
सुनिल कार्की
झिसमिसे बिहानीमा गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए। पाल्पाको बगनासकाली गाउँपालिका–७ दैलातुका गजवीरको गोठ गत वर्ष फागुनमा आगोले जलेको थियो। उनी भन्दै थिए, ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु।’
यहाँ ३२ घरसहित बोटेमाझीको बस्ती छ। गजवीर, बोटे समुदायका अगुवा हुन्। ८२ वर्षीय गजवीरले प्रजातान्त्रिक आन्दोलनलाई सफल पार्न यो क्षेत्रबाट अगुवाइ गरेका थिए। पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२/६३ मा जनआन्दोलनको नेतृत्व गरेका गजवीर अहिले आफ्नै छाक टार्न धौधौ पर्ने अवस्थामा छन्।
६८ वर्षीया श्रीमतीसँगै बस्दै आएका उनका ६ छोरा र ४ छोरी छन् तर कोही पनि साथमा छैनन्। यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ। यहाँका बोटे समुदायले डुङ्गा तार्ने काम गर्थे। दैलातुङ्गदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जाने गर्थे।
गजवीरले १३ वर्षको उमेरदेखि डुङ्गा तार्ने काम गर्दै आएका थिए। तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा अहिलेजस्तो पुल थिएन। सर्वसाधारणलाई नदी वारिपारि गर्न डुङ्गाको सहारा लिनुपर्थ्यो। मान्छेलाई वारिपारि गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो।
अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुङ्गा गण्डकी किनारमा फालिएको छ र उनको आम्दानीको स्रोत बन्द भएको छ। यही क्षेत्रका रुकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो। ६९ वर्षका रुकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो।
गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आएका उनले आफ्नो जीवनकालमा ६ पटक संसदीय निर्वाचनमा भोट हाले। ‘पहिला पहिला त घर आएर भोट माग्थे, यसपालि आएका छैनन्’, उनले भने, ‘यही माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन्।’
रुकबहादुरको घरनजिकै खानीगाउँ दैलातुङ्ग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो छ। पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो क्षेत्र लुम्बिनी प्रदेशको २ (१) हो। यहाँबाट २०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय निर्वाचित भएका थिए।
त्यसैगरी प्रदेशसभातर्फ नेपाली कांग्रेसका वीरबहादुर रानाले जितेका थिए। रानाको जन्मघरसमेत यसै वडामा पर्छ। उनी अहिले लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत छन्। पाण्डेय र राना दुवै अहिले गठबन्धनको तर्फबाट पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा उमेदवार बनेका छन्। अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन्।
वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मी/डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जान्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन्। यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन।
‘घर उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैनन्’, स्थानीयवासी पवित्रा बोटे भन्छिन्, ‘हामीलाई के नै चाहिएको छ र? दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो।’ बोटे बस्तीमा नेपाल सरकारले जनता आवास कार्यक्रमबाट बस्नका लागि घर निर्माण गरिदिएको थियो। स्थानीयवासी पवित्रा बोटका अनुसार ३२ घर बोटे परिवार रहेको बस्तीमा आठ वटा मात्र घर बनेका छन्।
बाँकी घर झुपडी र टिनको छाप्रोयुक्त छन्। कूल जनसंख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ। नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन्। यसमा बोटे र माझी पनि पर्छन्।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
हामी नेपाली सोझा कि मूर्ख?
कहाँ पुर्याउला जनार्दन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया