परिवर्तन मूलमा भयाे कि आवरणमा मात्र?

Breaknlinks
Breaknlinks

नेपालमा सामाजिक परिवर्तन घेरै भयो भनिन्छ, भएको पनि होला। तर के यो परिवर्तन मूलमा नै या आधारभूत रुपमा नै भएको हो कि आवरणमा मात्र। 'समाजले कस्ता सङ्केत, हाउभाउ, चिन्हहरु या शब्दहरू प्रयोग गर्छ' ले समाजको चरित्र सम्वेदनशील छ या विभेदकारी छ भन्ने आँकलन गर्न सकिन्छ।

म कलेज को विद्यार्थी हुँदा ०४६ सालको जनआन्दोलन भएको थियो। त्यति बेला हामी काठमाडौंबासीले 'मर्दाना' आन्दोलन गर्ने सकेनौँ भनेर किर्तिपुर वासीहरुले हामीलाई निचा देखाउन, हाम्रो मजाक उडाउन, चुरापोते 'उपहार' पठाएका थिए। 

त्यति बेलासम्म पनि कसैलाई गाली गर्न वा निचा देखाउन 'कस्तो आइमाई जस्तो' भन्दिनु या महिलाका चिन्ह या स्वभाव संग जोडिदिए पुग्थ्यो। आज अलि कम भएको छ 'आइमाई जस्तो' भन्ने मजाक र गाली। 

शायद् महिला अधिकारका विषयमा समाज साच्चिकै चेतनशील भएर हो या महिलामाथिको विभेदकारी कानून अपराध भएर हो या महिलाहरुको सशक्तीकरण भएर हो। 

त्यस्तैगरी, लामो समयदेखि अपाङ्गताका चिन्हहरुसँग जोडिदिएर कुनै सरकार, पार्टी, नेताहरुलाई या समान्य व्यक्तिलाई निचा देखाउने, गाली गर्ने वा मजाक गर्ने गरिन्थ्यो। त्यो चलन पनि निकै कम भएको छ हिजो आज। यसमा पनि सायद अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका विषयमा समाज साच्चिकै चेतनशील भएर हो या यस्तो विभेद कानूनत: अपराध भएर हो या यी समुदायहरुको शसक्तीकरण भएर हो, यकिनका साथ भन्न सकिन्न। 

त्यस्तै, लामो समयसम्म दलित समुदायको जात परिचयलाई 'उल्लेख या वाचन' गरेर अरु नेता या अन्य कसैलाई पनि निचा देखाउने, गाली गर्ने वा मजाक उडाउने गरिन्थ्यो। यो चलन पनि निकै कम भएको छ हिजो–आज। 

शायद दलित अधिकारका विषयमा समाज साच्चिकै चेतनशील भएर हो या दलितमाथिको विभेद कानूनत: अपराध भएर हो या दलित समुदायहरुको सशक्तीकरण भएर हो। मलाई लाग्छ– यी तीन कारणमध्ये पछिल्ला दुईटा कारणले काम गरेको हुनुपर्छ– यो गालि गलौज र मजाक कम हुनुमा। 

एक त, मजाक बनाए शसक्त प्रतिवाद गर्ने समुदाय छ। अर्को, विभेद गरे कानूनत: अपराध पनि हुने भएकाले महिला, अपाङ्गता भएका व्यक्तिहरु र दलितहरुलाई गाली गर्न, निचा देखाउन या मजाक बनाउन समाज दच्किएको मात्र हो, आधारभूत रुपमा नै परिवर्तन भएको नहुन पनि सक्छ। किनकि यो गहिरो जरा गाडेर बसेको विभेदकारी चेतनाले मौका अनुसार आवरण मात्र बदलेको हो।

त्यसैले त हिजोआज कुनै सरकार, नेताहरुलाई या पार्टीलाई या कुनै कलाकार या सामान्य व्यक्तिलाई निचा देखाउन, मजाक उडाउन या गाली गर्न उसले 'तेस्रो लिङ्गी, हिजडा, छक्का' जस्ता शब्दहरू प्रयोग गर्छ किनकि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई विभेद गरेमा कानूनले अपराध पनि मानेको छैन। र, प्रतिवाद गर्नसक्ने गरी खुलेर आउने यो समुदायका मानिसहरुको संख्या पनि कम छ, अधिकांश परिवार र समाजबाट हुने विभेदको डरले पहिचान लुकाएर बाँचेका छन्। 

अनि त सामाजिक सञ्जालदेखि, नेताहरुदेखि, केही पत्रकारसमेत, केही अधिकारकर्मीसमेत, सामान्य जनसमुदायका लागि पनि गाली गलौज र मजाकका लागि, रोजाइको समुदाय बनेको छ– 'यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय‌'। न सशक्त प्रतिवाद हुन्छ नत कानून ले अपराध नै मानेको छ। त्यसैले त यो चलन पछिल्ला वर्षहरूमा चिन्ताजनक रुपमा निकै बढेको छ (तेस्रो लिङ्गी, हिजडा, छक्का शब्दहरु अनलाइन खासगरी सामाजिक सञ्जालामा खोजी गर्नुभयो भने पाउनु हुन्छ कि ९९ प्रतिशत नकारात्मक टिप्पणी या मजाक या गालिका लागि प्रयोग भएका छन्)। तर 'हामीलाई त मजाक बनाउन छाडे' भनेर ढुक्क भएर नबस्नु होला, समाज आधारभूत रुपमा नै परिवर्तन भएको हैन, आवरण मात्र फेरेको हो।

जबसम्म समाजले कुनै न कुनै बहानामा अर्को मानिसमाथि विभेद गरिरहन्छ, तबसम्म समाज आमूल रूपमा परिवर्तन भएको छैन, समाज सहिष्णु बनेको छैन, समाज पूर्ण समानतामा विश्वास गर्ने भइसकेको छैन। समय र परिस्थितिअनुसार आवरण फेरेको मात्र हो। भोलि फेरि पुरानै आवरणमा फर्किन सक्छ या नयाँ–नयाँ आवरणमा आइरहन सक्छ। 'हाम्लाई हैन के रे, तेस्रो लिङ्गी हरुलाई त हो नि !' भनेर चूप लागेर नबस्नु होला। बरु बुझ्नु होला– यस्ता मजाक र गाली देखेर या सुनेर कि समाज आधारभूत रुपमा परिवर्तन हुन बाँकी नै छ। 

धन्यवाद !

(भिक्षु कश्यपको पुरानो नाउँ सुनीलबाबु पन्त हो। उनी पहिलो संविधानसभा सदस्य थिए।)

प्रकाशित मिति: : 2021-07-25 20:30:00

प्रतिकृया दिनुहोस्