रवि लामिछाने अमेरिकी दलाल हुन् उनलाई चुनावमा हराएर देशकाे रक्षा गर्नु मेराे कर्तव्य हाे: जनकराज शर्मा (भिडियाेसहित)

नागरिकता प्रकरणमा रवि लामिछानेकाे सांसद पद खारेज भएपछि रिक्त रहेकाे चितवन क्षेत्र नं. २ मा आगामी वैशााख १० गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनकाे लागि यतिबेला विभिन्न राजनीतिक दलहरुले दाैडधुपलाई तीब्रता दिइरहेका छन्। साे निर्वाचन क्षेत्रबाट यसअघि भारी मतले विजयी बनेका रवि लामिछानेले चुनाव लड्ने निश्चित छ। भने, यस क्षेत्रमा विभिन्न पार्टीका अन्य नेताहरुले पनि चुनावी प्रतिस्पर्धा गर्ने आकांक्ष व्यक्त गरिरहेका छन्।

साे निर्वाचनकाे लागि राष्ट्रिय जनमाेर्चाले त उम्मेदवार नै टुङ्गाे लगाइसकेकाे छ। जनमाेर्चाले रविसँग प्रतिस्पर्धा गर्नकाे लागि पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई मैदानमा उतारेकाे छ। चुनावी तयारीमा रहेका उनै शर्मासँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले समसामयीक विषयमा रहेर गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने योजना कसरी बनाउनु भयो ?

मलाई पार्टीले सर्वसम्मत रुपमा त्यहाँकाे उम्मेदवार बनाएकाे हाे। अहिले देशमा राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि अमेरिकन साम्राज्यवादी लगायतका अन्य साम्राज्यवादी शक्तिहरुले हमला गरिरहेका छन्। ती हमलाबाट देशलाई जाेगाउनु पर्ने छ। त्यसैले चितवनको निर्वाचनलाई साम्राज्यवादी शक्तिहरुको हमलाविरुद्धको आन्दोलनको रुपमा प्रस्तुत हुँदैछु।

सो निर्वाचन क्षेत्रमा रास्वपा सभापति रवि लामिछानेले उम्मेदवारी दिने निश्चित छ। रविजीसँग प्रचण्डसमेत डराएर गोरखा जानु भएको थियो, तपाईंलाई डर लागेकाे छैन ?

निर्वाचनमा व्यक्तिले जित्ने कुराले महत्व राख्दैन। मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता सुरक्षित हुन्छ वा हुँदैन भन्ने कुरा महत्वपूर्ण हो। निर्वाचनमा हार्छौँ वा जित्छौँ त्यो गौण कुरा हो। मुलत हामीले पश्चिमा साम्राज्यवादी शक्तिलाई परास्त गर्न सक्छाैँ कि सक्दैनाैँ भन्ने कुरा महत्वपूर्ण हाे। हाम्रो आन्दोलन भनेकै पश्चिमा साम्राज्यवादी शक्तिहरुको जुन नेपालमा बिगबिगी बढिरहेको छ, त्यसलाई कमजोर पार्नु हाे।

हाम्रो रवि लामिछाने व्यक्तिप्रति कुनै विरोध होइन। जसरी अमेरिकी साम्राज्यवादी शक्तिहरुले परिचालन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नाे उद्देश्य पूरा गर्नका लागि साम्राज्यवादी शक्ति परिचालन गरेको छ, त्यसकाे विरुद्धको संघर्ष हो। बाहिरी रुपमा हेर्दा निर्वाचन जित्नका लागि लडिन्छ र जितिन्छ पनि। साम्राज्यवादी शक्तिलाई हराउनका लागि मेरो उम्मेदवारी हो।

रास्वपा कसरी साम्राज्यवादी शक्तिहरुकाे एजेण्ट भयाे ?

रास्वपा साम्राज्यवादी शक्तिहरुले डिजाइन गरेर अगाडि बढेको पार्टी भएकाले उनीहरले वास्तविक जनताको आधारभूत आवश्यकतालाई हल गर्न सक्दैनन्। सरकारमा रहेका पार्टीहरुले जनताप्रति ज्यादती गरेका थिए, त्यसको विकल्पको रुपमा जनताले रास्वपालाई मत दिएका हुन्। अहिले अमेरिकी साम्राज्यवादीहरुले रास्वपालाई आफ्नाे पक्षमा ढाल्न खाेज्दै छन्। रास्वपा नेपालमा अझै बलियाे एजेण्टाका रुपमा खडा हुँदैछ। साम्राज्यवादी शक्तिहरुले कुनै पनि मुलुकको सत्तासिन पार्टीहरुसँग मिलेर उद्देश्य पूरा गर्न खोज्दैछन। साम्राज्यवादीहरुले रास्वपालाई स्थायी प्रकारको शक्तिका रुपमा खडा गर्दैछन। र, पात्रको रुपमा रवि लामिछाने अगाडि आएका छन्। त्यसैले निर्वाचन जितेर नेपाली जनता र राष्ट्रको हितको पक्षमा काम गरे वा गरेनन् भन्ने कुरा प्रमुख हुन्छ।

नेपालमा एमसीसी पारित भइसक्यो र एसपीपी पारित गर्न खाेजिँदैछ। स्वार्थका लागि धर्म, भाषा, जात आर्थिक प्रलोभन देखाएर मुलुकमा राजनीतिक शक्तिको स्थापना हुँदैछन्। नेपाल र नेपालीको अस्तित्व कायम गर्नका लागि हामी तयार भएका हौँ। रवि लामिछानेभन्दा पनि साम्राज्यवादीले जित्छ कि राष्ट्रले जित्छ भन्ने कुरा प्रमुख रहन्छ। हामी साम्राज्यवादीहरुलाई जिताउनु हुँदैन भनेर आएका हौँ।

तपाईंको भाषामा साम्राज्यवादी शक्ति अर्थात् रवि लामिछानेलाई हराएर चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

भौतिक रुपमा उम्मेदवारीले जित्न नसक्ला तर हाम्रो एजेण्डाले जित्नुपर्छ। जसरी साम्राज्यवादी शक्तिहरु सलबलाइरहेका छन्, तिनीहरुलाई कमजोर पार्न मेरो उम्मेदवारीले मुख्य रुपमा भूमिका खेल्नेछ।

तपाईंले चुनाव जित्ने आधारहरु के-के हुन् ?

साम्राज्यवादी शक्तिहरुले नेपालको सार्वभौमिकता, राष्ट्रियता, स्वतन्त्रता र राष्ट्रिय स्वाधिनतामाथि हमला गरिरहेका छन्, हामीलाई पराजित गर्दै शक्तिमा आउँदैछन्, सत्तासिनहरुलाई प्रयोग गरेर नेपालमा प्रवेश गरेका छन्। उनीहरुलाई कमजोर पार्नु हाम्रो विजयी हो। निर्वाचनमा ठुलो शक्ति भनिनेहरुले हारे तर अमेरिकी साम्राज्यवादी शक्तिहरुले जितेका कारण उनीहरुलाई कमजोर पार्नु नै मेरो जित हो।

रवि लामिछानेसँग निर्वाचन लड्नु भनेको चर्चा हुनु पनि हो, तपाईंको उम्मेदवारी चर्चाका लागि त होइन नि ?

व्यक्ति तथा पार्टीको चर्चाका लागि मेरो उम्मेदवारी होइन। किनभने, हामी राष्ट्र र जनताप्रति गम्भीर छौँ। साम्राज्यवादी र प्रतिगामी शक्तिलाई हराउँदै आजसम्म भएका उपलब्धीहरुलाई रक्षा गर्नु हाम्राे कर्तव्य हाे।

हाम्राे मुलुकको भूमिलाई प्रयोग गर्न आर्थिक प्रलोभन देखाएर र गरिबीको फाइदा लिँदै पश्चिमा शक्तिहरुले जसरी फाइदा लिँदैछन्, त्यसलाई मध्यनजर गर्दै राष्ट्रवादी शक्ति एक हुन जरुरी छ। रवि र उनको पार्टीको गुलिया गफ भाषण सुनेर चर्चामा लाग्नु अहितकाे कुरा हो। मुलुकमाथिको अहितको एजेण्डालाई कमजोर बनाउन र अमेरिकाको डिजाइनलाई पराजित गराउनका लागि हामी जुर्मुराएका हाैँ।

दैलेखको मान्छे चितवन जाँदा जनताले पत्याउलान्, चितवनमा तपाईंकाे के योगदान छ ?

