महरा भर्सेस शंकरः दाङ क्षेत्र नम्बर २ मा को कति बलियो? 

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शंकर पाखरेल दाङका प्रभावशाली नेताहरू हुन्। जसले राष्ट्रिय राजनीतिमा राम्राे प्रभाव पार्न सक्छन्।

महरा सभामुखसमेत भइसकेका शीर्ष नेता हुन्, पोखरेल लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री। पार्टीमा दुबै नेताहरूको प्रभाव राम्रै छ। यी दुई नेता ०७४ को अघिल्लो आम निर्वाचनमा बाम गठबन्धन बनाएर तत्कालीन नेकपाबाट विजयी बने।

माओवादी र एमाले एउटै पार्टी बनाउने सन्देशसहित चुनावी गठबन्धनमा होमिएका यी दुई नेताहरूले कांग्रेसका उम्मेदवरलाई हराउन सफल भए। अघिल्लो निर्वाचनमा सँगै विजयी उत्सव मनाएका महरा र पोखरेल आउँदाे मंसिर ४ काे निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट भिड्दैछन्। 

दाङ क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यमा ०७४ को निर्वाचनमा महरा विजयी बने। प्रतिद्वन्द्वी कांग्रेसका राजु खनाललाई १२ हजार २७२ मतान्तरले पराजित गरेका थिए। महराले ३८ हजार ३०८ मत पाई विजयी भए भने खनालले २६ हजार ३६ मत प्राप्त गरे। 

यस्तै, पोखरेल ०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा दाङ क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए। पोखरेलले प्रतिस्पर्धी कांग्रेसका कमल किशोर घिमिरेलाई ९ हजार ३२५ मतले हराएका थिए। पोखरेलले २० हजार ४ सय ९४ मत पाएका थिए भने घिमिरेले ११ हजार १ सय ६९ मत प्राप्त गरेका थिए। 

आउँदाे मंसिर ४ काे निर्वाचनमा पाँचदलीय गठबन्धनबाट महरा र एमालेबाट पोखरेल भिड्दै छन्। यी दुई प्रभावशाली नेता चुनावमा भिड्ने आँकलनसँगै जिल्लाको बेग्लै चुनावी राैनक छ। गठबन्धनबाट महरा उठ्दा शंकरलाई जित्न कति सहज वा महरालाई कति असहज भन्ने चर्चा भइरहेका छन्।

तर एमाले नेताहरू भने गठबन्धन नै भएपनि शंकर पोखरेलले जित्नेमा दाबी गर्छन्। एमाले नेताहरूको दाबी जस्तो चुनाव जित्न पोखरेललाई सहज नभएको नागरिक समाज दाङका पूर्वअध्यक्ष चन्द्रराज पन्तको अनुमान छ। ‘अहिले नै को चुनावमा उठ्ने? कस्तो चुनावी घोषणा पत्र लिएर आउने भन्ने थाहा छैन,’ उनले भने, ‘तर दुबै प्रभावशाली नेताहरू हुन्। चुनाव जित्न दुबैलाई सहज छैन।’

एमाले नेताहरू भने स्थानीय तहको निर्वाचनमा घोराही र तुलसीपुर उपमहानगरपालिका जितेकाले निर्वाचन क्षेत्र नं १ र ३ भन्दा २ नम्बरमा सहजै जित हासिल गर्नेमा ढुक्क देखिन्छन्। अर्को तर्फ लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ तोक्न पोखरेलको भूमिकालाई लिएर पनि एमाले नेताहरू पोखरेलले जित्नेमा आशावादी छन्। 

यदि गठबन्धनबाट महरा शंकरसँग प्रतिस्पर्धामा होमिए उनको पनि जित सुनिश्चित छ भन्न नसकिने नागरिक समाज दाङका पूर्वअध्यक्ष पन्त बताउँछन्। पाँचदलीय गठबन्धन ठूलो शक्ति हुने भएपनि स्थानीय तहको निर्वाचनले गठबन्धको मर्मअनुसार जित हासिल हुन नसक्नुले महरालाई चुनाव जित्न सहज नरहेको उनको आँकलन छ। 

अर्को तर्फ महरा प्रभावशाली नेता भएपनि अहिले दाङ जिल्लामा माओवादी नेताहरूले धमाधम पार्टी त्याग्दै गएका छन्। तत्कालिन दाङ जिल्ला इन्चार्ज जीवन गौतमले स्थानीय तह निर्वाचनका समयमा पार्टी छाडे, पछि एमालेमा प्रवेश गरे। यसले पनि महरालाई चुनाव जित्नमा कठिन पर्ने देखिन्छ। 

यस्तो छ स्थानीय तहको मत

क्षेत्र नंम्बर २ मा बंगलाचुली गाउँपालिकासँगै घोराहीका १४ वटा र तुलसीपुरका ४ वटा वडा पर्दछन्। स्थानीय तह निर्वाचनमा सबै वडासँगै पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित निकालेको थियो। बंगलाचुली र घोराही १९ बाहेक अन्य क्षेत्रमा भने एमाले बलियो देखिन्छ। 

तुलसीपुरका ४ वटा वडामध्ये १७ मा एमाले र १८, १९ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए। १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएको थिए। 

यस्तै घोराहीका १४ वटा वडा मध्ये अधिकांशमा एमालेले विजयी प्राप्त गरेका थियो। वडा नं १९, १०, १५, १३, १६ र ९ नम्बर वडामा गठबन्धनका उम्मेदवार अध्यक्षमा विजयी भएका थिए। एमालेका उम्मेदवार ४, १८, १४, ११, १२, ८, ७ र १७ मा एमालेका उम्मेदवार विजयी भएका थिए। 

स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने मत परिणाम एमालेको पक्षमा देखिन्छ। तर पाँच दलीय गठबन्धनको मर्मअनुसार मत खसेमा शंकर पोखरेललाई चुनाव जित्न सहज नहुने राजनीतिक वृत्तमा चर्चा छ। 

एमाले भने पाँच दलीय गठबन्धन भएपनि निर्वाचनमा पार्टी सदस्यबाहेक स्वतन्त्र नागरिक आफ्नै पक्षमा भएको दाबी गर्छ।

प्रकाशित मिति: : 2022-08-18 21:40:00

प्रतिकृया दिनुहोस्