
ईश्वरी राई (इशु)
‘जन्मपछि मरण त्यो निश्चित छ, त्यसमा मलाई कुनै भय छैन। तर मलाई नेपाली भएर पनि अनागरिक बनेर मर्नुपर्छ भन्ने कुराले पिरोलिरहेको छ। मसँग ‘नेपाली हुँ’ भनेर प्रमाण देखाउने नागरिकता छैन। त्यही कुराले मलाई दिनरात सताइरहेको छ’, ७४ वर्षका कमलजंग खत्री आफूले भोग्नुपरेको दुख सुनाउँदै भावुक हुन्छन्।
१० महिनाको उमेरमा उनले आमा गुमाए। आमा बितेको वर्षदिन नपुग्दै बुबा टेकबहादुरले अर्की श्रीमती ल्याए। सानै उमेरमा बाआमाको मायाबाट बञ्चित भएका कमल दिदीको साथमा हुर्किए। ‘कान्छी आमा घरमा भित्र्याएपछि बुबाको रबैया बदलियो। हामीलाई माया गर्न छाड्नुभयो’, उनले विगतलाई कोट्याए।
आमाको साथबाट टाढिएपछि उनी सानैदेखि काम गर्नमा सिपालु भए। झोला बोकेर स्कुल जाने उमेरमा उनी हलो र कोदाली बोक्नमा पोख्त भए। छोरा मान्छे भएपनि घरको कामकाज सम्हाल्नु उनको मुख्य कार्य थियो। ‘दिदीको सानै उमेरमा विवाह भइगयो, त्यसपछि म आफैँले घरको काम गर्न थालेँ’, उनले भने।
सानै उमेरदेखि दुख गरेर हुर्किएका उनले कहिल्यै स्कुलको आँगन टेक्न पाएनन्। तर उनी आफू नपढे पनि कान्छी आमाले जन्माएका चार भाइहरूलाई शिक्षित बनाउन चाहन्थे। त्यसैले उनले मेलापात गरेर कमाएको पैसा भाइहरूका लागि खर्चिन्थे।
गाउँमै खेतीपाती गरेर घर खर्च पुर्याइरहेका कमल खुसी थिए। तर बेरोजगारीको कारण गाउँका ठिटाहरू विदेश पलायन हुन थाले। आफूसँगै हुर्किएका साथीहरू विदेशिएको देख्दा २२ वर्षका उनमा पनि जोश आयो, बाहिर गएर पैसा कमाउने।
आफूले देखेका सपना उनले घरमा सुनाए तर बाआमाले अस्वीकार गरे। जसको कारण थियो, ‘नागरिकता’। नेपाली भएको प्रमाणपत्र अर्थात् नागरिकता चाहिन्थ्यो, जुन उनीसँग थिएन।
‘मैले मेरा बालाई नागरिकता बनाइदिनु भनेर धेरै बिन्ती गरेँ तर उहाँले वास्ता गर्नुभएन। बरू उल्टै मलाई बुबा र कान्छी आमाले किन नागरिकता चाहियो भनेर थर्काए’, आफू नागरिकताविहीन हुनुको कारण खुलाउँदै उनले भने, ‘नागरिकता बनाइदियो भने भाइहरूले पाउने सम्पत्ति मैले खान्छु भनेर मलाई मेरै बुबाले नागरिकता बनाइदिएनन्।’
बुबा टेकबहादुरले नागरिकता बनाइदिन अस्वीकार गरेको कारण दुखी भएका उनी वि.सं. २०२८ सालमा सदाका लागि गाउँ छाडेर सहर हानिए। नागरिकताबिना नै ७३ वसन्त पार गरिसकेका उनलाई जिन्दगीसँग कुनै गुनासो छैन तर अनागरिक भएरै संसार त्याग्नुपर्ने अवस्था भएकाेमा गुनासो गर्छन्।
