पाेखरा घुम्न आउँदा यी हुन् पुग्नै पर्ने ठाउँहरू

Breaknlinks
Breaknlinks

घुमफिरका लागि नेपालीकाे मात्र होइन, विदेशी नागरिकको समेत पहिलो रोजाइ पोखरा हुने गर्छ।

सुन्दर नगरीको उपमा पाएको पोखरा घुम्न त घुम्ने, तर कहाँ-कहाँ घुम्ने? कसरी जाने?

पोखरा पुगेपछि घुम्नै पर्ने ५ ठाउँबारे तपाईंलाई हामी बताउँदैछौं :

फेवाताल

पोखरा र फेवाताल पर्यावाची जस्ता लाग्छन्। पोखरा पुगेपछि फेवाताल घुम्न छुट्ने त कुरै भएन। फेवातालको सुन्दर दृश्य र तालको बिच भागमा रहेको तालबाराही मन्दिर दर्शन गर्न तपाईंहरु पक्कै आउनुभएको होला। नआउनु भएको भए पनि कुनै दिन आउनुभयो भयो यो जानकारीमूलक सामग्री तपाईंका लागि सहयोगी हुनेछ।

अँ साँच्ची, बाहिरी जिल्लाबाट पोखरा आउँदा तपाईं हवाई रुट या सडक रुट जुनसुकै रुट प्रयोग गर्न सक्नुहुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आउँदै छ। हाल सञ्चालनमा रहेको पोखरा डोमेस्टिक विमानस्थलमा अवतरण गरिसकेपछि तपाईं ट्याक्सी पक्रेर सजिलै फेवाताल पुग्न सक्नुहुन्छ। सार्वजनिक बस प्रयोग गर्न झन्झटिलो मान्नुहुन्न भने विमानस्थल अगाडिपट्टीबाट फेवाताल जाने बस समाउन पनि सक्नुहुनेछ।

सडक रुटको प्रयोग गरेर पोखरा आउँदै हुनुहुन्छ भने पृथ्वीचोकबाट फेवाताल जाने सार्वजनिक बस पक्रन सक्नुहुन्छ। पृथ्वीचोकमा पनि ट्याक्सी सहजै पाउन सक्नुहुनेछ। ट्याक्सी पक्रिनुभयो भने १० देखि १५ मिनेटभित्रमा फेवाताल पुग्नुहुनेछ। सार्वजनिक बसमा अलि समय तन्किन पनि सक्छ। २५ देखि ३० मिनेट सार्वजनिक बसमा लाग्न सक्छ।

तालबाराही

फेवाताल बिचमा छ, तालबाराही। तपाईं पृथ्वीचोकबाट चढ्नुभएको बस बाराही चोकमा रोकिन्छ। बाराही चोकमा बसबाट ओर्लिसकेपछि डुंगा चढेर तालबाराही जान सक्नुहुन्छ। डुंगामा चढ्दा लाइफ ज्याकेट लिइसकेपछि तपाईं प्राइभेट डुंगा लिएर ताल घुम्न पनि जान सक्नुहुन्छ। मन्दिर जान १०-१५ जना एकैचोटी अट्ने डुंगा पाइन्छ। तपाईं कुन माध्यम प्रयोग गर्नुहुन्छ यो तपाईंकै इच्छा।

ताल बिचमा रहेको मन्दिर धार्मिक आस्थाको केन्द्र त हो नै, ताल बिचबाट आँखाले भ्याउन्जेलसम्म देख्न सकिने फेवातालको पानीको सतहले साँच्चिकै मन लोभ्याउँछ। फेवातालमा प्राइभेट डुंगा लिएर पनि घुम्न सक्नुहुन्छ। तपाईंलाई बोटिङ गर्न आउँछ भने बोटिङको मज्जा लिन पनि सक्नुहुन्छ।

प्याराग्लाइडिङ/बञ्जी

पोखरा घुम्न आउँदै हुनुहुन्छ भने प्राकृतिक सँगसँगै एड्भेञ्चर्सको पनि उत्तिकै मज्जा लिन सक्नुहुन्छ। फेवातालमाथि हावा खाँदै प्याराग्लाइडिङ गर्नुको मज्जा बेग्लै छ। यसको लागि तपाईंले प्याराग्लाइडिङ गर्नैपर्छ।

२५ वर्षअघि नेपालमा पहिलोपटक पोखराबाट सुरु भएको प्याराग्लाइडिङ अहिले नेपालका धेरै ठाउँमा सञ्चालनमा आएका छन्।

नेपालकै पहिलो प्यारा पाइलटको अनुभव : झुण्डिएर आकाशमा उड्दा सबैले भने,‘मुटु भएकै छोरो रैछ’

