बाढी पस्दा विद्यालयमा क्षति, रोकियो पठनपाठन

विद्यालयकाे प्राङ्गणमा बाढी पसेकाे छ। अजंगकाे रुखले चाैरकाे आधा भाग ढाकेकाे छ। चाैर बगरमा परिणत भएकाे छ। विद्यालयकाे भवनमा ठूलो प्वाल परेकाे छ। पठनपाठनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री पुरिएका छन्।

याे दृश्य हाे, जुम्लाको तिला गाउँपालिका-६ रुखेडामा रहेकाे देवीमहादेव माविको। जहाँ बाढी पस्दा विद्यालय भवनमा क्षति पुगेकाे छ भने पठनपाठन बन्द भएकाे छ।

तिला-९ को कुच्चा खोलामा आएको बाढी विद्यालयभित्रै पसेको छ। विद्यालयमा बाढी बसेपछि पठनपाठन प्रभावित भएको छ। कक्षा ६ देखि ११ सम्म सञ्चालनमा रहेको विद्यालयमा बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द गरिएको छ।

प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ।

'जुन भवनमा क्षति पुग्याे, त्यसमा विज्ञानको ल्याब, कम्प्युटर कक्षा र कार्यालय रहेको थियो,' उनले भने, 'भवनभित्रै बाढी पसेपछि बगाउनुका साथै सामग्री भिजेका छन्। भवन पनि भत्किएको छ।'

खोलाको किनारमा विद्यालय स्थापना गरिएकाले पनि स्थानीयले पहिले नै बाढीपहिरोको जोखिम आड्कल गरेका थिए। बुधबार आएको बाढीले विद्यालयमा क्षति बनापछि भवन निर्माण नभएसम्म पठनपाठन प्रभावित भएको छ।

विद्यालय नयाँ शैक्षिक सत्र वैशाखदेखि सञ्चालनमा ल्याइएको हो। ढिपु, सुडी र रिपीमा विद्यार्थीलाई पायक पर्ने गरी रुखेडामा ६ देखि १२ कक्षासम्म पठनपाठन सञ्चालन गरिएको प्रधानाध्यापक रावतले थपे।

'यहाँ तीन गाउँका कक्षा १० सम्मका २२० जना र कक्षा ११ का ५० जना विद्यार्थी अध्ययनरत छन्,' उनले थपे, 'बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडिदेखि विद्यालयसम्म आवतजावत गर्ने दुईवटा काठेपुल पनि बगाएको छ। तत्काल विद्यालयमा जान सकिने अवस्था छैन।'

बाढीले के कति क्षति गर्‍यो भन्ने यकिन नभएको बताइएको छ। अहिले बाढीका कारण विद्यालयमा पुगेर अवलोकन गर्न सक्ने अवस्था नरहेको पनि प्रधानाध्यापक रावतले बताए। क्षतिको यकिन गर्न गाउँपालिकास्थित रारालिही प्रहरी चौकीलाई खबर गरिएको पनि उनकाे भनाई छ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले तत्काल त्यही स्कुलमा विद्यार्थीहरु राखेर पठनपाठन गर्नसक्ने अवस्था नरहेको बताए।

'विद्यालयभर बाढीले ढुंगा गिट्टी, बालुवा र झारपात थुपारेको छ। बाढीले ठूला काठका मुढा बगाएर ल्याएको छ,' उनले भने, '२/४ दिनमा खोलामा पानी घटेपछि विद्यालयमा जान सक्ने सम्भावना हुन सक्छ। वर्षा भइहाल्यो भने जानसक्ने अवस्था हुँदैन।'

अध्यक्ष रोकायाका अनुसार खोलामा पानी नघटेको खण्डमा त्यसका लागि केही वैकल्पिक उपाय गरेर भए पनि पठनपाठन सुचारु गर्ने विद्यालयको योजना छ।

बाढीले तिला-९ स्थित राँसा र मालापानीका दर्जनभन्दा बढी घट्टहरु बगाउनुका साथै आधा दर्जन बढी काठेपुलहरु बगाएको स्थानीय खाम्मा बुढाले बताए। उनका अनुसार छिमेकी गाउँ आउजाउ गर्नसमेत समस्या भइरहेको छ।

प्रकाशित मिति: : 2023-08-26 13:44:00

प्रतिकृया दिनुहोस्