अल जाराफाको ठगी धन्दामा फसेर दुबईमा अलपत्र परे धादिङका रविन

रविन गत माघ १७ गते दुबई उडे। उनी दुबई पुगेपछि थापा र खड्काका मानिस विमानस्थलमै लिन पुगेका थिए। दुबईमा पनि सहयोग गर्ने व्यक्तिहरू भेटेपछि उनी ढुक्क भएर बसे।

उमेश थापा

काठमाडौँ

लाऊ लाऊ खाऊ खाऊ भन्ने उमेरमै धादिङ गजुरी गाउँपालिका–१ का रविन सुनार रोजगारीको लागि विदेश जान बाध्य भए। राम्रो काम र दामको आशामा दुबई जाने सोच बनाएका उनलाई सिनामंगलमा रहेको अल जाराफा ह्युमन रिसोर्स कन्सल्टटेन्ट प्रा.लि.ले भिजिट भिसा (पर्यटक भिसा) दिलायो।

अल जाराफाले सुन्दर सपना देखाएर रविनलाई भिजिट भिसामा दुबई जान सुझाव दिएको थियो। अल जाराफाको सुझावअनुसार रविनले हतार–हतार काठमाडौँ आएर राहदानी (पासपोर्ट) बनाए। म्यानपावरले अर्‍याएअनुसार रविनले पासपोर्टको काम छिटो सक्नको लागि मोटो रकम खर्चिएर एजेण्टको समेत साहरा लिए।

उनी पासपोर्ट बनाई म्यानपावर कम्पनीलाई बुझाएर घर फर्किए। घर फर्किएको हप्तादिनमै म्यानपावरका कर्मचारीले उनलाई काठमाडौँ बोलाए।

उनलाई काठमाडौँ बोलाउने कर्मचारी हुन्, दीपेन्द्र थापा र दिनेश खड्का। एकहप्तामै काठमाडौँ बोलाएपछि रविनलाई लाग्यो, काम त छिटै हुने भयो। उनले तत्काल मेडिकल गरे। बैंकमा पैसा डिपोजिट गरे। म्यानपावरका ती दुई कर्मचारीले उनलाई सुरूवातमा २ लाख २० हजार पैसा लाग्ने बताएका थिए। रविनले सो रकम साथीभाइहरूसँग ऋण मागेर जुटाए।

रविनले साथीभाइसँग हार–गुहार गरेर ल्याएको पैसा थापा र खड्काको हातमा थमाए। उनीहरूले रविनलाई दुबईमा भनेजस्तो काम पाइने, तलब पनि डबल हुनेजस्ता आश्वासन दिएर पैसा लिएका थिए।

रविन गत माघ १७ गते दुबई उडे। उनी दुबई पुगेपछि थापा र खड्काका मानिस विमानस्थलमै लिन पुगेका थिए। दुबईमा पनि सहयोग गर्ने व्यक्तिहरू भेटेपछि उनी ढुक्क भएर बसे।

माघ २० गतेदेखि रविन जिमिनी कम्पनीमा कामको लागि जोडिए। म्यानपावरले भने नेपालबाट उनलाई प्याकिङको काम भनेर पठाएको थियो। तर, त्यहाँ त काम निकै गाह्रो पर्‍यो। रविनले नेपालबाट दुबई गएर प्याकिङको काम गर्न पाइन्छ भन्ने सोचेका थिए। तर, त्यहाँ गएर उनलाई सुरूमै सिमेन्ट बोक्नुपर्ने, रङ्गका ठुल्ठूला डिब्बाहरू ओसार्नुपर्ने, झ्याल, फलाम र रड बोक्नुपर्ने भयो।

रविनलाई दुबई पुगेपछि थाहा भयोे कि सो कम्पनी त दुबईभरि रहेछ भन्ने। उनलाई थापा र खड्काले जिमिनी कम्पनी दुबईको उत्कृष्ट कम्पनी भएको बताएका थिए। रविनले नेपालबाट जाँदा जे सोचेका थिए, सोही अनुसारको काम नपाएपछि दुःखी भए।

रविनलाई यहाँबाट दिनको ८ घण्टा मात्रै काम गर्नुपर्ने र ओभर टाइम पनि राम्रै हुने भनिएको थियो। भने, १ हजार ४ सय दिराम पारिश्रमिक र ओभर टाइमको प्रतिघण्टा ४२ दिराम हुने भनिएको थियो। तर, अहिले रविन जम्मा ८ सयमा रियलमा काम गर्न बाध्य छन्।
त्यति मात्रै होइन, रविनले ठुलो रकम तिरेर पुगेको सोही कम्पनीमा फ्रि भिसा, फ्रि टिकटमा पो पुग्न सकिने रहेछ। यति भएपछि रविनले ती दुई एजेण्ट थापा र खड्काबाट ठगिएको चाल पाए।

