तीजः एउटा घातक संस्कारको जन्जिर

Breaknlinks
Breaknlinks

सनातन हिन्दु धर्मदेखि परम्परागत रुपमा चल्दै आएको एक प्रचलन हो– हरितालिका तीज। जसलाई हिन्दु समुदायमा महिलाहरूको विशेष चाडपर्वका रूपमा मानिन्छ।

महिला हरेक समय एक भ्रममा बाँचिरहेका हुन्छन्। जाे परम्पराको नाममा एक पिजडामा कैद भइरहन्छन्। र आफ्नो हिसाबले त्यसलाई उपभोग गर्दछन्।

एक रात खाने खाना र एकदिन लगाएको पोशाक तथा श्रृङ्गारिक गरगहना र वस्त्रले महिलाकाे मुल्यांकन हुन्छ भने यो धर्म हैन, देखावटी प्रचलन मात्र हो।

महिलाहरूले आफ्नो श्रीमान र घरपरिवारको सुख शान्तिको लागि २४ घन्टा भोक-भोकै व्रत बस्दा तिम्रो धर्मले एक विशिष्ट धार्मिक नारीको स्वरुप भन्छ भने, त्यहीँ नारी महिनावारी हुँदा किन घरको चुलो र कुलमा बस्न हुँदैन त? 

नारीले जब आमा बनेर सम्पुर्ण जगतलाई खुसी दिन्छे, अनि त्यस्तो बेला किन उसलाई २२ दिनसम्म छुन हुन्न भन्ने प्रथा ल्याइयो? किन महिला घरको चुला अनि कुल बस्ने स्थानमा महिनाको २५ दिन मात्र पवित्र देवी अनि बाँकी ५ दिन अपवित्र मानिन्छ। त्यतिबेला तिमीलाई घरबाट पर राख्ने पनि त्यहीँ तिम्रो धार्मिक अन्धविश्वास हो, जसलाई साँघुरा चेत भएकाहरूले प्राथमिकता दिइरहेका छन्।

एक महिलालाई परिपक्व हुँदा अशुद्ध हुने, एक 'आमा' बन्ने अवसर पाउँदा अशुद्ध हुने हाे भने घरको लक्ष्मी तिमी कहिलेको लागि हौ?

उसो त महिलाहरूको यो पनि मनसाय हुनसक्छ, "आजको दिन श्रीमानको लागि भोकै व्रत बस्नु श्रीमानप्रतिको प्रेम हो।" पुरै वर्षभरी गरेको प्रेमलाई नबुझ्नु र आज एक दिन भोकै बसेर उसको गोडाको पानी खानु प्रेमको प्रमाण हो भने ढुक्क हौ यो प्रेम हैन, मात्र एक भ्रम हो।

पुरुषहरूको लागि महिला सधैँ एक उपभोगको साधन वा भनौ यौन तृप्तिको लागि बनाएको यौनाचार मात्र बनेर रहेका छन्, जसलाई हामीले कयौं वर्षदेखि देख्दै र भोग्दै आएका नै छौ। तीजको लागि श्रीमानले किनिदिएको महङ्गो साडी, महङ्गो गरगहना, महङ्गो शृङ्गारका सामानले हामी वर्षभरी दासजस्तो बनाएर चार दैलोभित्र बन्द हुन्छौ, अनि भन्छौ यो महिलाकाे विशेष चाडपर्व हो।

एउटा सत्य थाहै होला, मन्दिरमा चढाउन भनी मार्नको लागि लैजाने जनावरलाई पनि लगेर मार्नुअघि त्यसको पुजा गरिन्छ। अब त आँखा खोल, यो महिलालाई विशेष बनाउन हैन तिमी कमजोर छौ भन्ने आभासको लागि स्थापित गरिएको अर्को तालाबन्दी हो। वा भनौं तिम्रो मार्गको एक अर्को अप्ठ्यारो खुड्किला हो, जसलाई तिम्रो अघिल्लो वंशले पनि पार गर्न सकेको थिएन।

साच्चै भन्ने हो भने, तिमी विशेष कहिले थिइनौ। तिमी सधैँ एक रोबर्ट मात्र थियौ, जसको रिमोट विवाहअघि तिम्रो बुवाआमाको हातमा थियो र विवाह पछाडि श्रीमान र सासु-ससुराको हातमा हुन्छ।

महिलाहरूको यो भ्रम कहिले जान्छ ? हरेक पटक कमजोर हौ, दास हौ भन्ने संकेत गर्दा पनि त्यसलाई गर्व महसुस गर्दछन्। यदि कसैले केही बोल्ने वा सम्झाउने प्रयास गरे आफ्नै स्वतन्त्रताको विरुद्ध बोल्ने छन् तर आफ्नो आँखामा बाँधिएको दासत्वको पट्टि उनीहरु खोल्ने पक्षमा हुँदैनन्।

महिलाहरू आफुलाई इतिहास तथा अन्य धार्मिक शास्त्रहरूको गहिरो अध्ययन गरेर पनि आफुलाई यस्ता धार्मिक अन्धविश्वासमा होमिन दिन्छन् भने, उनीहरुले ईतिहास पढे तर इतिहासले आफुलाई बन्धक बनाएको गाथालाई अध्ययन गर्न छुटाएका हुन् भनी स्पष्ट देख्न सकिन्छ।

महिलाहरूले आफ्नो श्रीमानको लागि व्रत बस्दा, उसको गोडाको पानी खाँदा श्रीमानको आयु लामो हुन्छ भने कोही गएर त्यो विधुवालाई सोध, जसको `श्रीमान´ के व्रत नबसेकै कारणले उनलाई जीवनको बिच बाटोमा एक्लै छोडेर गएका हुन्? के उनले श्रीमानको गोडाको पानी खान छुटाएकी थिइन्? वा उनले विवाहअघि व्रत बस्दा भुलचुक गरेकी थिइन्? उनको व्रतमा सत्यता, धैर्यता, पवित्रता, धर्मप्रतिको विश्वास, भगवानप्रतिको आस्था कम थियो? जसको कारण उनी आधा उमेरको त्यो भर्भराउदो जवानीमा विधुवा भएकी हुन्।

महिलाहरूले समाजमा देखाउन कै लागि भए पनि आफूलाई त्यो संस्कारबाट मुक्त हुन दिदैनन्। जबकि उनले जन्मिएदेखि आफ्नो मृत्युसम्म अरुको इसारामा चल्नु पर्दछ।

अझ खासगरी अविवाहित महिलाहरूसमेत विवाहको लागि एक असल पुरुष पाउ भन्दै व्रत बस्ने र मन्दिर गएर पुजा गर्ने गर्छन्।

यसलाई कस्तो रुपमा लिने? समाजले फिजाएको अन्धविश्वासको दुर्गन्धता वा सोझोपन, जसलाई अझै स्पष्ट बुझ्न सकेका छैनन्। अझ यो भनौ, बुझ्न दिइएको छैन। किनकी उनीहरू आफ्नो परम्परालाई प्राथमिकता दिन चाहन्छन्।

विवाहपछि कस्तो व्यक्ति पाउने त्यो भगवानको हातमा हैन, त्यो तिम्रो स्वतन्त्रताको कुरा हो। जसको लागि तिमी यो धर्मको अन्धकारबाट बाहिर आउन आवश्यक छ। कूसंस्कारलाई प्राथमिकता दिँदा हैन, कूसंस्कारको जन्जिरलाई तोड्न सके मात्र हरकाेही स्वतन्त्र व्यक्ति बन्नेछ।

प्रकाशित मिति: : 2021-09-09 18:53:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