‘बुबाले मलाई नागरिकता बनाइदिनुभएको भए मैले भत्ता पाउँथेँ होला तर मलाई त्यसको कुनै लोभ छैन। जिन्दगीभर आफ्नै पौरखमा खाएँ, दुईचार पैसा लोभ गर्नु पनि हुँदैन। तर मर्नेबेला अनागरिक भएर मर्छु, त्यही कुराको दुख लाग्छ’, गहभरि आँसु बनाउँदै उनले भने, ‘अब त मात्र मृत्युको पर्खाइ छ।’
त्यसैगरी रामेछापका रामबहादुर कार्कीकाे पीडा पनि उस्तै छ। ८० वर्ष पुगिसकेका उनीसँग पनि छैन, नागरिकता।
कमलले जस्ताे उनले पनि तीन वर्षकाे उमेरमा आमा गुमाए। आमाकाे निधनले छँटाहा भएका बुबा ‘जुवाडे’ बने। त्यही कारण बुबाले २२ मुरी धान फल्ने खेतबारी सबै जुवा/तास खेलेर उडाए।
बुबाकाे कारण पाँच वर्षको उमेरदेखि घरधन्दा सम्हाल्न सिकेका रामबहादुरले ८ वर्षको उमेरदेखि महाजन (साहु)को घरमा काम गर्न थाले। ‘हाम्राे धन सम्पत्ति नभएकाे हाेइन, तर बुबाले जुवा खेलेर सबै गुमाए’, उनले बिएल नेपाली सेवासँग भने, ‘बुबाकाे चर्तिकला देखेर दाइ विदेश गए, म चाहिँ गाउँमै रहेँ।’
गाउँमा भएकाे सर्वश्व सम्पत्ति जुवामा उडाएपछि बुबाको पनि निधन भयाे। बाआमाकाे निधनपछि दाइसँगै बस्न चाहन्थे रामबहादुर, तर त्याे उनका लागि असम्भव भइदियाे। जसकाे कारण थियाे, नागरिकता नहुनु।
‘गाउँमा मेराे काेही थिएन, त्यसैले म दाइ भएकाे ठाउँ विदेश जान चाहन्थेँ तर त्याे सम्भव भएन। किनकी मसँग मेराे नागरिकता थिएन’, स्वर्गीय बुबालाई सम्झिएर उनले भने, ‘बुबा बिते, दाइ विदेशमा थिए। अनि कसले बनाइदिन्थ्याे हाेला र मेराे नागरिकता?’
गाउँमा बुबाकाे दाहसंस्कार गरिसकेपछि उनी २०१६ सालमा काठमाडाैं लागे। ‘सबै परिवारलाई गुमाएपछि बस्न मन लागेन अनि गाउँ छाडेँ’, उनले भने।
राजधानी आएर आजीवन अरूकाे घरमा काम गरेका उनी अहिले हिमालय वृद्धाश्रम केन्द्रमा छन्। ‘अहिले म काम गर्न सक्दिनँ। जसकाे लाागि आजीवन काम गरेँ, उसैले मलाई आश्रम छाडेर गयो’, नागरिकता नहुँदा भोग्नु परेको पीडा सुनाउँदै उनले भने, ‘म अशक्त भएको छु, अरूको भरमा बाँच्नु परेको छ। तर यदि मेरो नागरिकता हुन्थ्यो भने म अरूको सहारामा बस्नुपर्दैन थियो। सरकारले जेष्ठ नागरिकलाई दिने गरेको सुविधा मैले पनि पाउँथेँ तर के गर्नु अनागरिक भइदिएँ।’
नेपाली भएर पनि प्रमाण नभएकाेमा दुखेसाे पाेख्दै उनले भने, ‘नेपाली भएर पनि नागरिकता नहुँदा र अनागरिकको धब्बा लाग्दा नरमाइलो लाग्दो रहिछ। मर्नेबेला पनि दुख लाग्दो रहिछ।’
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया