शनिबार, १३ डिसेम्बर २०२५

रास्वपा ‘रवि लामिछाने’ नाम गरेको फगत व्यक्तिको अनुहार हो: सरोज मिश्र (भिडियाे)

ध्रुब बस्याल

ध्रुब बस्याल

काठमाडौं
• • •

यही वैशाख १० गते तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन भयो। तीन क्षेत्रमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई स्थान (तनहुँ-१ र चितवन-२) मा भारी मतका साथ विजयी प्राप्त गर्यो। पुरानो दल र नेतृत्वप्रतिको वितृष्णा अहिलेको उपनिर्वाचनकाे परिणाममा देखिएको धेरैकाे अनुमान छ।

यता, रास्वपाका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतकाे फैसलापछि उनकाे सांसद पद गयाे। याेसंगै रास्वपा सरकारबाट बाहिरिएको थियो। तर रास्वपाले सरकारलाई दिएको सर्मथन भने अहिले पनि यथावत राखेको छ। उनीहरूकाे द्वैध चरित्र देखेर रास्वपा पनि सत्ता माेहमै रमाउने पाे हाे कि भन्ने खालका टिकाटिप्णी हुने गर्छ।

रास्वपाप्रति हुने गरेको टिप्पणी, पार्टीको भविष्य र अहिलेको सरकारसँग जोडिएर बिएल नेपाली सेवाका लागि राजनीतिक विश्लेषक सरोज मिश्रसंग कुराकानी गरेका छौँ।

प्रस्तुत छ बिएल संवाददाता ध्रुव बस्यालले मिश्रसँग गरेको कुराकानीको संम्पादीत अशः


उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ का मतदाताले दिएको सन्देशलाई कसरी विश्लेषण गर्न सकिन्छ?

विद्यमान पुराना पार्टीहरुले काम गर्दागर्दै आम जनताको आकांक्षा पूरा गर्न नसकेका कारण जनतामा एक खाले वितृष्णा जन्मिएको बेला अनौठो, चटकी, सुनियोजित ढङ्गले राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हो। त्यही वितृष्णा जन्मिएको बेला उग्र कुरालाई प्रयोगमा लिएर आम निर्वाचनमा उनीहरुले सफता पाए। उनीहरुले पाएको सफलता वितृष्णाको जवाफसंगै कुनै एउटा शक्तिले नेपाली जनताको निरासा, वितृष्णा र कमजोर मानसिकतालाई आक्रमण गर्न सकिन्छ भन्ने क्रममा बनाएको योजनाले सफलता पाएको हो।

सत्ता र शक्तिसहित पुराना दलहरू एक ठाउँमा उभिएर मन्त्री बाँड्दै हिँड्दा पनि रवि लामिछाने र स्वर्णिम वाग्लेको सानदार जितलाई मतदाताको मन र मत बदलिएको भन्न सकिन्छ?

त्यस्ताे होइन। अन्य पुराना दलहरुले धेरै राम्रो नगरे पनि केही भने पक्कै गरेका छन्। केही मान्छेहरु पुस्ताको कुरा गर्दै उनीहरुको जितलाई जय-जय गरेका छन्। ती पुराना दलहरुमा युवा पुस्ता र आशा लाग्दा मान्छे छैनन् र? रवि लामिछाने र स्वर्णिम वाग्लेभन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी कसरी जन्मियो भन्ने प्रश्न गर्नु पर्दैन?

गत आम निर्वाचनमा दुई दिन अगाडिसम्म नाम नसुनेको मान्छेले चुनाव जितेका छन्। म बसिरहेको क्षेत्र काठमाडौं-२ मा चुनाव अघिसम्म एमालेको गड भनिन्थ्यो, रास्वपाको कुनै आधार नभएको क्षेत्रमा सविता गौतमले जित्नुभयाे। उनीहरुको आधार नभएको क्षेत्रविना जित कसरी सम्भव भयो भन्ने धेरै प्रश्न छ।

नयाँ दलले आशा लाग्दो अनुहार, काम देखेर जितेकाे होइन। रास्वपाले सामाजिक सञ्जाल कब्जा गरेर अर्ध शिक्षित, बेरोजगार मान्छेहरुलाई कसरी आफूतिर आकर्षित गर्न सकिन्छ भन्ने कुराको बुझेका रवि लामिछाने र उनको आक्रमक बाेलीले जितेका हुन्। रास्वपाले पाएको मत आफ्नो होइन, रवि लामिछानेको मत हो। जनताको निरासालाई सुनियोजित रुपमा आशा कब्जा गरेका हुन्।

तपाईंहरू जस्ता केही राजनीतिक विष्लेशक, वुद्धिजीवीहरूले रास्वपाकाे जति नै विराेध गरे पनि जनताले स्विकारे, उनीहरूलाई नै विजयी गराइरहेका छन् नि?

जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको कुन चाहिँ विचार स्वीकार गरेर मतदान गरेका हुन्? कुनै विचार भए मलाई भन्नुस् त। उनीहरुको कुनै विचार छैन। रवि लामिछाने नाम गरेको ‘मादक, सेक्सी पर्सनालिटी’ भएको व्यक्तिलाई जबर्जस्ती थुपारियो। व्यक्ति रवि लामिछानेको भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको विचार के हो? विचार छ भने जनताले थाहा नपाउने? लुकेको विचारलाई मानेर जनताले स्विकार्य गरेको हुन् तर पत्याउन सकिँदैन। उनीहरुको विजयी चमत्कारिक रुपमा भएको हो।

उपनिर्वाचनमा उनीहरुको जित भनेको नेपालका मतदातालाई गत आम निर्वाचनबाट सिकेर यसरी मतलाई कब्जा गर्न सकिन्छ भन्ने चाल हाे। रवि लामिछाने नाम गरेको व्यक्तिको तमाम अवगुणहरुलाई बाहिर निस्कँदा पनि जनता उल्लु बनाउन सकिने रहेछ भन्ने बुझेर उनीहरु विचार नभए पनि उत्तेजक कुरा गरेपछि पुग्छ। उसकाे पछाडि घिनलाग्दो अस्विकार्य कुराहरु भएपनि प्यारामिटर अथात् मानक नेपाली समाज र नैतिक चरित्रमा स्विकार्य नभएको कुरा भए वा भष्टाचारलगायतका तमाम नकारात्मक कुरा सार्वजनिक हुँदा पनि रविलाई भगवान् मानेर जनतामाझ स्थापित गरियो। त्यही गल्तीलाई स्थापित गर्न सक्छौँ भनेर प्रयोगमा लागेकाहरुले सफलता पाएका हुन्।

चुनावको मुखमा रवि लामिछानेमाथि विभिन्न आरोपहरु पनि लागे। धेरै अनुमान पनि गरे कि उनकाे मत घट्छ, उनी हार्छन्। तर उनले अघिल्लाे चुनावकाे तुलनामा यसपटक झन धेरै मत पाए। यसलाई कसरी बुझ्ने?

जनता नराम्रो रुपले झुक्किएका हुन्। जनतालाई मादक व्यक्तित्वमा भुलाइयो। गाँजाको सुरमा मान्छे भुल्छन् नि, त्यस्तै सुरमा जनतालाई भुलाइयो। जतिबेला सुरले छाड्छ, जनता पछुतान बाहेक केही बाँकी रहन्न।

व्यवस्था फेर्नका लागि पुराना दलहरूको योगदान महत्वपूर्ण छ। पटकपटक सत्ता चलाइरहेका यी पुराना दलहरूप्रति मतदाताहरू खासै सन्तुष्ट नदेखिएको सत्य हो। तर छोटो समयमै रवि लामिछाने जस्ता व्यक्तिहरू उदाउनुको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?

मैले पहिले पनि भनेँ, जनतालाई सुनियोजित रुपमा मान्छेको कमजोर दिमागमा आक्रमण गरेर प्रतिष्ठापद गरिएको एउटा पात्र नै यसको मुख्य कारण हो।

सुरूवातबाट नै रास्वपामा धेरै खालका विवादहरू आए। सांसदले मन्त्री बन्नका लागि घुस मागेकाे कुराले पनि एक खालकाे तरंग नै ल्यायाे।तपाईंकाे विचारमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कस्ता कस्ता पात्रहरू छन्?

