लुम्बिनीकाे राजधानी बुटवलमा सार्ने सपना कसैले नदेख्दा हुन्छ : मेटमणि चाैधरी

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्याकाबाहेक अन्त लैजान सम्भव नरहेको बताएका छन्।

चाैधरीले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने,‘दाङको राप्ती वरिपरिबाहेक लुम्बिनी प्रदेश राजधानी अन्त लग्ने कसैले सपना नदेख्दा हुन्छ। एकचोटी संसदबाट बहुमतले पारित भएको कुरालाई अरु दुई/चार जनाले सपना देखेर सार्न सकिदैन।’

वाम लाेकतान्त्रिक गठबन्धनले पहिले नै प्रदेश राजधानी दाङमा बनाउने निर्णय गरेकाेले पुन: सार्न सम्भव नरहेकाे उनकाे भनाइ छ। उनले लुम्बिनीबाट निर्वाचित सांसदहरुले अब छिटो नै प्रदेश राजधानीबाट काम कारबाही सुरु गर्नकाे लागि जाेडताेडका साथ लाग्ने बताए।

‘छिटो भन्दा छिटो प्रदेश संसद नै दाङमा बसाउने कुरामा जोड गरिरहेको छु। त्यो सँगै केही कार्यालय भवनहरु तयार भएका छन्, अब चाँडै नै सबै मन्त्रालयहरुका भवन निर्माण गरेर दैनिक रुपमा प्रशासनिक कामहरु पनि यहीँबाटै सुरु गर्ने तयारी भइरहेको छ। हामी यसका लागि खटिरहेका छौँ,’ चाैधरीले भने।

वाम लोकतान्त्रिक गठबन्धनलाई दाङमा जनताले विश्वास गरेकाले एकढिक्का भएर अगाडि बढ्ने उनको भनाइ छ। ‘संविधान र लोकतान्त्रिक व्यवस्थापिकाकाे संरक्षणका निम्ति बनेको हाम्रो वाम लोकतान्त्रिक गठबन्धनलाई जनताले विश्वास गरे। त्यसैले अब हामी दाङमा एकढिक्का भएर अगाडि बढ्छाैँ,’ उनले भने।

लुम्बिनी प्रदेशकाे राजधानी दाङ र अर्घाखाँचीमा पर्ने भालुवाङमा राख्ने निर्णय बहुमतले पारित भए भएकाे थियाे। तर, प्रदेश राजधानी बुटवलमै राख्नपर्ने भन्दै चर्काे आवाज उठेरहेकाे छ। राजधानी बुटवल बनाउने पक्षमा एमाले उपाध्यक्ष विष्णु पाैडेल तथा काँग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाँण लगायत नेताहरु बलियाे रुपमा उभिएका छन्।

प्राविधिक शिक्षालयले उपयोग गरेको जग्गा तथा संरचना प्रदेश सरकारलाई उपभोग गर्न दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को २०७८ चैत १ गते बसेको बैठकले निर्णय गरेको थियो। प्रदेश राजधानी भालुवाङमा गर्ने निर्णय भए पनि त्यहाँ मन्त्रालय स्थापना हुन सकेका छैनन्। अहिले सबै मन्त्रालयका काम कारबाहीहरु अस्थायी राजधानी रुपन्देहीकाे बुटवलबाट भइरहेकाे छ।

अस्तव्यस्त लुम्बिनीकाे स्थायी राजधानी : भवन निर्माणमा ढिलासुस्ती, रित्ताे मन्त्रालयमा घाम तापेर दिन कटाउँछन कर्मचारी (भिडियाेसहित)

प्रकाशित मिति: : 2022-11-27 13:40:00

प्रतिकृया दिनुहोस्