गजेन्द्र बोहरा
शेरबहादुर देउवाको तस्बिर बोकेर भोट माग्न हिँडेका नै नैनसिंह महरलाई भगेश्वर गाउँपालिकाका एकजना ‘बुढा मान्छे’ले देउडाका आहान सुनाउँदै थिए,
तल्लागाउँ बैरन गैछ मल्ला गाउँको कालो
देउवाजीले बसिदियो नैनसिंहजीको पालो…
रेल गयो बम्बैकी तिर मोटर गयो बबै
देउवाजीले बसिदियो निराश भया सबै…
...
डलेल्धुराको गन्यापधुरा गाउँपालिका असिग्राम उच्चमावि मतदान केन्द्रमा रहेका मतदातामध्ये ११६६ देखि ११७५ सम्म ‘शेरबहादुर देउवा’को नाम छ। यो लामो ‘देउवा’ श्रृङ्खलामा ११७१ नम्बरका शेरबहादुर देउवा भने एउटा यस्तो नाम हो जो नेपाली राजनीतिमा कहिल्यै दोस्रो नम्बरमा आएन।
तर राजनीतिको त्यहि एउटा नियति देउवाको राजनीतिक जीवनमा यसरी बज्रपात बन्यो कि सायद अब उनको नाम नेपाली राजनीतिका पानाहरूमा फेरि कहिल्यै दोहोरिने छैन।
त्यही स्कुलछेऊमा रहेको रूवा खोलाको पारितिर रहेको देउवाको पुर्ख्यौली घर युद्धका बेला माओवादीले ‘उडाइ’दिएका थिए। त्यसयता देउवा आफ्नो गाउँ जाने भनेको लगभग चुनावका बेलामात्रै हो। उनको घर पुग्नका लागि मोटरबाटो छैन। देउवा जाने बेलामा कहिलेकाहिँ डोजर लाग्छ। घरमै पुग्नका लागि त त्यही रूवाखोलामा हालेको झोलुङ्गे पुलबाटै हो।
डोटी-डडेल्धुराबाट बिपीले खोजिल्याएका द्वारिकादेवी ठकुरानीदेखि भिमदत्त पन्त, एनडी चटौत र शेरबहादुर देउवाको विरासतसम्ममा डडेल्धुरा नेपाली राजनीतिमा कहिल्यै नछुट्ने एउटा जिल्ला हो।
डलेल्धुराको असिग्राम गाउँपालिका-१ रूवाखोलामा जन्मिएका देउवा जहिले पनि सत्ता र शक्तिकै वरिपरि रहिरहे। देशको राजनीति सधैं उनकै वरिपरि घुमिरह्यो। जीवनकालको एउटा खण्ड थियो जहाँ उनी पार्टीको राजनीति वरिपरि थिए, त्यसपछिका दिनमा उनकै वरिपरि पार्टीको राजनीति घुमिरह्यो।
गाउँको चुनावमा कांग्रेसले कहिल्यै हारेको छैन। आफूले उम्मेदवारी दिएको क्षेत्रबाट देउवाले पनि कहिल्यै हारेनन्। अर्थात् डडेल्धुराले उनलाई कहिल्यै हार्न दिएन। कुनै बेला उनले डडेल्धुरा र कैलालीबाट पनि जिते। डोटीसँग त उनको जन्मजात साइनो नै छ। उनका गाउँले र आफन्तहरूलाई कहिल्यै लाग्दैनथ्यो लाग्दैन, शेरबहादुर देउवा कहिल्यै पनि सत्ता र शक्तिबाट टाढा रहेनन्। जीवनमा ठोक्किन आउने राजनीतिक समय होस् वा जिन्दगीको स्वभाविक यात्रा देउवाका हरेक सफलतासँगै कुनै न कुनै संयोगान्तहरू गाँसिएका छन्।
बहुदलीय व्यवस्थापछि डडेल्धुरामात्रै होइन सिङ्गो सुदूरपश्चिमको राजनीतिलाई सिंहदरबारसम्म जोड्ने जसरी एउटा अविराम मियो बनेका थिए शेरबहादुर देउवा, सायद अबको राजनीतिमा देउवाका विरासतहरूमा बिराम लाग्नेछ।
र, त्यसैलाई थाम्ने प्रयास गर्दैछन् युवा नेता नयनसिंह महरले। जो देउवाको राजनीतिका कैयौ आयामहरूको साक्षी बनेको डडेल्धुरामा चुनाव लडिरहेका छन्।
देउवा जीवनमा राजनीतिका संयोगहरू
देउवाले अक्षर सिकेको तत्कालीन असिग्राम प्राथमिक विद्यालय अहिले ‘उच्च माध्यमिक’ भइसकेको छ। देउवाको मतदान केन्द्र पनि यही स्कुल हो। उनको घर र यो स्कुल त्यही रूवा खोला वारिपारि छन्। डोटीको सीताराम माविबाट एसएलसी दिइसकेपछि काठमाडौं छिरेका देउवा राजनीतिको एउटा यस्तो केन्द्रमा ठोक्किए, त्यसपछि उनी कहिल्यै पनि ‘असफल’ हुनुपरेन।
राजा त्रिभुवनले ‘फर्काइदिएको’ प्रजातन्त्र २०१७ सालमा महेन्द्रले खोसे। पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई जेल हाले। दलहरू लुकेर बसे। पञ्चहरू सल्बलाउन थाल्यो। विपीलाई जेल हालेपछि सल्किएको आन्दोलनको आगो दन्किरहेको थियो देशैभरि। स्कुले विद्यार्थीदेखि क्याम्पस पढ्ने तन्नेरीहरू सबै सडकमै थिए। पढ्नका लागि काठमाडौं छिरेका देउवा पनि त्यही ‘तन्तेरी’ थिए र उनका आदर्श विपी थिए।
२०२८ सालमा देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष भइसकेका थिए। त्यो बेलासम्म केन्द्रीय सदस्य रहेका देउवा नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुन्। पञ्चायतविरूद्ध दन्किरहेको त्यो आगो फुक्ने एउटा मुख्य शक्ति तिनै विद्यार्थी संगठनहरू नै थिए। विपी, गिरिजाप्रसादहरू भारतमा निर्वासित थिए तर देउवा नेपालमै बसे। पञ्चहरूले पटक-पटक जेल हाले तर उनले सडक छोडेनन्। विद्यार्थी आन्दोलनमा होमिएका त्यही तन्नेरीको हुलबाट तानेर विपीले देउवालाई त्यो बेला सुदूरपश्चिम पठाए, पार्टीको संगठन हेर्न। देउवाको राजनीतिक जीवनमा परेको थियो विपीको ‘नजर-संयोग’ थियो।
त्यो बेला भारतको बाटो हुँदै आफ्नो जिल्ला डडेल्धुरा र डोटीलगायतका जिल्लाहरूमा पुगेर देउवाले कांग्रेसको संगठन बनाएका थिए। त्यसैले पनि उनी विपीको नजरमा परिरहे। २०३६ सालको जनमत संग्रहका बेला पनि उनी विपीसँग देशैभरिका सभाहरूमा हिँडेका थिए। त्यही बेला धनगढीमा भएको एउटा सभामा विपीले ‘अब देशकै नेता’ भनेर देउवालाई चिनाइदिए। विपीपछि उनी गिरिजाप्रासद कोइरालासँग पनि उत्तिकै शक्तिशाली रहेर बसे।
आन्दोलनमा होमिएको, जल्दोबल्दो देउवा त्यो बेला सबै नेताहरूको ‘नजर’मै थिए। पञ्चायत विरोधी आन्दोलन चर्किरहँदा देउवाको अनुहारमा राजनीतिक भविष्य देखेका कृष्णप्रसाद भट्टराईलाई लाग्यो- दरबार र पञ्चहरूले देउवालाई भड्काएर आफैतिर तान्छन् कि!
कृष्णप्रसाद भट्टराईले देउवालाई बेलायत पढ्न पठाए। त्यो बेला भट्टराई कांग्रेसका कार्यबाहक सभापति थिए। २०४६मा आन्दोलनको अन्तिम आगो सल्किसकेको थियो त्यो बेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा पढ्दै थिए। २०४८मा निर्वाचन घोषणा हुनुभन्दा अघि नेपाल फर्किएका देउवा सिधै पार्टी राजनीतिमै जोडिए। २०४८ मा डडेल्धुरा चुनाव लड्न गए। उनकै सिफारिसमा टिकट पाएका सुदूरपश्चिमका धेरै उम्मेदवारहरूले पनि चुनाव जिते। त्यो जितको श्रेय देउवालाई नै गयो। देउवाको भाउ पार्टीभित्र त्यसै त्यसै बढिरहेको थियो।
त्यही चुनावपछि बनेको गिरिजाप्रसाद नेतृत्वको सरकारमा ४४ वर्षीय देउवा पहिलोपटक गृहमन्त्री बने। उनको राजनीतिक जीवनको यो पहिलो सबैभन्दा ठूलो संयोग र सफलता थियो।
सरकारले पेश गरेको ‘नीति तथा कार्यक्रम’ संसदमा पास नभएपछि २०५१ साल असार २६ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरे। त्यसपछि मध्यावधि निर्वाचन भयो। त्यो चुनावपछि एमालेले अल्पमतको सरकार बनायो। त्यो बेला शेरबहादुर देउवा प्रमुखप्रतिपक्षी दलको नेता थिए। मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकार २०५२ सालमा ढल्यो। शेरबहादुर देउवा प्रधानमन्त्री भए।
त्यो बेला बनेको संयुक्त सरकारमा पञ्चहरूको पार्टी राप्रपा पनि सामेल थियो। ‘सुरा-सुन्दरी’ रातो पासपोर्टलगायतका काण्डहरूले देउवा निकै आलोचित भए। त्यो मन्त्रीपरिषद ५२ सदस्यीय थियो। इतिहासको ‘जम्बो’ मन्त्रिमण्डल बनाउने प्रधानमन्त्रीका रूपमा पनि देउवाको नाम छ।
२०५४ सालको स्थानीय निर्वाचनसम्म आइपुग्दा नेपाली कांग्रेस लगभग देशबाटै बढारिने अवस्थामा पुग्यो। देशभरि एमालेको लहर चल्यो। कांग्रेसले २५ प्रतिशतमात्रै जित्यो। कांग्रेस डुब्दै थियो, देउवा उत्रिंदै थिए।
कोइरालाहरूसँग लड्दैभिड्दै पार्टी नेतृत्वसम्म
नेपाली राजनीतिक इतिहासमा ‘कोइराला परिवार’ एउटा कहिल्यै नमेटिने खानदानी नाम हो। नेपाली कांग्रेसको गर्भरचनादेखि नै जोडिएका विपी अनि गिरिजाप्रसादहरू अहिले पनि राजनीतिक इतिहाससँग गाँसिइरहने नाम हुन्।
पश्चिम पहाडको एउटा धनी परिवारमा जन्मिएका देउवाका आफन्त कुनैबेला प्रधानपञ्चसम्म थिए। तर बहुदलपछिको राजनीतिमा आएका शेरबहादुर देउवामात्रै त्यो खानदानका एउटामात्रै त्यस्तो व्यक्ति हुन् जो कुलकै ‘भाग्यमानी’ सन्तान मानिन्छन्।
नेपाली कांग्रेसभित्र देउवाको लडाईं कोइरालासँगै थियो। कोइरालाहरू राजनीतिको एउटा पारिवारिक विरासत बोकेर आएका थिए। तर देउवासँग त्यस्तो केही थिएन। आन्दोलनकै बेला नेपाली कांग्रेसमा जोडिएका उनी नजाँनिदो तरिकाले भित्रभित्र ‘नेता’ भइसकेका थिए।
२०५८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई नसोधेर माओवादीविरद्ध ‘सेना परिचालन’ गरेको भन्दै राजा ज्ञानेन्द्रले गिरिजाको राजीनामा मागे।
अनि २०५८ साउनमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरे। त्यही वर्षको मंसिर ८ गते माओवादीले दाङको घोराही ब्यारेक लगायत देशका धेरै प्रहरी चौकीहरूमा एकैपटक आक्रमण गर्यो। त्यसको तीनदिनपछि देउवा सरकारले संकटकाल घोषणा गर्यो। देशभरि सेना परिचालन भयो। फेरि संकटकाल थप्ने बेला भइसकेको थियो। कांग्रेसभित्र र अरू दलहरूले पनि देउवाको आलोचन गरिरहेका थिए। संसदमा देउवाविरूद्ध अविस्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको थियो। त्यही बेला २०५९ साल जेठ ८ गते प्रधानमन्त्री देउवाले संसद विघटन गर्न राजालाई सिफारिस गरे।
त्यही निहुँमा नेपाली कांग्रेसले देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निकालिदियो। पार्टी सभापति गिरिजाप्रसाद कोइराला नै थिए।
देउवा समूह रुष्ट भयो। कोराइला समूहका केही नेताहरूले पनि देउवालाई नै समर्थन गरे। तीमध्ये एक थिए रामचन्द्र पौडेल।
आफ्नो कारबाही फिर्ताका लागि कोइरालालाई दबाब दिनका लागि देउवाले आफ्ना समूहका नेता कार्यकर्ताको एउटा भेला बोलाए। रामचन्द्र पौडेलले पनि देउवालाई ‘तपाईंमाथि अन्याय भयो। अब धेरै अत्याचार सहेर बस्न हुन्न’ भनेका थिए। पौडेलले नै अलग पार्टी बनाउने सल्लाह दिए र आफू नै त्यसको सभापति हुन राजी भए।
देउवाकै सम्झनामा, अर्को दिन पार्टी दर्ता गर्ने निर्णय भयो। उनका सबै समूहका नेता कार्यकर्ता भेला भए। भेलाले सभापति बनाउका लागि रामचन्द्र पौडेललाई कुरिरह्यो। तर दुई बजेसम्म पनि पौडेल आएनन्। सम्पर्कविहीन भए। साँझ पाँच बजेसम्म पार्टी दर्ता गरिसक्नुपर्ने थियो।
पौडेललाई कुर्दा कुर्दा थाकेका कार्यकर्ताले देउवालाई नै माला लगाइदिए। त्यसैले देउवा भन्छन्-‘त्यो माला त रामचन्द्र जीको थियो। मैले उहाँको माला लगाएँ। मैले पार्टी फोडेको होइन।
त्यसपछि नेपाली कांग्रेस प्रजातान्त्रिक बन्यो। देउवा त्यसको सभापति भए। उनीसँगै आएका पौडेलहरूले साथ दिएनन्। अरू नेताहरू पनि फर्किए।
त्यसपछि पनि देउवा प्रधानमन्त्री भए। ‘गोर्खाली राजाबाट न्याय पाइयो’ भने। ‘प्रतिगमन आधा सच्चियो’ भन्दै माधव नेपाल नेतृत्वको एमाले पनि सरकारमा सामेल भयो। पछि चुनाव गराउन नसकेर ‘अक्षम’ घोषणा गर्दै ज्ञानेन्द्रले देउवालाई निकालिदिए। आफै मन्त्रिपरिषदको अध्यक्ष बनेर पूर्वपञ्चहरूलाई सरकारमा ल्याए।
त्यसपछि सडक आन्दोलन सुरू भयो। देउवाको पार्टी पनि विस्तारै त्यसमा सहभागी भयो। माओवादी पनि शान्तिपूर्ण राजनीतिमा आयो। २०६४ सालमा पहिलो संविधानसभाको चुनाव हुँदै गर्दा गिरिजाप्रसाद कोइराला र देउवाले फेरि पार्टी एकीकरण गरे।
एउटै पार्टीमा हुँदा पनि देउवाले त्यो बेला गिरिजाप्रसादलाई पटक-पटक टक्कर दिइरहे। पार्टीमा पनि सरकारमा पनि।
२०५७ साल माघमा पोखरामा भएको १०औं महाधिवेशनमा पनि देउवाले गिरिजालाई चुनौती दिए। तर जित्न सकेनन्। गिरिजा नै सभापति भए। सुशील कोइराला महामन्त्री भए। गोविन्दराज जोशी सहमहामन्त्री अनि महन्थ ठाकुर कोषाध्यक्ष भए। अब कोइरालाहरू छैनन्। ठाकुर पनि पार्टीमा छैनन्।
त्यसपछि देउवाले फेरि २०६७ साल असोजमा भएको १२ औं महाधिवेशनमा पनि अर्को प्रयास गरे। यो बेला पनि शुसील कोइरालालाई उनले जित्न सकेनन्।
२०७२ सालको फागुनमा भएको १३औं महाधिवेशनमा बल्ल देउवा पार्टीको नेतृत्वमा आए। उनीसँग रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भिडे। तर कसैको पनि बहुमत आएन। दोस्रो चरणको निर्वाचनमा पौडेलसँग प्रतिष्पर्धा भयो। देउवाले जिते। कांग्रेसमा अब उनी एकलौटी शक्तिबाहक बने।
डडेल्धुराको एउटा गाउँबाट काठमाडौं छिरेका देउवा अहिले आफ्नो जीवनकालमा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन्। पार्टीभित्रै र आफ्नै खलकमा पनि सबैभन्दा ‘भाग्यमानी’ सन्तानका रुपमा चिनिने देउवाको राजनीतिक यात्रा अबिराम र अपराजित रह्यो। पार्टीमा केही हन्डर खाए तथापि राजनीतिमा उनी सधै ‘शक्ति’मै रहे।
१४औं महाधिवेशनको संयोग
१४औं महाधिवेशनको माहोल अलि फरक थियो। ४० वर्षदेखि अविचलित भएर देउवाका ‘भर’ बनेका विमलेन्द्र निधिले उनकै विरुद्ध उम्मेदवारी घोषणा गरिसकेका थिए।
देउवाबाहेकको समूहमा रहेका गणेशमान पुत्र प्रकाशमान सिंहले पनि उम्मेदवारी घोषणा गरेर आफ्नो तयारीमै थिए। रामचन्द्र पौडेल र कोइरालाहरू अन्तिम समयसम्म पनि ‘साझा’ उम्मेदवार बनाउने तरखरमा थिए। उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा आएर रामचन्द्र पौडेलले ‘प्रतिष्पर्धा’बाट बाहिरिने घोषणा गरे।
एउटा समूहले शेखर कोइरालालाई सभापतिका रूपमा अघि सारे। उनकै नेतृत्वमा ‘कोइराला प्यानल’ बन्यो। तर त्यहाँ कोइराला समूहकै सुजाता थिइनन्। उनी प्रकाशमान सिंहको समूहमा गइन्। कोइरालाहरू परिवारका ‘वफादार’ मानिने कृष्णप्रसाद सिटौलाले १३ औं महाधिवेशनदेखि नै आफ्नो समूह बनाउन सुरू गरिसकेका थिए। यसपालि भने सुरूमै उनले देउवालाई साथ दिए।
१४ औं महाधिवेशनमा सभापतिहरूको अन्तिम परिणाममा देउवाले २२५८ मत पाए। कांग्रेसको विधानअनुसार जित्नका लागि उनलाई ८२ मत पुगेन। ५१ प्रतिशत मत नभएपछि उनले जित्न सकेनन्।
‘कुनै पनि हालतमा देउवालाई जित्न नदिने र दोस्रो चरणमा पनि उनलाई समर्थन नगर्ने’ घोषणा गरेका निधिले पनि देउवालाई नै सघाउने घोषणा गरे। देउवा आफै सिंह र निधिलाई भेट्न पुगेका थिए। ४० वर्ष सँगसँगै अघि बढेका निधि फेरि देउवा जितको सारथी बने।
पुस्तान्तरणको चर्का आवाजहरूले घेरिइसकेको नेपाली काँग्रेसभित्र देउवाका लागि यो ‘अन्तिम’ मौका थियो। त्यसैले यो उनको जीवनमा राजनीतिकभन्दा धेरै ‘प्रतिष्ठा’को लडाईं थियो। जसरी पनि जित्नैपर्ने दबाबमा रहेका देउवा यो जितका लागि कुनै पनि मूल्य चुकाउन तयार थिए। यस्ता संयोगहरूले देउवालाई सधैं सत्ता र शक्तिका वरिपरि नै लगेका छन्।
देउवा जीवनकी आरजु
घरपरिवारले शेरबहादुर देउवासँग बिहे गर्न धेरै कर गरेपछि त्यो बेला आरजु राणाले एउटा शर्त तेर्स्याइन्- ‘बिहे गरेर म गृहणी भएर बस्न सक्दिनँ। तर अरू व्यवस्थापनचाहिँ गर्नसक्छु।’
त्यो २०४९ सालतिरको कुरा थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरबहादुर देउवा गृहमन्त्री भइसकेका थिए। देउवाले भने आरजुको त्यो प्रस्ताव सजिलै स्वीकार गरिदिए।
दुई वर्षअघि देउवाले गरेको प्रस्ताव त्यसपछि बिहेमा परिणत भयो।
भनेजस्तै भो!
आरजु कहिलै गृहणी अनि देउवाकी ‘पत्नी’ मात्रै बनेर ‘गुमनाम’ भइनन्।
२०५२ सालमा शेरबहादुर देउवा पहिलोपल्ट प्रधानमन्त्री भए। आरजुले आफू काम गर्दै आएको आइएनजिओको जागिर छोडिनन्। त्यसपछि पनि उनले केही एनजिओहरूको नेतृत्वमा रहिन्। महिला र बालबालिकाको क्षेत्रमा काम गरिन्। तर, ती पाइला विस्तारै राजनीतितिर बढ्दै गए। अन्तत: उनी २०५३ सालदेखि नेपाली कांग्रेसमा सक्रिय भइन् र शेरबहादुरका राजनीतिक पदचाप पछ्याइन्।
र, ती पदचापहरू देउवाको राजनीतिक जीवनमा यति धेरै शक्त्तिशाली भए कि ‘आरजु देउवा’ नेपाली कांग्रेसभित्रको अर्को एउटा ‘महाशक्ति’ बन्यो।
नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङले जुराइदिएको त्यो लगनगाँठो आरजुको राजनीतिक जीवनका लागि एउटा ‘कोशेढुङ्गो’ भइदियो।
जुद्ध समशेर राणा खलकमा हुर्के बढेकी आरजुकी आमा प्रतिभा राणा पनि त्यो बेला राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की नेता थिइन्। प्रतिभाको घरमा राजदूत जुलियाको आउजाउ निकै बाक्लो थियो।
र, आरजुको बिहेका लागि उनले नै चाँजोपाँचो मिलाइदिइन्।
सन् १९६२को जनवरी २६मा जन्मिएकी आरजुले काठमाडौंकै सेन्टमेरिज स्कुलमा पढेकी हुन्। उच्च शिक्षा भने उनले भारतबाटै गरिन्। भारतको पञ्जाव विश्वविद्यालयबाटै उनले ‘मनोविज्ञान’मा पिएचडी गरिन्। त्यसपछि उनले एउटा आइएनजिओ(आइयुसिएन)काम गर्थिन्। त्यही बेला उनको शेरबहादुर देउवासँग भेट भयो।
राणा खानदान अनि शिक्षित। उनी आफैमा एक ‘शक्तिशाली’ महिला त हुन् नै। जीवनको यो लगनगाँठो आरजुका लागि मात्रै होइन, देउवाको राजनीतिक जीवनमा पनि धेरै ‘फलिफाप’ भयो।
डडेल्धुराको एउटा गाउँबाट काठमाडौं छिरेका देउवा अहिले आफ्नो जीवनकालमा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन्। पार्टीभित्रै र आफ्नै खलकमा पनि सबैभन्दा ‘भाग्यमानी’ सन्तानका रुपमा चिनिने देउवाको राजनीतिक यात्रा अबिराम अपराजित रह्यो।
देउवाको यो अविराम अनि अपराजित सफलताको जस भने आरजुले राम्रैसँग लिन सकिन्। २०६१ सालमा कांग्रेस महाधिवेशन सदस्य भएपछि उनका राजनीतिक पाइला अझै दरिला भए। २०६४ र २०७० को दोस्रो संविधानसभामा दुईपटक नै उनी कांग्रेसका तर्फबाट समानुपातिक सांसद भइन्।
२०७४ सालको आम निर्वाचनमा त उनका लागि देउवाले कैलालीको चुनावी क्षेत्र नै छोडिदिए। त्यसअघि कैलालीको त्यही ठाउँबाट शेरबहादुर देउवा नै लडेका थिए। उनी त्यो बेला डडेल्धुराबाट पनि चुनाव लडेका थिए। दुबै ठाउँबाट जितेपछि उनले कैलाली भने छोडे।
शेरबहादुरको अपराजित चुनावी पाइला पछ्याउँदै गएकी आरजुले त्यो चुनाव भने जित्न सकिनन्। पार्टीभित्रैको असन्तुष्टि अनि एमाले र माओवादी गठबन्धन उनका लागि निकै भारी पर्यो। नेकपाको त्यो गठबन्धनबाट उम्मेदवार भएका नारदमुनि राना थारू २७ हजार २ सय २ मत ल्याएर चुनाव जिते। आरजुले २२ हजार ३ सय २२ मत ल्याइन्।
उनकै पार्टीका स्थानीय नेता-कार्यकर्ताले ‘टुरिष्ट क्यान्डिडेट’ अर्थात् ‘पर्यटक उम्मेदवार’ भनेर आलोचना गरेपछि आरजुले कैलालीको धनगढीमा ३ करोडमा एउटा घर नै किनिदिइन्। उनलाई देखाउनु-थियो म पनि यहीँको वासिन्दा हुँ। तै पनि उनको चुनावी यात्रा सफल हुन सकेन।
आरजुमात्रै होइन, पराजित भएको त्यो चुनावी परिणाम शेरबहादुर देउवाको राजनीतिक जीवनका लागि समेत एउटा ठूलो धक्का थियो।
र, पनि देउवा भने अघि बढ्दै गए। फेरि शक्तिमै रहे। तर त्यसको एउटा फेरोमा भने आरजुको बलियो ‘गढ’ बन्यो देउवाको जीवनमा।
शेरबहादुर देउवा निवासमा जहिले पनि आ-आफ्नै ‘क्याम्प’ रहे।
एउटा शेरबहादुरको आफ्नै थियो, त्यहाँ उनले कसैको सुन्दैनन्। कसैले भनेको पनि मान्दैनन्। त्यो क्याम्पमा अरु कसैको पहुँच पनि छैन।
अर्को भानु देउवा। जो शेरबहादुरका आफ्नै भतिजा हुन् र उनका स्वकीय सचिव पनि हुन्। राजनीतिक भेटघाटदेखि सल्लाहकारसम्मको समूह उनले नै व्यवस्थापन गर्दै आएका थिए। एकथरि मान्छेको पहुँच भानु देउवासम्ममात्रै पुगेर सकिन्थ्यो। शेरबहादुरसम्म पुग्नै पर्दैनथ्यो।
अर्को एउटा शक्तिशाली अनि रणनीतिक क्याम्पमा आरजुको राज चलिरह्यो। आजपर्यन्त त्यस्तै छ। बाहिर अरुले लख काटेजस्तो आरजुले सिधै वा आफैँ देउवालाई घुमाउँदिनन्। त्यो विल्कुलै असम्भव छ। किनकि शेरबहादुरका अघि उनी आफैँ केही पनि बोल्नै सक्दिनन्। उनका धेरै कुरा त देउवाले सुन्दा पनि सुन्दैनन् र मान्दा पनि मान्दैनन्।
‘देउवासँग मेरो सम्बन्ध छ’ भनेर छाति फुलाउँदै हिँड्ने नेता कार्यकर्ताको पहुँच भनेको आरजुसम्ममात्रै हो। धेरैजसो सम्बन्ध आरजुले नै थामेर राखिन्।
उनी सिधै देउवालाई केही भन्दिनन्। बरू अरुमार्फत भन्न लगाउँछिन्। त्यसकै लागि उनी बाहिर-बाहिर रणनीति बनाउँछिन्।
अर्थात् शेरबहादुरको शक्तिको आडमा आरजु शेरबहादुरकै ‘अनुपस्थिति’मा खेलिदिन्छिन्। उनले देउवालाई यसरी घेरा हाल्छिन् कि कुनै कुनै कुरा देउवाले मान्नैपर्छ तर त्यहाँ आरजु आफै कतै देखिएकी हुँदैनिन्। तर हठ भने छोड्दैनिन्। त्यसको चाँजोपाँजो मिलाउनका लागि आरजुका भाइ भुषण राणा अनि उनका ठूलो बुवाका छोराहरू प्रदीप र प्रमोद राणाहरूले पनि साथ दिए।
उसै पनि देउवा धेरै कुरामा प्रतिक्रिया जनाउँदैनन्। आफूलाई चासो नलागेको कुरामा उनी बोल्दै बोल्दैनन्। बोल्नैपरे पनि धेरै छोटोमै कुरा सकिदिन्छन्।
कुनै कुरामा आरजुको हठ यतिसम्म हुन्थ्यो कि त्यो पूरा गराउनका लागि उनले राजनीतिक सम्बन्धसमेत बिथोलिदिन्थिन्।
त्यो बेलादेखि देउवा शासनमा राज गर्दै गर्दै जेनजी आन्दोलनसम्म आइपुग्दा आममान्छेका माझ देउवाप्रति घृणाभाव अझ घनघोर पारिदिने देउवा जीवनकी एक वियोगान्त पात्र आरजु पनि हुन्।
यसपालिको नियति
२०८२ साल भदौ २३ गते। जेनजी पुस्ताले सडक विद्रोहको आह्वान गर्यो। सुरुमा शान्तिपूर्ण भनिएको उनिहरूको यो प्रदर्शन माइतीघरबाट संसद भवनसम्म पुग्दा अराजकताले बरालिइसकेको थियो। केही बेरमा गोली चल्यो। कैयौं कलिला युवाहरू ढले। अर्को दिन संसद, सिंहदरबार अनि सर्वोच्च अदालतहरू जले। अघिल्लो दिनको त्यो नरसंहार अनि पछिल्लो दिनको त्यो विध्वशंसँगै दुई तिहाइको सत्ता केही घण्टामै ढल्यो। जसको नेतृत्व केपी ओलीले गरेका थिए र त्यसका एक साझेदार शेरबहादुर देउवा पनि थिए। नेताहरूका घर जले। देउवाको पनि जल्यो। घरमै रहेका उनीहरूलाई आन्दोलनकारीले कुटिकुटी घरबाहिर निकाले।
आन्दोलनको कैयौ दिनसम्म अस्पतालमा बसेर २८ दिनपछि पार्टीको बैठक बोलाएर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए। अनि आफू उपचारका लागि भन्दै सिङ्गापुर उडे। जानेबेलामा उनले कार्यबाहक सभापतिलाई भनेका थिए ‘विधानअनुसार काँग्रेसको महाधिवेशन समयमै गराउनू…।’ देश जलेको थियो।
