सडक र विद्युतको विकासका लागि एमसीसी ˸ महामन्त्री शर्मा 

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी परियोजना विद्युत र सडकको विकासका लागि आएको अमेरिकी सहयोग रहेको प्रष्ट पारेका छन्।

कांग्रेस भद्रपुर–१० ले शनिबार आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सबै प्रधानमन्त्रीले अमेरिकी सरकारसंग मागेको सहयोग परियोजना विद्युत र सडकको विकासका लागि आएको प्रष्ट पारेका हुन्।

महामन्त्री शर्माले संसदबाट अनुमोदन हुने बेलामा संसदभित्र रहेका सबै दलले सहयोग गरेर मात्र अनुमोदित भएको भन्दै निर्वाचनका बेला मत तान्न केही दलले जनताका माझ भ्रम छर्दै अमेरिकी सेना आउने हल्ला मच्चाएर झुटको खेती गरिरहेको बताएका छन्।

उनले नेपालको आफ्नो आम्दानीले मात्र देशको विकासका लागि ठूला आयोजना सञ्चालन गर्न नसकिने भएकाले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको भन्दै मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर विजुली बेच्ने देश बनाउन एमसीसी स्वीकार गरिएको जनाए।

अमेरिका र चीनको अन्तर्द्वन्द्वलाई पक्ष विपक्ष बनाउन चाहनेले एमसीसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेको उनकाे भनाइ छ।

काँग्रेसले भोटका लागि भन्दा भविष्यका निम्ति विकास परियोजना छनौटमा लागी पर्ने बताउँदै फास्ट ट्रयाक र अरूण तेस्रो आयोजना जस्तै एमसीसी पनि वैदेशिक सहयोगमा निर्मित विकासको काम भएको बुझ्न अनुरोध समेत गरे।

शर्माले २३ वटा संसद जितेको काँग्रेसको काँधमा सरकारको भारी कम्युनिष्टको असक्षमपनबाट आइलागेको भन्दै अब सत्ता सञ्चालनको वास्तविक सारथी काँग्रेस मात्र रहेको नागरिकले बुझिसकेको उल्लेख गरेका छन्।

उनले २०७४ को निर्वाचनमा कम्युनिष्टलाई भारी बहुमत दिएका नेपाली नागरिकले कोरोनाको विपतमा कम्युनिष्टहरूकै अन्तर कलह हेरेर उपचार नपाइ मर्नु पर्ने अवस्थासमेत भोगिसकेको भन्दै वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे।

प्रकाशित मिति: : 2022-03-12 17:54:00

प्रतिकृया दिनुहोस्