पोखरामा ६३ प्याराग्लाइडिङ कम्पनी छन्। तपाईंले गुगलमा ती कम्पनीबारे सर्च गरेर कम्पनीको वेबसाइटबाटै टिकट बुक गर्न सक्नुहुन्छ। कम्पनीको कार्यालयमै पुगेर पनि टिकट बुक गर्न सकिन्छ। प्याराग्लाइडिङका अधिकांश कम्पनी लेकसाइडमा छन्।

पोखरामा प्याराग्लाइडिङ सँगै बञ्जीलगायतका अन्य एडभेञ्चर्स खेलहरु पनि छन्। हाल पोखरा १७ रातोपहिरोमा गो बञ्जी र हेम्जामा हाइ एडभेञ्चर्स नेपालले बञ्जीसहित विभिन्न एडभेञ्चर्स खेल सञ्चालन गर्छन्।

शान्ति स्तुपा, पुम्दीकोट, डेभिजलफल, गुप्तेश्वर

पछिल्लो समय पुम्दीकोटमा अवस्थित शिवजीको अग्लो मूर्ति एकदमै भाइरल छ। पोखरा घुम्न आउनेहरुका लागि अहिले पुम्दीकोट नयाँ गन्तव्यकाे रूपमा थपिएको छ। फेवातालको माथिपट्टी पुम्दीकोटमा अहिले पर्यटकको आइरो नै लाग्ने गर्छ।

पुम्दीकोट र शान्ति स्तुपा जानका लागि पृथ्वीचोकबाट स्याङ्जा-बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गलाई छोरेपाटनबाट छोडेर मास्तिर उक्लिनु पर्छ। पुम्दीकोट र शान्ति स्तुपा जान सार्वजनिक बस पनि छुट्छन्। ट्याक्सीबाट पनि सहजै जान सकिन्छ। आफ्ने प्राइभेट गाडी लिएर पनि सजिलै जान सकिन्छ। यहाँसम्म मोटरसाइकल र स्कुटर पनि सजिलै पुग्छन्।

शान्ति स्तुपा र पुम्दीकोट जाने बाटैमा छोरेपाटनमा डेभिजफल र गुप्तेश्वरको पनि अवलोकन गर्न सक्नुहुन्छ। पुम्दीकोट, शान्ति स्तुपा र डेभिजलफल एउटै रुटमा पर्ने भएकाले यी चारै ठाउँ एकैचोटी घुम्ने योजना बनाउनुभयो भने तपाईंको यात्रा अझै सहज हुनसक्छ।

महेन्द्र गुफा, चमेरे गुफा, सेती गर्ज, माउन्टेन म्युजियम र पोखराका तालहरु

एउटै ठाउँतिरका घुम्ने गन्तव्यमध्ये महेन्द्र गुफा र चमेरे गुफा पनि अर्का गन्तव्य हुन्, पोखराका। पृथ्वीचोकबाट बगर हुँदै दीप कटेर महेन्द्र गुफा घुमेर चमेरे गुफा घुमे हुन्छ। पृथ्वीचोकबाट यी गुफा जाने सार्वजनिक बस पनि पाइन्छ। तर, झन्झटिलो हुनसक्छ। तपाईं ट्याक्सी पक्रेर जानुभयो भने तपाईंको समयको बचत हुनसक्छ।

ट्याक्सी पक्रेर यहाँ जाँदा तपाईंलाई २० देखि ३० मिनेट लाग्न सक्छ। फर्किँदा बाटोमा सेती गर्ज अवलोकन गर्न सक्नुहुनेछ। त्यसबाहेक पोखरा तालैतालको सहर पनि हो। फेवाबाहेक बेगनास ताल, रुपाताल, मैदी, गुँदे, दिपाङ, खास्टे, न्युरेनी ताल पनि छन् पोखरामा।

अर्को कलपोखरी पनि छ। पृथ्वीचोकबाट पूर्वी भागमा पर्ने यी ताल घुम्ने योजना बनाउनुभयो भने तपाईंको थप अर्को एक दिन खर्च गर्नुपर्छ। माँझिकुना पनि पछिल्लो समय पर्यटकका लागि नयाँ गन्तव्य बनिरहेको छ।

यीबाहेक पनि पोखरामा घुम्न लायक थुप्रै ठाउँहरू छन्। अहिले पोखरा र पोखरा आसपासका दृश्य देखाउने उद्देश्यसहित पोखरा साइट सिन देखाउने बसहरु पनि सञ्चालनमा छन्। यी बसहरुले प्याकेजमा पोखराका घुम्ने केही स्थानहरु घुमाउने गर्छन्।

पाेखराका गुमनाम तालहरु (तस्विरहरू)

प्रकाशित मिति: : 2022-07-27 06:00:00

प्रतिकृया दिनुहोस्