सहदेवलाई सास्ती, भिआइपीलाई मस्ती

काठमाडाैँ शहरमा बुढाथोकी ‘काका’ का आफ्नै छन्, अनगन्ति कथा। ‘काका’ अर्थात् सहदेव बुढाथोकी–उमेर ३९ वर्ष। गत बिहीबार ठ्याक्कै दिउँसो सवा दुई बजे, उनी बबरमहलको बाटो हुँदै कार्यालय छिरे। ‘काका’ उत्तरढोकास्थित निशान गाडीको स्वरुमबाट फर्किँदै थिए। उनलाई जावलाखेलस्थित आफ्नो कार्यालय पुग्नु थियो।

उनी हुन्डाइको भर्ना (२०१५ मोडल) मा सवार थिए। तर उनी जब सर्वोच्च अदालत अघिको (माइतीघरपट्टी) आकाशे पुलको मुनि आइपुगे, तब उनलाई जेब्रा क्रसिङअघि उभिइरहेका एक जना पुरुष ट्राफिक प्रहरीले अचानक हात हल्लाए। र, गाडी जहाँको त्यहीँ रोक्ने संकेत गरे।

ट्राफिकको संकेत देख्नेबित्तिकै सहदेव पनि आत्तिँदै वरपर राखिएको ट्राफिक लाइटतिर आँखा डुलाए। तर लाइटको इशारा पनि सही नै थियो। उनी एकछिन त अलमल परे, गाडी रोक्ने कि नरोक्ने भनेर।

फेरि एउटा ट्राफिक प्रहरीले नै संकेत गरेपछि उनले पनि नमानुन् कसरी? गाडी रोकिहाले बीच बाटोमै। गाडी रोकेको करिब २० सेकेण्डमै एक जना भिआइपी चढेको गाडीहरु आइपुगे। अघिपछि प्रहरीको स्कर्टिङसहित बीचको गाडीमा भिआईपी चढेका रहेछन्। गाडीमा राखिएको राष्ट्रिय झण्डाबाट स्पष्ट थियो कि गाडीमा कुनै मन्त्री वा कुनै संवैधानिक निकायको प्रमुख सवार थिए। यो दृश्यलाई नजिकबाट लियालिरहेका २२ वर्षे भतिज लालबहादुर गजबले चर्चा गर्छन्।

सहदेवलाई बल्ल थाहा भयो कि, आफ्नो गाडीको पछाडि कुनै भिआइपीको गाडी आउँदै रहेछ। सबै सवारी चालकहरु जहाँको त्यहीँ रोकिए। एकछिन वातावरण शान्त बन्यो। हल्ला गर्यो त त्यही भिआइपीलाई स्कर्टिङ दिइरहेका गाडीको साइरनलेयो।

एकछिनपछि माहोल फेरि सामान्य बनेपछि भने सहदेवलाई उक्त ट्राफिक प्रहरीले सडक छेउमा बोलायो र चिट काट्न थाल्यो। त्यतिबेला एकजना महिला ट्राफिक प्रहरी पनि त्यहीँ आइपुगिन्।

उनले चिट काट्न लाग्दा सहदेवले प्रश्न गरिहाले, के को लागि हो चिट? त्यत्तिकैमा ती महिला ट्राफिक प्रहरी तात्तिँदै बोलिन्, ‘हामीले दुई घण्टादेखि भीआइपीलाई समस्या नहोस् भनेर जाम व्यवस्थापन गरिरहेका थियौँ। तपाईं चाहिँ त्यहीँ नै आएर रोकिनुपर्ने?’

सहदेवले पनि जवाफ फर्काइहाले, ‘उसोभए तपाईंहरुले ट्राफिक लाइट बाल्नु पर्थ्या नी।’ महिला ट्राफिक प्रहरी कसैको कुरा सुन्ने मुडमा थिइनन्, ‘अब फेरि धेरै हल्ला नगर्नुस्, यो चिट राख्नुस् र बाटो लाग्नुहोस्।’

सहदेवलाई पनि चित्त बुझिरहेको थिएन। बिनाकुनै गल्ती किन चिट काट्ने? उनको प्रश्न थियो। उनले थप्दै भने, ‘मेरो गाडी रोकीरोकी भिआइपीको गाडी पठाइयो, ठिकै छ। तर, मलाई चिट काट्नुपर्ने किन? जब कि कुनै कारण नै छैन।’

विचरा, सहदेव ‘काका’ पनि के गरुन्? दुई जना ट्राफिक प्रहरीको अघि जित्न सकिनन्। सहेरै भए पनि चिट राखे र पैसा बुझाए। अनि प्रहरीलाई सराप्दै उनले भने, ‘भिआइपीलाई मस्ती, मलाई सास्ती।’

प्रकाशित मिति: : 2022-02-26 18:25:00

प्रतिकृया दिनुहोस्