ग्वार्को फ्लाइओभर: काम सुरु भएको चार महिनापछि ‘डिजाइन’ फेल ! (भिडियाे)

ललितपुरको ग्वार्को चोक(चक्रपथ सडक)मा निर्माण भइरहेको फ्लाइओभर निर्माणका केही भागमा अहिले काम रोकिएको छ।

चक्रपथमा हुने ट्राफिक समस्या कम गर्नका लागि सरकारले लामो समयदेखि तयारी थालेकाे फ्लाइओभर निर्माणको काम गत फागुनमा सुरु गरिएको थियो।

यो नेपालकै पहिलो फ्लाइओभर हुनेछ। तर निर्माण थालिएको चार महिनामा नै केही ‘प्राविधिक समस्या’ देखिएको छ। प्राविधिक समस्या देखिएपछि फ्लाइओभरको डिजाइनमा केही परिवर्तन गरिने भएको छ।

फ्लाइओभर निर्माणमा देखिएको समस्या के हो?

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनका अनुसार फ्लाइओभरको पूरै डिजाइनमा समस्या देखिएको होइन।

आशिष–समानान्तर–रेलिगेल जेभी कम्पनीले निर्माण गरिरहेको फ्लाइओभरमा देखिएको समस्या एउटैमात्र छ। जुन समस्या फ्लाइओभरको चोकमा राखिने पिलर हो। निर्माण कम्पनीले ठेक्का ल्याइसकेपछि त्यो डिजाइन कम्पनी आफैँले गरेको थियो।

डिजाइनअनुसार चोकमा ३४ मिटर गहिरो ४ वटा पिलर राखिने तयारी थियो। उक्त पिलर राख्दा अस्थायी रुपमा बाहिरबाट केसिङ अर्थात् सुरक्षाको उपकरण पनि राख्नुपर्ने हुन्छ। तर उक्त केसिङ राख्नका लागि नेपालमा मेसिन उपलब्ध हुन सकेन। जसका कारण त्यसको डिजाइन फेर्नुपर्ने भयो।

भारतमा समेत मेसिन उपलब्ध नभएपछि अब ३४ मिटर गहिराइमा राखिने भनिएको पिलर अलि कम गरिने भएको छ। त्यसलाई कम गहिराइमा राखिने र पिलरका संख्याहरू पनि बढाइने गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर महर्जनले बताए।

तर पाइलको संख्या कति बढाइने र गहिराइ कति घटाइने भन्ने डिजाइन भइसकेको छैन। ‘पहिलेको डिजाइनअनुसार ३४ मिटर ढलान गर्नुपर्नेमा ३४ मिटरसम्ममा केसिङ (सुरक्षा उपकरण) हालेर गर्नुपर्ने हुन्छ। त्यो केसिङ राख्नका लागि उपकरण नभएपछि बरु गहिराइ घटाउने र पाइल (पिलर) को संख्या बढाउने भन्ने छ,’ महर्जनले भने, ‘समस्या भएको यही हो। अब कति पिलर राख्ने? कति मिटरको राख्ने भन्ने डिजाइन हुँदैछ।’

महर्जनले हप्ता दिनमा पाइल राख्नेसम्बन्धी डिजाइन निर्माण कम्पनीले बनाइसक्ने बताए। उनका अनुसार अब केसिङ राख्न भारतमा उपलब्ध हुने मेसिनअनुसार पाइलको डिजाइन गरिने छ।

इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्रक्सन (इपीसी) मोडेलमा फ्लाइओभर निर्माण भइरहेको छ। फ्लाइओभर निर्माण भएपछि चक्रपथको बीचमा गुड्ने सवारी सधान ग्वार्को चोकमा रोकिनुपर्ने छैन। फ्लाइओभरबाट सिधै गाडीहरू गुड्नेछन्।

साथै मङ्गलबजारबाट इमाडोल वा इमाडोलबाट मङ्गलबजारतर्फ जाने वा चक्रपथमा जाने सवारी साधन पुलमुनिबाट प्रवेश गर्नेछन्।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको फ्लाइओभरको उचाई ६ मिटरको हुनेछ। सुपर स्ट्रक्चर ३५ मिटर हुने फ्लाइओभरको जम्मा लम्बाइ ५४० मिटर हुनेछ।

फ्लाइओभर निर्माणको समयावधि आउने फागनु १२ गतेसम्म रहेको छ। १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा बन्ने फ्लाइओभरको पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने शर्त छ।

फाेटाे र भिडियाे : रविन पुन मगर (आइडु)

प्रकाशित मिति: : 2023-07-14 20:40:00

प्रतिकृया दिनुहोस्