काठमाडौँमा यस्ता थुप्रै ‘सेलिब्रेटी’ सामाजिक अभियन्ता छन्, जसको काम बिहान घरबाट खाना खाएर निस्कने र ठाउँ-ठाउँमा गएर धर्ना दिनु हो। धर्ना दिएपछि प्रहरीले दिनभरी राखेर बेलुका छोड्छ। त्यसपछि च्याउ उम्रे सरह एफएम, टेलिभिजन र युट्युबमा गएर अर्थ न बर्थको बकबक गर्ने उनीहरुको दिनचर्या नै हो।

आ–आफ्नो कामबाट अवकाश पाएका, जागिर फुस्केका, पद नपाएर सरकार बिरोधी भएका यी कथित सामाजिक अभियन्ताका ‘फ्यान’ पनि छन्। एक पूर्व पत्रकारले सडकमै पानीले निथ्रुक्क भिजेर सामाजिक अभियन्ता भएको तस्बिर सामाजिक सन्जालमा भाइरल भएको थियो। त्यस्तै युट्युबेले अर्थहीन भिडियो बनाउन प्रयोग गर्ने एकथरी निम्न स्तरीय सामाजिक अभियन्ता पनि छन्।

अमेरिकामा पनि आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने धेरै छन्। उसलाई खुशी बनाउन अरुले अनुमती बिना नै नामको अगाडि सामाजिक अभियन्ताको फुर्को जोड्ने चलन यहाँ पनि मौलाएको छ। हालै पंक्तिकारको एउटा मित्रले आफ्नो जेठानलाई उसको नामको अगाडी सामाजिक अभियन्ताको फुर्को जोडेको देखेर अच्चम लाग्यो।

यो सोचेर हाँसो पनि उठ्यो– ती कथित सामाजिक अभियन्ताको पगरी गुथ्ने मान्यबरले अमेरिकामा कति वटा पुल, चौतारो, धारा वा बाटोको निर्माण गरे, त्यो पंक्तिकारलाई मात्र होइन, अमेरिकामा बसोबास गर्ने कुनै नेपालीलाई पनि जानकारी छैन। आफ्नो श्रीमतीको दाईलाई दाई मात्र भने हुनेमा सामाजिक अभियन्ता लेख्न त्यी मित्र किन बाध्य भए त्यो नै रहस्यमय छ।

नेपाली समाजमा यतिबेला सामाजिक अभियन्ताको ओज यति तल गिरिसकेको छ। कुनै दिन नेपाली शब्दकोषमा सामाजिक अभियन्ताको अर्थ– अल्छे, ठग, काम केही नगर्ने, समाजिक सौहार्द्रता बिगार्ने, तुच्छ मानसिकता बोकेको, विभेद उन्मुलनको नाममा विभेदकारी राज्य स्थापनामा लागेको, विदेशी दलाल, विदेशी पैसाको आडमा नेपाली समाजको परम्परागत मूल्य–मान्यतालाई नष्ट गरी विदेशी एजेण्डा थोपर्ने चाटुकारको रुपमा परिभाषित भयो भने पंक्तिकारलाई अचम्म लाग्ने छैन।

अहिले नेपाली समाज म जस्तै दिग्भ्रमित छन्– आखिर यो सामाजिक अभियन्ताको पदवी कसले दिने हो? र यसको लागि के कस्तो योग्यताको आवश्यकता पर्दछ? यदी आफू खुशी लेख्न पाइने हो भने पंक्तिकारले पनि आफ्नो नामको अगाडी सामाजिक अभियन्ताको फुर्को जोडे भइहाल्यो नि।

त्यसैले मेरो विचारमा अब कसैले लेख प्रकाशित गर्दा, टेलिभिजनमा बोल्दा आफ्नो नामको अगाडी सामाजिक अभियन्ता लेख्न नबिर्सिउ। किनभने यतिबेला नेपालमा सामाजिक अभियन्ताको ‘फेसन’ चर्को छ। 


नेताहरुले देशका लागि के गरे ?


नेपाली समाजका तीन मानसिक अवस्था

प्रकाशित मिति: : 2021-07-02 09:59:00

प्रतिकृया दिनुहोस्