योगदानको कुरा गर्ने हो भने चितवन क्षेत्र नं. २ मा पहिला विजयी हुन रवि लामिछानेकाे के याेगदान थियाे ? मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने विदेशी नागरिकता लिएका व्यक्तिले नेपालको कानुनलाई छलेर राहदानी बनाउने, नेपालको नागरिक नभए पनि संसदमा भाग लिने यस्तो स्थितिबाट जितेका रविको योगदान के ?

अथवा, त्यो भन्दा पहिले चितवनबाट निर्वाचन जितेकाहरुबाट देशले के पायो ? अहिलेसम्म नेपाली जनतालाई कसले के दिए ? पश्न गर्नु पर्दैन ? क्षणिक समयमा कसकाे याेगदान के भनेर खोज्नु पर्दैन। दैलेखको मान्छे चितवनमा के योगदान भन्ने कुरा गरिरहँदै गर्दा मैले यो राष्ट्र बचाउनका लागि मेरो योगदानको कदर गर्दै मलाई उम्मेदवार बनाइएकाे छ। दैलेखको नागरिक मात्र होइन, राष्ट्रको नागरिक अर्थात् राष्ट्रवादी सोच राख्ने व्यक्ति भएकाले मलाई टिकट दिइएको हो।

तपाईंको पार्टी अहिले सत्ता गठबन्धनमै छ, फेरि गठबन्धन गरेर चुनावमा जाने कुराले तपाईंलाई राेकियाे भने के गर्नुहुन्छ ?

निर्वाचनको सवालमा हामी गठबन्धनमा छैनौँ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ, त्यसलाई गठबन्धनमा सामेल भएको मानिँदैन। गठबन्धनबाट निर्वाचनमा गएर चुनाव जित्नु मात्र महत्व होइन, अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध लाग्नु आजको आवश्यकता हो। अमेरिकी साम्राज्यवादहरुसँगको लडाइँ भएकाले चुनावी गठबन्धनमा रहदैनौँ। उपनिर्वाचनमा हाम्रो गठबन्धन हुँदैन।

जसलाई अमेरिकी साम्राज्यवादी शक्ति भन्दै हुनुहुन्छ, उनीहरुसँग सरकारमा हुनुहुन्छ अलिकति नैतिकता भन्ने हुँदैन र ?

यो सरासर गलत हो। हामी सरकारमा छैनौँ, सरकारलाई सर्मथन गर्नु भनेको सरकारमा जानु होइन। हाम्रो पार्टी सरकारमा गएको भए मन्त्री हुन्थे त, कतै देख्नुभएको छ ? समर्थन र सरकारमा जाने कुरा फरक हाे, हामी विपक्षमा छौँ। अहिले एउटा एजेण्डामा मिलेर एक भएका हौँ। इतिहासमा पनि गणतन्त्र रोज्ने शक्तिहरु एक भएका थिए। हामी गणतन्त्र, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एक भएका हौँ।

प्रतिगमन अहिले पनि सच्चिएको छैन, खतरा उस्तै छन। त्यसैले अग्रगमनका शक्ति एक हुँदै सरकारलाई समर्थन दिएका हौँ। साम्राज्यवादी शक्तिहरुले नेपाललाई मुठ्ठीमा राख्न खोजेकाले चितवनको निर्वाचनमा हामी गठबन्धन गरेर जादैनौँ। अहिले सत्तामा रहेका दलहरुमध्ये रवि लामिछानेको पार्टी पनि सरकारमा जाने भएकाले हामी त्यसको विपक्षमा जान लागेका हाैँ।

सिमित ठाउँको निर्वाचन हो, प्रत्येक उम्मेदवारले आफ्नाे पूरै शक्ति लगाउलान्, यस्तो अवस्थाबाट जित्नका लागि तपाईं कसरी तयारीमा हुनुहुन्छ ?

हाम्रो जति शक्ति छ, त्यो शक्ति यो उपनिर्वाचनमा खडा गर्छौँ। मैले पहिलै भनिसकेकाे छु जित/हार भन्दा पनि अमेरिकी साम्राज्यवादको उद्देश्यलाई कमजोर बनाउनका निम्ति हाम्रो शक्ति परिचालन गर्ने तयारीमा लागेका छौँ। हाम्रो भिजन जनता र राष्ट्रको पक्षमा रहेकाले चितवनका जनताले समर्थन गर्नुहुन्छ। हाम्रो जित निश्चित छ।

तपाईंले निर्वाचन जिते चितवनमा के हुन्छ ?

