आँपस्वारा काव्य यात्रा– २०७९ बाट चार जना सम्मानित

तनहुँकाे व्यास नगरपालिका– १३ मा रहेकाे नेपालकाे पहिलो दलित सामुदायिक होमस्टेमा जारी आँपस्वारा काव्य यात्रा– २०७९ बाट चार जना व्यक्ति सम्मानित भएका छन्। ‘कन्सेप्ट नेपाल’ले आयाेजना गरेकाे साे कार्यक्रममार्फत विभिन्न विधामा याेगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरिएकाे हाे।

सम्मानित हुनेमा माटाेका गहना बनाउने मेनुका विक, मादल बाधक सुन्दर विक, डाेकाे बुन्ने तुलसी मगर र आरनकाे कामबाट याेगदान पुर्‍याउने दिलबहादुर विक रहेका छन्। उनीहरूलाई आयाेजक ‘कन्सेप्ट नेपाल’ले १०–१० हजार नगदसहित सम्मान गरेकाे हाे।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटन क्षेत्रमा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्ने उद्देश्यले आयाेजना गरिएकाे साे कार्यक्रमा एक दर्जन बढी साहित्यकारले प्रस्तुत दिएका थिए।

त्यस्तै सम्मान कार्यक्रममा बाेल्दै व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्याैपानेले जातीयविरूद्धकाे अभियनमा ऐक्यवद्धता जनाउने बताए। ‘साेचका कारण समाजमा जातीय विभेद भएकाे हाे, हामी पनि यस्ताे साेच परिवर्तनमा लागिरहेका छाैँ,’ मेयर न्याैपाने भने,‘हाम्राे गाउँमा आएर यहाँका प्रतिभालाई सम्मान र प्राेत्साहन गर्नुभएकाेमा धन्यवाद छ।’

त्यस्तै कार्यक्रमका सभापति रेशम विकले आफूहरू जातीय विभेदविरूद्ध लडिरहे पनि समस्या समाधान गर्न नसकेकाे बताए।

स्थानीयहरूकाे निक्कै उत्साहजनक सहभागिता रहेकाे कार्यक्रमकाे सञ्चालन अमृत भातगाउँलेले गरेका थिए।

तनहुँको दमौली बजारबाट करिव ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणीय गाउँ हो। ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्। गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान छर्लङ्ग देखिन्छ।

आँपस्वारावासीले वि.सं. २०७२ सालदेखि पर्यटनका माध्यमबाट छुवाछुत अन्त्य र आर्थिक विकास सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन्। हाल गाउँका १८ घरमा होमस्टे सञ्चालनमा छन।

आँपस्वारा दलित होमस्टेले ल्याएको सामाजिक परिवर्तन

प्रकाशित मिति: : 2022-06-30 14:57:00

प्रतिकृया दिनुहोस्