अझै सकिएन राेपाइँ, देशभर ६८ प्रतिशत मात्रै  

BreaknLinks
BreaknLinks

देशभर हालसम्म नौ लाख २७ हजार हेक्टर क्षेत्रफलमा ६८ प्रतिशत रोपाइँ सकिएको छ। 

यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलाे सातासम्म पनि ६८ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

गत वर्ष साउनकाे पहिलाे सातामा ८८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशत कम रोपाइँ भएको हो।

हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। त्यहाँ हालसम्म ९८ प्रतिशत रोपाइँ सकिएको छ। यस वर्ष यहाँ १ लाख ७५ हजार ५५६ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ।

यसैगरी सबैभन्दा मधेश प्रदेश, बागमती र गण्डकीमा रोपाइँ ढिलाइ भएको मन्त्रालयले जनाएको छ। 

मधेस प्रदेशमा हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको छ, यहाँ यो वर्ष ४ लाख १ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको थियो।

यसैगरी, बागमती प्रदेशमा ६५ प्रतिशत सकिएको छ, त्यहाँ १ लाख २३ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ। 

गण्डकी प्रदेशमा ६७ प्रतिशत रोपाइँ सकिएको छ, त्यहाँ यस वर्ष ९७ हजार ८४० हेक्टर बढि क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिएको छ।

त्यसैगरी कोशी प्रदेशमा ७३ प्रतिशत रोपाइँ भएको छ भने यो वर्ष यहाँ ३ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशमा हालसम्म ७४ प्रतिशत रोपाइँ सकिएको छ भने कर्णली प्रदेशमा ९४ प्रतिशत रोपाइँ सकिएको छ। कर्णाली प्रदेशमा यो वर्ष ४५ हजार ३०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। 

ढिलो गरी मनसुन सक्रिय भएपनि सबैतिर एक नाशले पानी नपरेको कारण धान रोपाइँमा ढिलो भइरहेको कृषि मन्त्रालयले जनाएको छ।

यो वर्ष कति धान उत्पादन हुन्छ? 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा झन्डै ५५ लाख टन धान उत्पादन हुन गरेको छ तर अझै १५ लाख टन धान अपुग छ। अर्थात्, देशभित्र आवश्यक पर्ने चामलको करिब २१ प्रतिशत हिस्सा आयात हुन गरेको छ। 

आर्थिक वर्ष २०७४–०७५ मा नेपालमा १४ लाख ६९ हजार ५४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो। आव २०७५–०७६ मा १४ लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो।

आव २०७६–७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, जसबाट ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो। 

यस्तै, आव २०७७–०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो। 

२०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ हुँदा समेत ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६ सय २५ टन धान उत्पादन भएकाे थियाे। त्यसैगरी २०७९/ ८० मा १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन उत्पादन भएको थियाे भने यस वर्ष करिब १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। तर यस वर्ष कति धान उत्पादन हुन्छ भन्ने यकिन नभएकाे कृषि विभागकी प्रकक्ता जानुका पण्डितले बिएल नेपाली सेवालाई जानकारी दिइन्। 

‘रोपाइँ अनुसार धान उत्पादन हुन्छ। रोपाइँको काम अझैं बाँकी छ, त्यसैले अहिले उत्पादन कति हुन्छ भनेर भन्न सकिन्न’ उनले भनिन्, ‘तर रोपाइँ ढिला भएपनि फलमा असर पर्दैन। राम्रै उब्जनी हुन्छ।’ 

अहिलेसम्म नेपालभरि सरदर १३ लाख ५७ हजार ८१६ हेक्टर जमिनमा खेती हुँदै आएको छ। याे औसत जमिनमा खेती हुँदा पनि नेपालीलाई लगभग वर्षभरि खान पुग्दैन।

प्रकाशित मिति: : 2023-07-29 22:30:00

प्रतिकृया दिनुहोस्