रविन सँगै दुबईमा अन्य ६ जना नेपाली पनि पुगेका थिए। तर, उनीहरू त्यहाँ भनेको जस्तोको काम नपाएपछि नेपाल फर्किए।
अहिले जिमिनी कम्पनिले सुनारसहित अरू पाँच जना व्यक्तिको पासपोर्ट लिएर राखेको छ।

जिमिनी कम्पनीमा कम गर्नको लागि व्यक्तिको उमेर २४ वर्षमाथि हुनुपर्ने हुन्छ। तर, सुनारको उमेर मात्रै २२ वर्ष हो। यसरी म्यानपावरका एजेण्ट थापा र खड्काको सेटिङले गर्दा रविन सो कठिन काममा फसेका छन्। आफ्नो समस्याबारे बोल्न खोज्दा आफूलाई बोल्नसमेत नदिने गरेको रविनले बताए।

रविनले रुँदै भन्छन्, ‘सुरूमा नै म्यानपावरले वास्तविक कुरा बताउनुपथ्र्यो तर मलाई झुक्याइयो। म त अहिले सिधैं खाल्डोमा परेको जस्तो भएको छु। यहाँ काम गर्न निकै जोखिम छ।’ उनले कम्पनीले बीमासमेत नगर्दिएको बताए।

यसरी धन कमाएर परिवार पाल्ने आशामा दु्बईमा पुगेका रविन समस्यामा परेका छन्। उनले स्वःइच्छाले नेपाल फर्किन चाहेपनि कम्पनीले उल्टो पैसा माग्ने गरेको छ। ‘अहिले नेपाल फर्किन्छु भन्दा पनि कम्पनीले उल्टै ५ हजार ६० दिराम (नेपाली करिब एक लाख) मागेको छ। अब म कसरी नेपाल फर्किने,’ उनले गुनासो गरे।

उजुरी पारे कारबाही प्रक्रिया आगाडि बढ्छ– वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागका प्रवक्ता कृष्ण भुसालले यस्तो अवस्था विभागमा उजुरी परेको खण्डमा आफूहरूले छानविन गर्ने बताउँछन्। ‘समस्याबारे यहाँ उजुरी पर्‍यो भने हामीले म्यानपावरलाई बोलाएर बुझ्छौँ,’ प्रवक्ता भुसालले भने। यस्तो अवस्थामा कामदारका परिवारले उजुरी दिन सक्ने बताए।

उनले यसरी कामदारलाई प्रलोभनमा पारेर फसाउने व्यक्ति र म्यानपावरलाई कारबाही हुने बताउँछन्। 

म्यानपावरले हाम्रो मान्छे तत्काल नेपाल फिर्ता गराउनुपर्छ– रविनका भिनाजु

पीडितका भिनाजु राज बरालले म्यानपावरले नै रविनलाई नेपाल फिर्ता ल्याउनुपर्ने बताउँछन्। ‘म्यानपावरले यसरी ठग्न पाइदैन। कुरा एक, काम अनेक गरेर हुँदैन, म्यानपावरले हाम्रो मान्छेलाई तत्काल नेपाल फर्काउनुपर्छ र हामीसँग लिएर पैसा पनि फिर्ता गर्नुपर्छ,’ बरालले बिएल नेपाली सेवासँग भने।

यसअघि म्यानपावरलका कर्मचारीले विदेशमा समस्या वा अलपत्र परेको तिरेका पैसाको दोब्बर रकम फिर्ता गर्ने वाचा गरे पनि अहिले वेवास्ता गरेको बताए। म्यानपावरविरूद्ध उजुरी हाल्ने तयारीमा रहेको उनले बताए।

यता सामाजिक अभियान्ता अर्पण साधकले सिधा मानिसलाई विदेशमा फसाउने क्रम बढ्दो रहेकाले यसमा सम्बन्धित निकायहरूले निगरानी गर्नुपर्ने बताए। ‘म्यानपावरले सिधा मानिसहरूलाई लगेर फसाउने काम गर्नु हुँदैन। मानिसहरू ऋण खोजेर विदेश गएका हुन्छन्। यस्ता ठग कम्पनीलाई सरकारले निगरानी गर्नुपर्छ,’ उनले भने।



‘चिनियाँ ह्याकर’काे जालाेमा नेपालीः म्यान्मारमा सयाैँ युवा बन्धक

जसलाई कार्टुनिस्ट बन्न पृथ्वीको आधा चक्कर लगाउनु पर्‍यो

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने पक्राउ

प्रकाशित मिति: : 2023-03-27 19:35:00

प्रतिकृया दिनुहोस्