प्रदेश १ को भावी मुख्यमन्त्रीमा कुल दलबाट को ?

प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री शेरधन राई र भीम आचार्य प्रतिनिधिसभाको उम्मेदवार बन्दा हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेशमै दोहोरिएका छन्।

२३ असोजमा दलहरुले प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगमा मनोनयन दर्ता गरिसकेका छन्। दुई पूर्व मुख्यमन्त्रीले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गर्दा अबको मुख्यमन्त्रीमा कुल दलले कसलाई उम्मेदवार बनाए भन्ने विषयले चर्चा पाएको छ।

प्रदेश १ सरकारको करिब साढे तीन वर्ष नेतृत्व गरेको एमालेका शेरधन राई र भीम आचार्य प्रतिनिधिसभामा जाँदा एमालेबाट मुख्यमन्त्रीको दौडमा दुई नेता देखिएका छन्। राई भोजपुर र आचार्य सुनसरी २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्।

शेरधन राई नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका हिक्मत कार्की एमालेबाट मुख्यमन्त्रीको प्रमुख दावेदार हुन्। कार्की एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र रहेको झापा ५ को प्रदेश (ख) बाट उम्मेदवार बनेका छन्। उनी हाल एमालेका स्थायी कमिटी सदस्य छन्।

कार्कीसँगै शेरधन राईको मन्त्रीमण्डलमा रहेका जीवन घिमिरे पनि मुख्यमन्त्रीको दौडमा छन्। मोरङ क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन्। पूर्व सामाजिक विकासमन्त्रीसमेत रहेका घिमिरे हाल  एमालेको केन्द्रीय छन्।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दौडमा चार नेता छन्। संसदीय दलका नेतासमेत रहेका केन्द्रीय सदस्य राजीव कोइराला मुख्यमन्त्रीको दावी गर्दै पुनः प्रदेशसभाको उम्मेदवार बनेका छन्। प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहेका उनी मुख्यमन्त्रीको आकांक्षीसहित सुनसरी क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटका उम्मेदवार बनेका हुन्।

मुख्यमन्त्रीमा मोरङबाटै कांग्रेसका दुई नेताले दावी गरिरहेका छन्। प्रतिनिधिसभामा चुनाव लड्न चाहेका संविधानसभा सदस्यसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मुख्यमन्त्रीको दावी गर्दै प्रदेशको उम्मेदवार बनेका हुन्। उनी मोरङ ५ (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन्। यो क्षेत्र गठबन्धनबाट माओवादीको भागमा परेपछि अर्याल मुख्यमन्त्रीको दावी गर्दै प्रदेशमा उम्मेदवार बनेका हुन्।

यस्तै, विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली पनि मुख्यमन्त्रीको दौडमा छन्। प्रतिनिधिसभामा दावी गरेका पराजुली उक्त क्षेत्र माओवादीको भागमा परेपछि मोरङ ४ (ख) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन्।

समानुपातिकबाट प्रदेश सांसदको पहिलो नम्बरमा रहेका काँग्रेसका प्रदेश १ सभापति उद्धब थापा पनि मुख्यमन्त्रीको दौडमा छन्।

गठबन्धनबाट प्रदेशसभामा बहुमत आएको खण्डमा र आफ्नो भागमा पर्ने सम्भावनका साथ मुख्यमन्त्रीमा दावी गर्दै हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेशसभाकै उम्मेदवार बनेका छन्। नकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राई भोजपुर (क) बाट उम्मेदवार बनेका छन्।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीको दौडमा छन्। आङ्बो दोस्रो पटक पाचँथर (ख) बाट चुनावी प्रतिस्पर्धामा छन्। गठबन्धनबाट आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएमा आङबो मुख्यमन्त्री बन्नेछन्।

प्रकाशित मिति: : 2022-10-12 20:20:00

प्रतिकृया दिनुहोस्