मङ्गलबार, १६ सेप्टेम्बर २०२५

मेरो नाउँ कोरेर लैजा साईका दायाँ छाती

Breaknlinks
• • •

पहिलो पटक खप्तडमा पाइला टेकर फर्किनन्, बैतडीकी हेमा भट्ट। जाँदा मनभरी कल्पनाका पाटन सजाइन्। फर्किँदा सम्झनाको भारी बोक्दै अनुभूति बटुलिन्, ३२ किमिको दुरी तय गरिएको शैलेश्वरी खप्तड म्याराथनको।

कुनै जमिनदारका खेतका ठुल्ठुला गरा जस्ता देखिने कैयौं फाँटहरू छन् त्यहाँ। योबेला फुल्न आतुर भएका भुँइफूलका कोपिलाहरू छन्। हरिया पाटनका छेवैमा स-साना ढिस्काहरूले बढाएको सुन्दरता छुट्टै छ। किनारतिर बजिरहेका भैंसीका घाडा र चरनका लागि छोडिएका घोडाहरूले पाटनको शोभा बढाइरहेकै छन्।

आखिर के छैन र खप्तडमा। ती सबैलाई हेर्नसक्ने मन हुनुपर्यो। त्यही मनले बोक्ने न हो प्रेम, सद्भाव र सम्झनारुपी यादका पाटनहरू। खप्तडले कैयौँ शासकलाई झेल्यो। कैयौंले खप्तडका नाममा आएको करोडौं रकम कुम्लायाए। एकै रातमा ४० वटा घोडा बाघले खाएको जाली कागज तयार पारेर गर्नुसम्म गरे। भेट्न सकेन खप्तडले मन भएका ठुलाबडा भनाउँदाहरूलाई।

खप्तडको सुन्दरताको महत्व बुझ्न सक्ने तिनै सर्वसाधारण थिए र छन्। प्रत्येक वर्ष गङ्गा दशहरामा पुग्छन् र खुल्ला आकाशमुनि मन खोलेर डेउडा खेल्छन्।

सैपालका चुचुरा हेर्छन्। उदाउँदो र अस्ताउँदो सूर्यलाई नमस्कार गर्छन्। त्रिवेणीमा नुहाएर आफ्ना पितृहरू सम्झिन्छन् र मनभरि सम्झना बोकेर फर्किन्छन्। ती सर्वसाधारणहरू नै असली प्रकृतिपुजक ठानिन्छन्।

प्रेम र सद्भावको लय बटुलेर खप्तडमा मन चढाएर दोस्रो वर्ष पुनः आउने वाचा गर्दै बाटो लाग्छन्। त्यो दृश्य देखेर गीत सिर्जना गर्न थाल्छन्, डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा ड्यौडिया नरेन्द्र खड्का।

रङ्गीचङ्गी फूल फुल्याको खप्तड पाटन 
हातको अँगुठी दिइजा सौराडी (सम्झना)काटन

तीन वर्षसम्म सुनसान बन्यो खप्तड। खड्काले भनेझैं आएनन्, प्रेमको चिनो साटासाट गर्नेहरू। देखिएनन् त्रिवेणीमा तर्पण गरिरहेका तीर्थालुहरू। बजेका सुनिएनन् भैंसीका घाडा पनि। कोराेनाकालमा सर्वसाधारणलाई अनुमति थिएन खप्तड घुम्न पाउने। त्यसैले त पहिलो पटक परसरेकी चेली जस्तो, गम्भीर बनेर एकान्तमा कुनै वस्तु वा परिवेश नियालिरहेको दार्शनिक जस्तो, सन्तानको खोजी गरिरहेकी असहाय आमाजस्तो, एक्लो यात्री बनेर एकान्तमा गीत सिर्जना गरिरहेको कुनै लोक कविजस्तो बनेर हेरिरह्यो खप्तडले आफ्नै आँचल।

आकाशका नीला किनारा बर्सेपछि पुन उस्तै भिजिरह्यो। भिज्नु अनि भिजाउनु प्राकृतिको नियम नै हो। कैयौं मुक्तात्माहरूले परमात्मामा मन चढाउँछन्, जब त्यो मन परमात्माप्रतिको प्रेमले ओतप्रोत बनिदिन्छ अनि भिज्न थाल्छन्। सामान्य प्रेमी प्रेमिकाहरू एकअर्काप्रतिको प्रेमाशक्तिको भावमा भिज्छन्।

नरेन्द्र खड्का जस्ता कैयौं लोक कविहरूलाई डेउडा गीतको भावले भिजाइरहेको हुन्छ। तर, प्रकृति चलिरहन्छ आफ्नै नियममा। यतिखेर बधाई र शुभकामनाको लयले भिजाइरहेको छ, शैलेश्वरी खप्तड म्याराथन २०७९ का विजेता धावकहरूलाई, भलिवल प्रतियोगिता र डेउडा गीत प्रतियोगिताका विजयीहरूलाई।

तर, दुर्भाग्य खप्तडजस्ता प्राकृतिक सुन्दरताले शोभाएमान ठाउँले कहिल्यै भिजाउन सकेन यो देशका सम्राटहरूका, योजनाकारहरूका र भ्रष्टाचारीहरूका मनलाई। संवेदना शून्य मनहरू जान्दैनन्, कहिल्यै भिज्न पनि। शक्ति र सम्पत्तिको तापमा जिन्दगी सेकिरहेका जन्तुहरू के थाहा पाउँथे र प्राकृतिक आनन्द र गरिमाको पाटो।

बरु हेमा भट्ट भिजेर आइन् खप्तडको मायाले, सम्झनाले अनि परिश्रमको पसिनाले। ३२ किमि दुरी ४ घन्टामा पार गरिन् उनले। हेमा बताउँछिन्, ‘बैतडीस्थित हनुमान ध्वज गणबाट सरहरूले खबर गर्नुभयो, म्याराथनमा सहभागी हुँदा राम्रै हुन्थ्यो भनेर। त्यो खबर पाएको तेश्रो दिन हिँडिहालेँ घरबाट।’

बैतडीमा कराँतेकी गुरु बनेर प्रशिक्षण दिइरहेकी उनले प्राक्टिस नै गर्न पाएकी थिइनन्। एकाएक होमिन पुगिन् म्याराथनमा। यसअघि कहिल्यै नहिँडेको नयाँ बाटो एक्ली महिला सहभागी भट्टले साहस गुमाइनन्। म पनि सक्छु भनेर दौडमा सहभागी भइन्, आर्मीका तालिम प्राप्त जवानहरूसँगै।

दौड दुई किसिमको थियो। २० जना सेनाका जवान र २० जना सिभिल धावकहरू गरी ४० जनाका लागि खप्तडदेखि डोटीको सिलगढीस्थित शैलेश्वरी मन्दिरसम्मको। अनि अर्को ‘रन फर फन’ भनेर खप्तडबाट डोटीकै झिग्रानासम्म २२ किमिको। उनी ३२ किमि दुरी पार गर्ने साहसका साथ तयार भइन् र आफ्नो गन्तव्यमा पुगेरै छोडिन्।

हेमाका अनुसार सुदूरपश्चिमका महिलाहरूको खेलप्रति त्यति चासो देखिँदैन। रुचि भएकाहरू पनि घरका मान्छेको साथ सपोट पाउन सकिरहेका छैनन्। उनले साहसिक पाइला चाल्दा कसैले शुभकामनासम्म पनि दिँदैनन्। यसपल्ट पनि त्यस्तै भयो यो लेख लेखिरहँदासम्म कसैले पनि उनलाई बधाई, शुभकामकना केही भनेनन्। तर, उनी सुदूरपश्चिम चिनाउन चाहन्छिन्। केही गरेर देखाउन चाहन्छिन्। हेमालाई घरबाट कुनै प्रकारको रोकथाम नभएकैले उनी खेल जगतमा सहजै आफ्ना पाइला चाल्न सकिरहेकी छन्।

उता म्याराथनमा प्रथम भएका हुम्लाका सुशिल कुमार शाही आगामी दिनमा दौडमा अझै राम्रो गरेर कीर्तिमानी कायम गर्ने योजना बनाइराखेका छन्। यस पटकको सफलताले उनमा एक प्रकारको साहस बढेको कुरा स्वीकार्छन् उनी। शाही बताउँछन्, ‘भवानी बक्स गणमा कार्यरत सिनियर सरहरू, सेवानिवृत केही सरहरूका साथै आफन्त र शुभचिन्तकहरूको बधाई, शुभकामना र स्याबासीले थप हौसला बढाएको छ।’ एक प्रकारको प्रेरणा मिलेको छ। अझै राम्रो गर्छु भन्ने सोच पलाएको छ।’

मध्यपश्चिमको हुम्ला जिल्लास्थित सिमिकोट गाउँपालिकाको डाँडाखया गाउँमा जन्मेका सुशिल २०७१ सालमा नेपाली सेनामा भर्ना भएर हाल अछाममा कार्यरत छन्। पहिलो पटक खप्तड पुगेका उनलाई निकै नै तान्यो त्यो परिवेशले। अरुको लागि कठिन भएको बाटो उनको लागि निकै नै सहज भइदियो। वरिपरि जङ्गल बीचमा बाटो। चिसो हावापानी चराचुरुङ्गीको आवाजले मन प्रफुल्ल बनिदियो। सामान्य किसान परिवारमा जन्मेका उनी जिन्दगीका उकाली-ओरालीहरूमा यात्रारत छन्।

जेठ २६ गते खप्तडको उकालो उक्लिँदै गर्दा तीर्थालुहरू ओरालो झर्दै थिए। बाटोमा धेरै मान्छे भेटिए। खप्तड पुगेपछिको त्यो सुन्दरता र आनन्दको वर्णन गर्ने शब्द नै नभेटाएको कुरा सुनाउँछन् उनी। यसअघि २१ किमिको हाफ म्याराथनमा सहभागी भएका उनका लागि ३२ किमिको म्याराथन पहिलो थियो। त्यसैमा पनि हाइअल्टिच्युडको म्याराथन। जसलाई उनले २ घन्टा १८ मिनेट ३१ सेकेन्डमा पार गरी प्रथम हुन सफल भएर १ लाख रुपैयाँ हात पारे।

त्यस्तै क्रमश द्वितीय र तृतीय हुनेमा थिए नरेशसिंह बोहरा र रामसिंह पाल। चौथो बनेका थिए रामसिंह धामी। भगवती गण बक्सबाट उनीसँगै सहभागी भएका मोति विकले २ घन्टा ४३ मिनेटमा तोकिएको दुरी पार गरेर छैटौं स्थान हासिल गरे।

एकातिर भलिबल प्रतियोगिता चलिरहेको थियो भने अर्कोतिर डेउडा गीत प्रतियोगिता भइरहेको थियो। डेउडा गीतका निर्णायक बनेका वसन्त उपाध्ययका अनुसार माया पिर्ती र जीवनजगतका बारेमा सवाल जवाफ भैरहँदाको पल मनन्योग्य थियो। हजारौं मान्छेले खचाखच भइरहेको खप्तडमा एकातिर डेउडा गीतको लय गुञ्जिरहेको थियो भने अर्कोतिर डा. चिन्तमणी योगीले योगा सिकाउँदाको रौनक छुट्टै थियो। यही सुन्दर र पवित्र भूमिमा पत्रकार महासंघ बझाङ्गका सभापति शैलेन्द्र रोकायाको अध्यक्षतामा महासंघको कार्यसमितिको बैठक पनि बसिरहेकै थियो।

वस्तवमा यसवर्ष खप्तडमा गङ्गा दशहराको उपलक्ष्यमा ग्य्राण्ड इभेन्ट नै भएको थियो। यसै क्रममा उद्योग वाणिज्य संघ डोटीका पूर्व अध्यक्ष नरेन्द्र खड्का बताउँछन्, ‘हामी आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमहरू गर्ने योजना बनाउँदैछौं’। गङ्गा दशहरामा मात्र नभई अरु समयमा पनि खप्तडको पर्यटन प्रवर्द्धनका लागि विभिन्न खाले कार्यक्रमहरू तय गर्ने सोच रहेको छ।

डोटीका ९ वटा स्थानीय तह र शैलेश्वरी यातायात प्रालि प्रायोजक रहेका ५ दिने उक्त कार्यक्रमका आयोजकहरू थिए, श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, भैरव प्रसाद गण सिलगढी, उद्योग वाणिज्य संघ डोटी। सबै संस्थाहरूले आआफ्नो क्षेत्रबाट प्रशंसनीय कार्य गरेर यस वर्षको खप्तड मेलामा थप रौनक भर्न सफल भए।

वर्षैपिच्छे निरन्तरता दिने सोचले कार्यक्रम तय गरिएको र आगामी वर्षमा कार्यक्रमको स्वरुपमा केही परिवर्तन गरी नयाँ ढंगले जानुपर्ने कुरा बताउँछन्, श्री नम्बर ५ बाहिनी अड्डाका सहायक बाहिनीपति अन्जन कुमार खत्री। खत्रीका अनुसार अबको म्याराथन एउटा देशभरीकै नाम चलेका धावकहरूलाई भागलिन पाउने खालको र अर्को सुदूरपश्चिमका क्षेत्रीय र राष्ट्रियस्तरमा कुनै पनि पदक नपाएका धावकहरूले मात्रै सहभागी हुन पाउने किसिमले तय गरिनु आवश्यक छ। जसले युवाहरूलाई यस क्षेत्रमा आकर्षित गराउन सहज हुने र खप्तडको पर्यटन प्रवर्द्धनमा टेवा पुग्न जाने छ।

कुनै समयमा खप्तड कुबेरको राजधानी पनि थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ। महाभारतकालमा पाण्डवहरू खप्तडकै बाटो भएर कुरुक्षेत्र पुगेका थिए। युद्धमा मारिएकाहरूको आत्माको शान्तिका लागि अर्जुनले खप्तडकै त्रिवेणीमा आई तर्पण गरेका थिए भन्ने मिथकहरू सुन्नमा आउँछन्।

धार्मिक, ऐतिहासिक र पुरातात्विक हिसाबले निकै नै महत्व राख्ने क्षेत्र हो खप्तड। त्रिवेणीधाम, सहस्रलिङ्ग, केदार ढुङ्गा बाबाको आश्रम, खप्तड दह, नागढुङ्गा, घोडा दाउनी पाटनजस्ता केही आकर्षक ठाउँहरूले झनै लोभ्याउँछन्, यात्रुको मनलाई। खप्तडबाट बगेर आएको पानी केही तल आएपछि जब झर्छ भीरबाट, तब रुप लिन्छ सुन्दर झरनाको।

डोटीको बाटो हिँड्दै गर्दा बाटैमा पर्छ त्रिवेणी। एकापट्टीबाट बगिरहेकी गङ्गा नदी, अर्कोपट्टीबाट बगिरहेकी यमुना नदी, अनि पुरानो धर्मशाला नजिकै गुप्त भएर बग्ने सरस्वती। ती तीनैको संगमस्थल हो– त्रिवेणी। खप्तडको त्रिवेणीझैं टल्किरहेका हन्छन् मानव जीवनका त्रिवेणी पनि सम्झना, कल्पना र अनुभूतिको सुन्दर च्यादर बनेर। अनि तिनैले सिकाइरहेका हुन्छन् बाँच्ने कला पनि।

बिहानीका किरणहरू जब छरिन्छन् खप्तडका पाटनमा, केही सीप नचलेर विलीन हुन थाल्छन् शीतका थोपाहरू। जसरी समर्पित भइदिन्छ, प्रेमी प्रेमिकामा, भक्त भगवानमा, अनि झझल्को मानसपटलमा। त्यसैगरी विलीन भइदिन्छन्, खप्तडको पाटनमा जुनेली रातसँगै टल्किने शीतका थोपाहरू। त्यस्तै शीतको थोपा न हो मानव जीवन पनि। बिलाउनुअघि घामका किरणसँगै टल्किने शीतका थोपाले पनि दिएर जान्छन् केही सन्देश। तर मनन् गर्दैन मान्छे।

एकातिर तानेजस्तो, अर्कोतिर धकेले जस्तो, कतै लुकामारी खेलेजस्तो, कतै सिरसिरे बतास पठाई गड्याङगुडुङ गरी तर्साए जस्तो, यस्तै हरेक पल के–के गरिरहन्छ खप्तडले। जीवनोपयोगी थुप्रै सन्देशहरु पनि दिइ नै रहन्छ। यसरी प्रेमपूर्वक सताउने काम खप्तडले मात्रै गर्दैन, संसारका अधिकांश प्रेमिल ठाउँ र मनहरूले गरिरहेका हुन्छन्। त्यसैले त डोटीका ड्यौडिया नरेन्द्र खड्का गीत सिर्जना गर्दै प्रेमी र प्रेमिकाका माध्यमले दर्साउँछन्– खप्तडको महिमा, प्रेमको महिमा, अनि जीवनको महिमा। खप्तडप्रतिको छुट्टै प्रेम, छुट्टै भावना सजाउँछन् उनी पनि आफ्नो दाया छातीमा। र, सुनाउँछन् यी पंक्तिहरू।

केटी- तल छ त्रिवेणी पाटन श्रहाष्रलिंग माथि 
मेरो नाउँ कोरेर लैजा साईका दायाँ छाती
केटा- बर छदै पिपल लाउँछु गंगाका छाललाई 
कसरी छाडेर बाईजाउ यै माया जाललाई

तस्बिर साैजन्य: दीपक खड्का, प्रकाश बम, नरेन्द्र खड्का र हेमा भट्ट। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!