उनीहरुको बारेमा धेरै थानगन्ती गरिरहनु जरुरी छैन। अहिलेसम्म रास्वपाको कुनै व्यक्तित्व, चरित्र, सिद्धान्त, विचार केही छैन। पार्टीभित्र विभिन्न नाम गरेका, धेरै कुरा भएका मान्छेहरु छन्। त्यसैले कसैको बारेमा विश्लेषण गरिरहनु जरुरी छैन। रास्वपा भनेको रवि नाम गरेको फगत व्यक्तिको अनुहार हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको आयु कति होला? के लाग्छ तपाईंलाई?

उनीहरुको आयु कत्ति हो, जनताले देखाउलान्। मैले भनेँ, रवि लामिछाने पासपाेर्ट काण्डमा फेरि जान्छन्। जानैपर्छ। किनभने नेपाल नागरिकता ऐन २०२१ को ७६ ‘क’ अनुसार झुठो विवरण पेस गरी दोहोरो पासपाेर्ट लिएमा कसुर जन्य अपराध हो। कम्तिमा दुई वर्ष जेल हुन्छ। त्यसैले करिब तीन करोड नेपालीले ‘रवि दाई जिन्दावाद, रवि हाइ हाइ’ भन्दै जुलुस आएको अवस्थामा पनि एउटा न्यायाधीशले न्यायको कुर्सीमा बसेर न्यायलाई उल्लंघन गर्न सक्दैन। न्यायालय विधिको शाशन हो भने कानुनको अक्षरलाई नाघ्न सक्दैन।

अब न्यायाधीश तर्सिन्छ, कानुन तर्सिन्छ, न्यायालय प्रभावित हुन्छ र सबै कुरा सकिन्छ। किनभने व्यवस्था विधिको शासन हो। एउटा किताबमा लेखिएको कुरा पनि रवि लामिछानेकाे महानता देखेर तर्सिएर फैसला भए पासपाेर्ट काण्डमा सकिन्छ धेरै आशा गर्न जरुरी छैन।

सरकारमा रास्वपाको भूमिका के होला? अब रवि लामिछानेको पार्टीले सरकारबाट समर्थन फिर्ता लेला?

त्याे मलाई थाहा छैन। रविले के गर्छन्, मेरो चासोको विषय होइन। किनभने रवि लामिछानेको मन पढ्न सक्ने मेरो क्षमता छैन। तर मैले बुझेअनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई चहिएको र स्वर्णिम वाक्लेलाई अर्थमन्त्री चाहिएकाले अहिलेको सरकारले त्यो दिँदैन, नदिएपछि सरकारबाट समर्थन फिर्ता लिन्छन्।

सत्ता स्वार्थमा रुमलिएका पुराना दल र भर्खरै उदाएको रास्वपाको भूमिका र आगामी दिन कस्तो देख्नुहुन्छ?

सत्ता स्वार्थमा पुरानो मात्र होइन, नयाँ दलहरु पनि रुमलिएका छन्। सरकारबाट बाहिरिनु भन्दा पहिले चाहिन्छ कि चाहिन्छ भनेर दौडिएर अल्मलिएको सबैलाई थाहा छ। सत्ता स्वार्थमा अल्मलिएको पुराना दललाई भन्नु भन्दा पहिले विकल्पको रुपमा अल्झिएको अवगत छ। उनीहरुको अबको भुमिका भनेको सकेसम्म सत्तामा जाने, यदि लिइएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र निर्णायक भूमिकामा नरहेकाले अर्को गठबन्धनसंग बार्गेनिङ गर्ने यहि हो।

अन्त्यमा, देशको समग्र अस्थिर राजनीतिलाई कसरी लिनुभएको छ?

अस्थिरता संविधानको चरित्र हो। देशमा जबसम्म समानुपातिक भन्ने चिज रहन्छ, त्यतिबेलासम्म कसैको बहुमत आउँदैन। बहुमत नआए सत्ता जोड-घटाउ चलिरहन्छ। संविधानकै कारण अस्थिर हुन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!