एउटा क्षेत्रको उम्मेदवारले निर्वाचन जितेपछि त्यो क्षेत्रका जनताले भोगिरहेका समस्या समाधान, विकास निमार्णलगायतका कुरामा सामेल हुने कुरा स्वभाविक रहन्छ। मुल रुपमा हामीले जिते मुलुक साम्राज्यवादी शक्तिको चुङगुलबाट बच्न सक्छ।

जनता अनेकौँ समस्यामा छन्, तपाईंहरु खाली गणतन्त्र र संविधानको कुरा गर्नुहुन्छ ? गणतन्त्रबाट जनता के पाए जनताहरु कहिलेसम्म भ्रममा बाँच्ने ?

अहिले सत्तामा पुगेका दलहरु सहजै रुपमा सत्तामा पुगेका होइनन्। आज सबैलाई सत्तामा पुर्‍याउने जनता नै हुन। जनताले सत्तामा पुर्‍याएपछि हाम्रो दैनिक समस्याको समाधान हुनछन् भन्ने लागेर सत्तामा पुर्‍याए। अहिले शत्तासिन पार्टीहरुले जनताको समस्याको समाधान गर्न सकेनन्, अझ राष्ट्रियताको रक्षासमेत गर्न सकेनन्। यसो भनिरहँदै गर्दा पञ्चायत र राणा कालको अवस्था भन्दा पनि आजको लोकतन्त्र एक कदम माथि छ र आज हामी यसरी बहस गर्न पाएका छौँ। आज हिजोको जस्तै लुक्नुपर्ने डराउनुपर्ने अवस्था छैन। अहिले जुन सहजै आफ्नाे विचार राख्न पाउने अवस्थामा आएका छौँ, यो पनि एक प्रकारको उपलब्धी हो। व्यवस्था परिर्वतन भए। तर, जनताको अवस्था परिर्वतन भएका छैनन्। जनताको अवस्था परिर्वतनका लागि जनता आफैं जाग्नुपर्छ। हामी जनता जगाउन लागिरहेका छौँ तर जनताले विश्वास दिन नसक्ने र विभिन्न एजेण्डहरुका गुलिया गफ सुन्ने र जसले उनीहरुमाथि शाेषण दमन गर्ने गरिरहेका छन्, उनीहरुलाई नै अगाडि लिरहेकाले जनताले गणतन्त्रको महसुस गर्न पाएका छैनन्। जनता चेतनशील हुन जरुरी छ। व्यवस्था मात्र होइन, अवस्था नै परिर्वतन हुनेछ।

अन्त्यमा, जनताको अवस्था परिर्वतनका लागि लागेका शक्तिहरु किन मिलेर जान सक्नुहुन्न ?

अहिलेको व्यवस्था भनेको बुजुर्वा व्यवस्था हो। यो आधारभुत वर्गको व्यवस्था होइन। मुठ्ठीभरका शाेषक सामान्ती र हुने खानेहरुको व्यवस्था हो। ऐन, कानुन, नियम जे जति छन्, यो सबै हुनेखाने वर्गको व्यवस्था हो। त्यसैले आधारभूत वर्गको व्यवस्था आए मात्र सबै सर्वसाधारण गरीब, किसान, मजदुर, जनजाती पिछडिएका वर्गहरुको यो व्यवस्थाले मुक्ति हुन सक्दैन। आफनो अधिकारका लागि स्वयम् आफैं उठ्न जरुरी छ। बुजुर्वा व्यवस्थाबाट जनवादी व्यवस्था खोज्न मिल्दैन। राष्ट्रिय जनमोर्चा निरन्तर आवाज उठाएको छ।

प्रकाशित मिति: : 2023-03-24 21:30:00

प्रतिकृया दिनुहोस्

    ए बाजे कौडा खेलेको खाल मा च्यांखे थाप्न पो आउनु भएको ।😍😍😍😍🤣🤣🤣

    • एक बर्ष अगाडि
    • Ramesh adhikari