कैयौं युवा मारिएका थिए। देउवाको आफ्नै घर पनि जलेको थियो। पतिपत्नी दुबैले आक्रमण पनि सहेका थिए। अपमानहरू सहेका थिए। तर पनि देउवाले कसैलाई गाली गरेनन्। केही गुनासो पनि गरेनन्। बरु पार्टीको जिम्मेवारी पनि सहज तरिकाले अर्कैलाई दिए। देउवाको यो कदमपछि धेरैलाई लागेको थियो देउवाको यो राजनीतिक अवकास निकै शान्त, सभ्य अनि सम्मानित हुनेछ।
तर कार्यबाहक सभापति खड्काले केही गरे पनि महाधिवेशन गराउनतिर लागेनन्। न महामन्त्रीहरूका कुरा सुने, न अर्को पक्षलाई केही बोल्न र भन्न दिए। बरु दुई महिनासम्म केन्द्रीय समिति बैठक लम्ब्याइरहे। आफ्ना केही थोत्रिएका नेताहरूको ‘सल्लाह’मा उनले पार्टीलाई अलमल गराइरहे। यो अलमल अनि अन्योलका बीच महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले भने पार्टी भित्रभित्रै विद्रोहका झिल्का बालिसकेका थिए। अन्तत: उनिहरूले पुस २७ गते नेपाली काँग्रेसको विशेष महाधिवेशन आह्वान गरे। यता उनिहरूले विशेष महाधिवेशन गर्दै थिए तर त्यसलाई अपनत्व लिनुको सट्टा पूर्णबहादुरहरू भने गगनहरूलाई कारबाहीको अनुमति माग्न देउवालाई उक्साइरहेका थिए।
महाधिवेशनको कामलाई रोकेर पूर्णबहादुरहरूले नै सिङ्गापुरबाट फर्किसकेपछि पनि देउवालाई पार्टीको काम कारबाहीमा सक्रिय बनाइरहेका थिए। सहमतिका नाममा यो विशेष महाधिवेशन एक दिन लम्बियो। देशभरिबाट जुटेका प्रतिनिधिहरूले ‘सभापति घोषणा गर्न’ माग गर्दै महाधिवेशनस्थलमा नारा लगाउँ गर्दा पूर्णबहादुरले गगन-विश्वहरूलाई कारबाही गरेर पार्टीबाट निष्काशन गरेको विज्ञप्ती जारी गरे। अनि यता महाधिवेशनको बन्दशत्रले गगनलाई सभापति घोषणा गर्यो।
अनि चुनावी नारा बन्यो ‘बदल्यौं काँग्रेस, बदल्छौं देश’। बदलावको यही तरंगसँगै नेपाली काँग्रेस चुनावी मैदानमा छ। काँग्रेस बदलावका तिनै बाछिटाहरू देउवाको राजनीतिक जीवनको एउटा नमीठो नियति बन्यो। एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरा काँग्रेसले देउवाको मात्रै नाम सिफारिस गरेको थियो। देउवाले पनि भन्दै आएका थिए ‘अन्तिम पटक डडेल्धुराबाटै लड्छु…’ गगनले अन्तिमसम्म त्यहाँको टिकट पनि होल्ड गरिराखेका थिए। तर मनोयनको दिन देउवाको सचिवालयले भन्यो ‘शेरबहादुर देउवा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुनेछैन…।’ अनि मिडियाका हेडलाइन ह्वार्ह्वार्ती भए ‘आरजुलाई गगनले टिकट दिएनन्, देउवाले लिन मानेनन्…।’
त्यसपछि डडेल्धुराको राजनीतिमा ४६ वर्षपछि एउटा नाम लेखियो- नैनसिंह महर। अमरगढी किल्ला आफैमा नेपाली इतिहासका कैयौ पानाहरू भरेको ऐतिहासिक किल्ला हो। यही किल्लाको अलि वल्तिरको गाउँमा देउवाले वर्षौंदेखि बनाएको काँग्रेसी किल्ला जोगाउने अभिभारा बोकेर यतिबेला महर देउवाको गढमा छन्। देउवाकै छाँयामा परेर पटक पटक राजनीतिक अवसरबाट बञ्चित भएका भनिएका महर नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुँदै पार्टीको शिक्षा विभाग प्रमुखसमेत भइसकेका युवा नेता हुन्।
अहिले यिनै महरले देउवाका फोटोहरू टाँसेर डडेल्धुरीहरूसँग भोट मागिरहेका छन्।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया