पदमार्गका व्यावसायीलाई पर्यटककाे स्वागत गर्न भ्याईनभ्याई [तस्वीरहरू]

Breaknlinks
Breaknlinks

अढाई वर्ष लामो बन्दाबन्दीपछि भर्खरै मात्रै खुल्न छन् पदमार्गहरू। पदयात्राकाे लागि हिउँदकाे समय उचित मानिन्छ। लामो समयसम्म घरभित्रै थुनिएर बसेकाहरु निश्फिक्री भएर घुम्न निस्केका छन्। विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्पाम्पमा यतिबेला घुम्न निस्किनेहरुको घुँइचो छ।

दसैं तिहार बिदामा अन्नपूर्ण घुम्न आएकाहरुलाई स्वागत गर्न व्यवसायीलाई भ्याईनभ्याई छ। ‘अहिले पाहुनाहरु राम्रै आईरहेका छन्। पहिलाको जस्तो त के हुन्थ्यो ?’ एक्सेलेन्ट भ्यू टपका सञ्चालक मिकास गुरुङले भने,‘त्यही पनि यति लामो समयसम्म बन्द भएका बेला यसलाई पनि राम्रै भन्नुपर्छ।’

अरु समयमा मौसमको ठेगान नहुने। असोज कात्तिकमा मौसम पनि राम्रो खुल्ने हुनाले पदयात्रीहरु यो समयमा घुम्न रुचाउँछन्। मौसम सफा चट्ट भएर खुल्ने याम भए पनि एक हप्ताअघि आएको बेमौसमी वर्षाले केही असर पारेको थियो। तर, यात्रामा निस्किएकाहरू झरिमा रुझ्दै पदयात्रामा उक्लिए।

‘झरिमा रुझ्दै भए पनि पाहुनाहरु आउनु भएको छ। हामीलाई त पाहुनाहरुलाई स्वागत गर्नैै भ्याईनभ्याई छ,’ फिस्टेल लज एण्ड रेष्टुरेन्टका सञ्चालक दिलिप गुरुङले भने। गुरुङ छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव समेत हुन्।

कोरोनाले थलिएको पर्यटनलाई पदयात्रामा निस्केका पदयात्री देखेर छिट्टै माथि उठ्ने गुरुङको विश्वास छ। पछिल्लो केही समय यता पदयात्रामा नेपाली पर्यटकहरु पनि ठूलो मात्रामा निस्किन थालेका छन्। नेपालीहरुको पदयात्रामा चाखलाग्दो उपस्थिति देखेर व्यवसायीहरु व्यवसाय उकासिनेमा विश्वस्त छन्।

‘दुई वर्षसम्म पाहुनाहरु नै आएन। हामीले गाउँमै खेतिपाती गरेर बस्यौं। अब पाहुनाहरु आउन थालेको छन्। अब विस्तारै पर्यटन माथि उठ्ला,’ अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक जगनरास गुरुङले भने।

पदमार्गका अधिकांश व्यवसायीले कोरोना भाइरस विरुद्धको खोप लगाईसकेका छन्। पदमार्गका डेढ सय बढी व्यवसायीले वडा र छोम्रोङ पर्यटन व्यवसायी समितिको पहलमा पहिलो मात्राको खोप लगाईसकेका छन्। पदयात्रामा निस्किनेहरुले समेत खोप लगाईसकेको हुनाले सहज रुपमा पहिले जसरी नै व्यवसायी गर्न पाइनेमा व्यवसायी आशावादी छन्।

पहिलो लहरको लकडाउन खुकुलो भएसँगै पदमार्ग क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर होटल सुचारु गरेका थिए। स्वास्थ्य सामग्रीको जोहो गरेर व्यवसाय पुनः सञ्चालनमा ल्याए पनि दोस्रो लहर आएसँगै व्यवसाय पुनः ठप्प हुन पुगेको थियो।

‘व्यवसाय सञ्चालन गर्न भनेर समितिको पहलमा स्वास्थ्य सामग्रीहरु ल्याएका पनि थियौं। प्रत्येक लजमा एक–एक वटा टेम्पेचर गन (शरीरकाे तापक्रम नापन्ने यन्त्र) पनि ल्याएका थियौं। मास्क, सेनिटाइजरहरु सबैथोक व्यवस्था गरेका थियौं,’ छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव गुरुङले भने, ‘सबै व्यवस्था गरेर सञ्चालन मात्रै गरेका थियौं। दोस्रो लहर सुरु भयो।’

अहिले पदयात्रामा निस्किने अधिकांश पदयात्री स्वदेशी नै छन्। भिषा, कोभिड विरुद्धको भ्याक्सिनको झंझट भएकाले पनि बाह्य मुलुकका पर्यटक आउन नसकेको व्यवसायीहरु बताउँछन्।

१२ वर्षदेखि अन्नपूर्ण पदमार्ग क्षेत्रमा पथप्रदर्शकको काम गरिरहेका दिपक भट्ट पर्यटनसम्बद्ध व्यवसायबारे सरकारको स्पष्ट नीति नआउँदा पनि बाह्य मुलुकबाट पर्यटक आउन नसकेको बताउँछन्। पर्यटकहरु आउन चाहे पनि क्वारेन्टाइन बस्नुपर्ने लगायतका झन्झटिलो प्रक्रियाले पर्यटक आउन नसकेको उनले बताए।

दोस्रो चरणको लकडाउन खुकुलो भएपछि असोज ५ गतेदेखि अन्नपूर्ण पदमार्ग पदयात्रीका लागि खुला भएको थियो। असोज पहिलो सातादेखि पदमार्ग खुलेसँगै अन्नपूर्णमा २ हजार बढी पर्यटक पुगेको छोम्रोङ पर्यटन चोक पोष्ट् तथा इन्फर्मेसन सेन्टरको तथ्यांक छ। चेक पोष्ट्का इन्चार्ज नेत्र शर्माका अनुसार असोज ५ गते पदयात्रा खुलेपछि २ हजार बढी पदयात्री एबीसी उक्लेका छन्। ‘सार्क मुलुक र बाह्य मुलुकका गरी २ सय बढी पदयात्री इन भएका छन्। लकडाउनपछि बाह्य मुलुकको तुलनामा नेपाली पदयात्रीको भीडभाड बढेको छ,’ उनले भने।

लकडाउन अघिको तुलनामा यो संख्या निकै कम हो। यो सिजनमा दैनिक ४ सय बढी विदेशी नागरिक भित्रिने गरेको एक्यापको तथ्यांक छ। सन् २०१८ को अक्टोबरमा ४ सय जना बाह्य मुलुकका पदयात्री एबीसी उक्लिएको शर्माले सुनाए। ‘अहिले बाह्य मुलुकभन्दा स्वदेशी पर्यटक धेरै छन्,’ उनले भने।

प्रकाशित मिति: : 2021-10-28 06:32:00

प्रतिकृया दिनुहोस्