कसले ढाल्न खोज्दैछ प्रचण्ड सरकार?

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालको एउटा अवचेतन मनले भनिरहेछ, ‘मलाई अनि सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ…’ र, फेरि अर्को मनले आफैंंलाई बुझाइरहेका छन्- यो सरकार कसैले ढाल्नै सक्दैन। 

नाम त खुलाउँदैनन् तर उनलाई लागेको सिधा कुरा हो- एमाले अध्यक्ष केपी ओली नै हुन्, जसले उनको सरकार ढाल्ने ‘षड्यन्त्र’ रचिरहेका छन्। ओली, जसले काँग्रेससँगको गाँठो फुकाएर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएका थिए। र, प्रचण्ड आफैंले जवाफ दिइरहेका छन् ‘यो सब केही हुँदैन। हामीलाई ढाल्न खोज्नेहरू बरू आफैं गिर्दै गइरहेका छन्।’

प्रचण्ड भयानकता

जब-जब प्रचण्ड राजनीतिमा घेरिन थाल्छन् अनि उनले आफ्नो भावनाको सहारा लिन्छन्। मर्ने कुरा गर्छन्। आफू मारिने कुरा गर्छन्। आत्महत्याको कुरा गर्छन्। घेरा हालेर आफूलाई सिध्याउनै थालेको आभाष दिन्छन्। त्यो उनी आफैंसँग ‘भावुक’भएको देखाउँछन्।

हिजो हतियार थियो। ती हतियार समाउने हजार हात थिए। वरिपरि उनलाई टिकाउने कैयन ‘कमाण्डर’ अनि नेताहरूको साथ थियो।

संसदीय राजनीतिको यो भद्रगोल बाटोमा आइपुग्दा ती हात र साथहरू सब छुटिसकेका छन्। र प्रचण्डभित्र बाँचिरहेको एक्लोपनको त्यो आभाषले कहिलेकाहिँ उनलाई बाँच्नै दिँदैन। 

‘फेरि परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको छ। फेरि हामीलाई ढाल्ने कोसिस भइरहेको छ’ प्रचण्ड आफैंलाई राम्रोसँग थाहा छ कि यी ‘षड्यन्त्र’ र ‘कोसिस’हरूले उनी ढल्दैनन्। प्रचण्ड सरकार ढाल्दा वा ढल्दा उनीमात्रै ढल्दैनन्। सँगसँगै शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादवहरूको खोलो पनि उल्टिनसक्छ। र, प्रचण्डले राम्रोसँग बुझेका छन्, आफू हुनका लागि पनि यी देउवा, नेपाल र यादवहरूले उनलाई अड्याउनेछन्।

‘सरकार ढाल्न कसैको केही लाग्दैन। जति कोसिस गरेका जनताका नजरमा उनीहरू गिर्दै गइरहेका छन्। हामी शक्तिशाली भयौँ भने सबै कमजोर हुँदै जान्छन्’, प्रचण्ड आफैंले भनेका छन्, ‘हामी एक हौं। सरकार कसैले ढाल्न सक्दैन।’

मंगलबार बिहानै आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले फेरि सरकार ढाल्ने र गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको एउटा कहानी सुनाएर कार्यकर्तालाई भावुक बनाए। 

‘अहिले राम्रा कामहरू गर्दै जाँदा फेरि यो गठबन्धन भत्काउने अनि सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ’ उनले सुनाए ‘फेरि नयाँ क्रान्ति नगर्ने हो भने देश दुर्घटनामा जाने खतरा छ। यो परिवर्तन उल्टिने खतरा छ। त्यस्तो दुर्घटनामा हामी सबै पर्ने खतरा छ।’

ताली बजाइरहेका कार्यकर्तालाई फेरि उनले त्यो ‘क्रान्ति’लाई जनयुद्धसँग जोडिदिए जसको ‘ह्याङ ओभर’मा आज पनि उनी स्वंय र उनलाई चाहने उनका कार्यकर्ताहरू बाँचिरहेका छन्।

‘अब सरकारमै बसेर जनयुद्धको थालनी गरिएको छ’ अहिले भ्रष्टाचारका फाइलहरू खोलेर केही नेता र तस्करहरूलाई समातिरहेको गृहप्रशासनको कामलाई उनले सरकारले सुरु गरेको अर्को ‘जनयुद्ध’ भनेर ब्याख्या गरिदिए र फेरि उनका कार्यकर्ताहरूले पर्रर ताली पिटे।   

प्रचण्डले यत्तिमात्रै भनेनन् बरू उनलाई सिध्याउनका लागि पटक पटकक जनयुद्धका मुद्दाहरू ब्यूँताउने काम पनि भइरहेको भन्दै कार्यकर्तामाझ मन पोखे।

‘अलिकति राम्रो काम हुन थाल्यो भने, प्रचण्ड र माओवादीलाई सिध्याउनुपर्‍यो भने के के गर्छन् भन्ने त सबैलाई थाहा छ’ उनले भने ‘अहिले पनि युद्धकालका ३६ मुद्दा त मेरै टाउकामा छन्। अहिले पनि राम्रो काम गर्दा २ वटा मुद्दा परेका छन्।’
अब देश बन्ने वा नबन्ने भन्ने माओवादीको हातमा रहेको भन्दै कार्यकर्तालाई निराश नहुन पनि भने। 

‘नेतृत्वमाथि हिँजो पनि प्रश्न थियो। आज पनि प्रश्नहरू उस्तै छन्। माओवादीले शान्ति सम्झौता गरेर सही गर्‍यो वा गल्ती भयो? भन्ने प्रश्नहरू उठे। ती वाद विस्तारै विवाद भए । त्यो विवाद विभाजनसम्मै पुग्यो। हाम्रो आन्दोलन विभाजन भयो’, उनले भने, ‘हामीले जनतामा विश्वास दिन सकेनौँ भने राष्ट्र बच्दैन। यसलाई हामीले मात्रै रोक्न सक्छौँ। माओवादी बनेमात्रै देश बन्ने हो।’

कार्यकर्तालाई त्यो सम्बोधन सकेर त्यसपछि संसदहरूलाई जवाफ दिन प्रचण्ड संसद पुगे। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका असिम साहले ती सारा फाइल खोलेर प्रचण्डले आफ्नो कुर्सी बचाउने अभियान सुरु गरेको भनेर उनिमाथि जिज्ञासा राखे। 

जस्तो कि प्रचण्डले नक्कली भुटानी शरणार्थीको फाइल काँग्रेसलाई लक्षित गरेर खोलेका हुन्। ललिता निवास जसपा र गिरिबन्धु टी स्टेटको जग्गा प्रकरण नेकपा एमालेलाई तर्साउन खोलिएका हुन्। 

‘नक्कली भुटानी शरणार्थीको फाइल खोलेर नेपाल काँग्रेसलाई साइजमा राख्नुभयो। ललिता निवासमार्फत जसपालाई अनि अब गिरीबन्धुमार्फत नेकपा एमालेलाई साइजमा राख्ने ट्राइ गर्दै हुनुहुन्छ’ साहले सोधेका थिए ‘आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच नगरेर कामले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउन सकिँदैन थियो होला?’

अनि जवाफमा प्रचण्डले भने ‘सरकारका यी कामहरू कुर्सी टिकाउनका लागि होइनन्। केही हुन्न सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिउको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ।’ 

अझ एक कदम जोस्सिएर उनले भनि त हाले ‘अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन। मेरो पार्टीको त के कुरा!’

त्यसपछि समाजवादी मोर्चाको ‘सन्देशसभा’लाई सम्बोधन गर्न बुटवल पुगेका उनले त्यो मोर्चामा सम्बद्ध तीन दलका कार्यकर्ताहरूसँग पनि त्यस्तै कुरा गरे। 
त्यहाँ पनि उनले सरकार ढाल्ने षड्यन्त्रहरू भइरहेको र परिवर्तन उल्ट्याउने प्रयासहरूको कमी नभएको भने।

र त्यसकै लागि सरकारमै बसेर एउटा फरक स्वरुपको जनयुद्ध लडिरहेको उनले बताए। 

‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु। लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ। त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु’ उनले भने।

उत्तेजना

जसरी प्रचण्ड क्षणमै भावुक हुनसक्छन् त्यसरी नै आफूलाई सुनिरहेका कार्यकर्ताको मनोभावसँगै उनी स्वाट्टै उत्तेजित पनि हुन्छन्। उनी प्रधानमन्त्री हुन्। राष्ट्रकै नेतृत्व गरिरहेका छन्। र, फेरि उनले ‘जनयुद्ध’ अनि क्रान्तिका कुरा पनि गरिरहेका छन्। 

२२ वर्षअघि जंगलबाट मोडिएका पाइलाहरू त अब पुराना भइसके। र पनि युद्धको त्यो धङधङीमा बाचिरहेको प्रचण्ड जीवन कहिलेकाहिँ अनाहकमै यसरै बोथोलिन्छ। 

‘परिवर्तनलाई मास्न खोजिए। फेरि पनि हामीलाई ढाल्न खोजिए, लाखौं जनता लिएर यही मोर्चा सडकमा ओर्लिन्छ’ उनले कार्यकर्ताहरूमा उत्तेजना भरिरहेछन् ‘कसैले हामीलाई ढाल्न सक्दैन। हामी फेरि लड्नेछौं।’ 

प्रकाशित मिति: : 2023-08-29 21:40:00

प्रतिकृया दिनुहोस्