शनिबार, २८ फेब्रुअरी २०२६

माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर

News Image
• • •

‘जनयुद्ध’का कथित ती सुरसारहरू कति भयानक थिए होलान्? जसरी १० वर्षसम्म रोल्पा त्यसको चोटबाट बाँचिरह्यो।

माओवादी युद्ध सुरु भएकै थिएन तर रोल्पाली गाउँहरूमा त्यो बेला ‘युद्ध’का झिल्काहरू झिल्किदैं थिए।  नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूलाई माओवादीहरूले गाउँगाउँबाट लखेटिरहेका थिए। राजनीतिका फरक बिचारलाई उनीहरूले सहनै सक्दैनथे। अरुहरू माओवादीका अघि टिक्नै सक्दैनथे। त्यो भयानकताले लखेटेको एउटा राजनीतिक नाम हो- अमरसिंह पुन।

उनी पनि लखेटिए, जसरी अरु लखेटिएका थिए। युद्धको त्यो रापले उनलाई रोल्पामा बस्न दिएन। र पनि उनी लखेटिइरहे। खेदेइरहे। रोल्पापछि बाँके अनि काठमाडौंमा उनी शरणार्थीजस्तै भए। तर पनि काँग्रेसको राजनीतिका आदर्शबाट उनी कहिल्यै बिचलित भएनन्। बरु युद्ध चर्किएका बेलामा पनि उनि आफ्नो जिल्ला पुगिरहे। पार्टीलाई पनि कहिल्यै बिचलित हुन दिएनन्। माओवादीले लखेटेका कैयौ कार्यकर्ताका रक्षकजस्तै भए। पार्टी र कार्यकर्ता जोगाइराख्नका लागि पुनले धेरैलाई आर्थिक र सामाजिक सहयोग गरेका छन्। आफै पनि माओवादी पीडित भएर रोल्पाबाट विस्थापित भइ उनी बाँके झरेका थिए। त्यहाँ पनि माओवादीले पछ्याइरहेपछि उनलाई स्थानीय प्रशासनले नै त्यो ठाउँ पनि छोड्न सुझाव दियो। त्यसपछि फेरि उनी काठमाडौं बसाई सरे। त्यसैबेला जिल्लाबाट लखेटिएका अनि धपाइएका कैयौ कार्यकर्ताहरूलाई उनले निकै आत्मीयताका साथ सहयोग गरे। कतिलाई जिल्लामै स्थापित गरे। आफै विस्थापित भए पनि माओवादीसँग उनी वैचारिकरुपमा जुधिरहे।

दशकसम्मको त्यो भयानकता अनि भयावह विस्तारै शान्त हुँदै जान थाल्यो। माओवादीले पनि राजनीतिक ‘मिलाप’ खोज्दै थियो। अरु राजनीतिक दलहरूले पनि माओवादीलाई राजनीतिको मूलबाटोमा ल्याउनका लागि प्रयत्न गर्दै थिए। त्यही बाटोमा नेपाली काँग्रेसका लागि एउटा शूत्रधार बनेर निस्किए अमरसिंह पुन। माओवादीको त्यो जगजगीका बेलामा पनि रोल्पाजस्तो युद्ध किल्लामा उनले जोगाइराखेको नेपाली काँग्रेस आज पनि माओवादीलाई ‘टक्कर’ दिने पार्टीका रुपमा छ। सधैं माओवादीको ‘तप्कनी’मुनि रहेको रोल्पामा नेपाली काँग्रेसको यो रापताप पुनकै अविराम कसरतमात्रै होइन पार्टीप्रति उनको लगाव, अविचलित आदर्श र राजनीतिक संस्कारको उत्कृष्ट परिणाम पनि हो।

रोल्पाको राँक गाविस अझै पनि बिकटताको पर्यायका रुपमा छ। अहिले गंगादेव गाँउपालिकामा समेटिएको यही ठाउँमा जन्मिएका हुन् अमरसिंह पुन। भौगोलिक बिकटताले घेरिएको यही गाउँको एउटा सामान्य परिवारमा जन्मिएका पुन आफ्नो व्यावसायिक जीवनसँगसँगै राजनीतिको राजमार्गमा पनि निरन्तर दौडिरहे। नेपाली काँग्रेसको लुम्बिनी प्रदेसको सभापतिसमेत रहेका पुन: यात्राको एउटा कठीन परीक्षामा उत्रिएका छन्, प्रतिनिधिसभाको उम्मेदवार बनेर। उनी अहिले बाँकेको क्षेत्र नं ३ बाट चुनाव लड्दैछन्।

रोल्पाली माटोमा जन्मिएर हुर्किएका उनको यो ‘मधेस’ साइनो कस्तो र कसरी भयो? यसको एउटा मुख्य कथानक त्यही माओवादी युद्ध थियो। युद्धको त्यो जगजगी अनि माओवादीको बिगबिगी र चकचकीका बीचमा पनि नेपाली काँग्रेसलाई रोल्पाका पाखापखेराहरूमा फैलाउने एक खम्बा पनि हुन् पुन। त्यो बेला तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाका खास विश्वासपात्र थिए, सुशील कोइराला। गिरिजाका दूत बनेर माओवादीसँग सम्पर्क गर्न रोल्पा पुगिरहन्थे उनी। त्यस्तो जगजगीका बेलामा पनि छाती खोलेर नेपाली काँग्रेसलाई माओवादीसँग जोड्न अमरसिंहले निकै साहसपूर्ण जोखिम उठाएका थिए। त्यही सिलसिलामा सुशील कोइरालासँग पुनको राजनीतिक साइनो गहिरोसँग गाँसियो। माओवादी युद्धकै कारण विस्थापित भएर बाँकेको जानकी गाउँपालिकामा एउटा सानो घर बनाएका उनि बाँकेमै पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भइरहेका थिए। सुशील कोइरालाको गृह जिल्ला पनि बाँके नै हो। यही ठाउँमा रहेर पुनले पनि नेपाली काँग्रेसलाई बलियो बनाउन धेरै कामहरू गरिसकेका छन्। यहाँको पार्टी संगठन निर्माणदेखि पार्टीका कार्यालय अनि काँग्रेसको राजनीतिलाई स्थापित गर्न उनले सधैं कोइरालाको निकट रहेर पार्टीको काम गरिरहे। पछि सुशील कोइराला नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री हुँदासमेत पुनले कोइरालासँगै रहेर राजनीतिक संयोजनको काम गरिरहे।

रोल्पाको त्यही बिकट गाउँमा बाल्यकाल बिताएका पुनको परिवार मध्यमस्तरको हो। उनका पितापूर्खा कुनै बेला ‘जिम्मवाल’ पनि थिए। त्यसैले परिवारमा राजनीतिक चेत पनि थियो। अहिले उनका अरु भाइहरू पनि राजनीतिमै छन्। कोही पार्टीमा सक्रिय छन्, जनप्रतिनिधिसमेत छन्। कोही भाइ व्यवसायमा पनि स्थापित भइसकेका छन्। उनले पनि केही समय निर्माण व्यवसाय गरे। त्यो बेला उनले थुप्रै विकास निर्माणका कामहरू गरेका छन्।

गाउँमै प्राथमिक शिक्षारम्भ गरेका उनी १८ वर्षको किशोरावस्थामा भारत गए। त्यही रोजगारी गर्दै उनले भारतमै हाइस्कुल पास गरेका २०५० सालमा नेपाल फर्किएपछि उनी गाउँघरमै रहेर सामाजिक कामहरू गरे। पञ्चायतकालीन राजनीतिमा पार्टीका आन्दोलन, विद्रोह र अभियानहरूमा सक्रिय भएर मोर्चा सम्हालेका पुन २०४६ सालको परिवर्तनपछि पार्टीको सक्रिय राजनीतिमा केन्द्रित भए। त्यसपछि पनि राजनीति र व्यवसाय सँगसँगै अघि बढाइरहे। २०७० सालमा संविधानसभामा सदस्य भएपछि उनले आफ्नो व्यवसायभन्दा राजनीतिलाई प्राथमिकता दिए। नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी बनाउन २०४८, २०४९, २०५१, २०५४, २०६४, २०७०, २०७४, २०७९लगायतका निर्वाचनमा उनले निकै सक्रिय भूमिका पनि निर्वाह गरेका छन्। कुनै बेलामा माओवादीको बिगबिगी र जगजगी रहेको पश्चिम रोल्पाको यो गाउँपालिकामा आज पनि अधिकांश स्थानीय तहहरू नेपाली काँग्रेसका जनप्रतिनिधिहरूले हाँकिरहेका छन्। यो सब पुनकै प्रभावले हो। पुन कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखी हालसम्म निरन्तर महासमिति सदस्य हुँदै आएका छन्। २०६२ मा भएको काँग्रेसको ११ अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका पुन वि.. २०७२ मा भएको १३ औं महाधिवेशनबाट नेपाली काँग्रेस रोल्पाको जिल्ला सभापतिमा निर्वाचित भए। त्यो बेला उनले संविधानसभाको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्यका रुपमा पनि भूमिका निभाइसकेका छन्।

व्यक्तिगत र राजनीतिक जीवनका कैयौ आरोह-अवरोह र उतार-चढावसँगसँगै उनले यसका कैयौ घुम्तीहरू पार गरिसकेका छन्। एउटा राजनीतिक व्यक्तिका जीवनमा अनेक मोडहरू आउँछन्, त्यसलाई छिचोल्नैपर्छ। सफलता अनि असफलताका थुप्रै आयामहरूसँग जुधिसकेका अमरसिंह पुनको राजनीतिक जीवन अहिले फेरि एकपटक चुनावी मैदानका चुनौतीहरूसँग सामना गरिरहेको छ।

यो एउटा त्यस्तो चुनाव जो देशको एउटा आकष्मिकतासँग जोडिएको छ। राष्ट्र अनि राष्ट्रियता र अहिलेसम्मका परिवर्तनका सारा उपलब्धीहरूमाथि खतराका बादल मडारिइरहेको यो अवस्थामा हुन लागेको यो आकष्मिक निर्वाचन आफैमा चुनौतीपूर्ण छ। जेनजी विद्रोहको जगमा हुन लागेको यो निर्वाचनलाई नेपाली काँग्रेसले एउटा अध्यायमा समेट्ने प्रयत्न गरिरहेको छ- यो राजनीति होइन, राष्ट्र नीति हो। राजनीतिक जीवनको यो अनिवार्य अनि निकै कठीन परीक्षामा उत्रिएका पुनका अघि जित निकाल्न कैयौं चुनौती छन्। उसै पनि बाँके जिल्लाको आफ्नै राजनीतिक परम्परा र आयामहरू छन्। कुनै बेला प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालालाई समेत यही जिल्लाले पराजित गरिदिएको थियो।

मधेस, पहाड, धर्म संस्कार र सामाजिक विविधताका कैयौं सञ्जालमा बेरिएको बाँके जिल्लाको क्षेत्र नं ३ मा यसपालि मुख्यगरी नेपाली काँग्रेस, नेकपा एमाले र रास्वपाबीच मुख्य प्रतिष्पर्धा देखिन्छ। दैलेखबाट चुनाव लड्न बाँके क्षेत्र नं ३ पुगेका खगेन्द्र सुनारले अन्तिम समयमा आएर आफ्नै पार्टीलाई समेत राष्ट्रिय स्वतन्त्र पार्टीमा बिलय बनाए। दलित अधिकारका लागि सडक आन्दोलन अभियानबाट चर्चामा आएका खगेन्द्र सुनारलाई रास्वपाले यो क्षेत्रमा पठाउनुको एउटा कारण यहाँ रहेका दलित समुदायको मत पनि हो। त्यसै नेकपा एमालेले अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेर यहिँका स्थानीय युवा सुमन मल्ललाई चुनावमा उतारेको छ। यसअघि यहिँका वडाअध्यक्ष भएर काम गरिसकेका मल्ल यहाँका युवाहरू नेता र सामाजिक काममा पनि चर्चित नाम हो। पुनका लागि यी दुई उम्मेदवार मुख्य प्रतिष्पर्धी हुन्।

यो क्षेत्रमा अघिल्लोपटक नेपाली काँग्रेसका किशोरसिंह राठौरले चुनाव जितेका थिए। करिब १ लाख १७ हजार ३ सय ५४ मतदाता रहेको क्षेत्रमा यसपालि चुनाव जित्न पुनका लागि राठौरका पहलमा भएका विकास निर्माणका कैयौ कामहरूले पनि काँग्रेसलाई जवाफ दिन सजिलो बनाएको छ। योसँगै पुनका पनि आफ्नै केही नयाँ अनि व्यवहारिक योजनाहरू छन्। राजनीतिक र सामाजिक कामबाट खारिएर आएका एउटा अनुभवी राजनीतिक व्यक्तिकारुपमा परिचय स्थापित गरिसकेका पुनका लागि यो चुनावी परीक्षा कठीन तर अनिवार्य छ।

‘हरेक चुनावमा लहड हुन्छ। जस्तो आफूलाई नयाँ भन्नेहरूको छ। राजनीतिमा कोही नयाँ कोही पनि पुरानो भन्ने हुँदैन। फेरि यो चुनाव भनेको कोही कसैले कसैको अस्तित्व नै समाप्त पार्ने भन्ने होइन’ पुन प्रष्ट अनि निश्चिन्त छन् ‘हामीले जनताको मतलाई सम्मान गर्छौं। लहड अनि भावनामा होइन यथार्थमा देशलाई विकास र निकास दिनसक्ने व्यक्तिलाई नै मतदाताले आफ्नो विवेकपूर्ण मतदान गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!