कसले खायो बजारको सबै चिनी?

किन्छौं भन्दा पनि भारतले दिएन, नेपाली बजारमा अब चिनी छैन 

काठमाडौंका नरबहादुर श्रेष्ठले नयाँ बानेश्वरमा ‘चिया पसल’ गरेको तीन दशक बित्यो। त्यही चिया बेचेरै उनले आफ्ना छोराछोरीलाई हुर्काए, पढाए।

कुनैबेला तीन रूपैयाँमा पाइने उनको पसलको चिया पिउनेहरूको भीड बिहानदेखि बेलुकासम्म नै लाग्थ्यो। तर त्यो भीड हिजोआज पातलिदैं गएको छ। 

चियामा घोलिने एउटा खास चिज हो चिनी। जसको मूल्य चियाका हरेक कपमा होइन, त्यसको बुँदबुँदमा छ। केही समयदेखि बजारमा अलि कम पाइन थालेको चिनी अहिले त झन् पाइनै छोडेको छ। 

केही समयअघि ९० रूपैयाँ पर्ने चिनीको मूल्य अहिले १५० रूपैयाँसम्म पर्छ। त्यो पनि बजारमा पाइँदैन।

बढ्दो चिनी अभावको कारण विगतका वर्षदेखि परिवार धानिरहेको आफ्नो चिया पसल संकटमा जाने उनको त्रास छ।

‘चिनीको मूल्य बढेको छ, त्यहीकारण हामीले चियाको मूल्य पनि बढाएका छौं’, विगतको कुरा कोट्याउँदै उनले भने, ‘पहिलो चिनीको मूल्य केजीको १४ रुपैयाँ थियो तर अहिले महँगिएको छ।’ त्यहीँ महँगिएको चिया पिउन आउनेहरू पनि घट्दै गइरहेको छ। 

नयाँ बानेश्वरको छक्कुबक्कु मन्दिर छेउमा रहेको ‘छक्कुबक्कु बेकरी एण्ड कफी सप’ मा उनले ‘चिनीको मूल्य बढेको कारण एक कप चियाको ३० रुपैयाँ भएको छ’ चियाको भाउ बढ्नुको कारण खुलाउँदै उनले पसलको भित्तामै मूल्यको बारेमा लेखेर टाँसेका छन्।

आफ्नो पसलमा ग्राहक घटेको कारण निरासिएका श्रेष्ठ बिएल नेपाली सेवासँग गुनासो पोख्छन्, ‘बजारमा चिनीको सर्टेज हुन्छ भनेर १३० रूपैयाँको किलोका दरले बोरा चिनी किनेको थिएँ, त्यही पनि सक्किन लाग्यो। त्यसपछि पसल बन्द बाहेक अरू कुनै विकल्प छैन।’

नेपाली बजारमा चिनीको हाहाकार मच्चिनुमा सरकारको लापारवाही रहेको उनको बुझाइ छ। चाडपर्वमा चिनीको बढी उपयोग हुने भएकाले जानेरै चिनी लुकाएर मनपरी भाउमा बेचेको उनको आरोप छ।

‘बजारमा चिनीको हाहाकार हुनुमा सरकारको हात छ। व्यापारी त दोषी हुने नै भयो तर व्यापारीलाई कारवाही नगर्नु सरकारको दोष हो’, सरकारसँग रिसाएका उनी भन्छन्, ‘समस्यामा पर्ने हामी आमजनता नै हो तर यो चिनीको मूल्य बढ्दा र सजेट हुँदा धेरै मर्कामा परेको चिया व्यापारीहरू नै हुन्।’

पछिल्लो दुई सातादेखि आफ्नो पसलमा चिनीको अभाव भएको होलसेल पसलका एक सञ्चालक बताउँछन्।

‘चिनी नआएको १५ दिन भइसक्यो तर अझैं चिनीको अत्तोपत्तो छैन। चिनी भए पनि व्यापारीहरूले चलखेल गरिरहेको छ’ उनले भने।

चाडपर्वको मुखैमा उपभोक्ताहरूसँग चर्को मूल्य असुल्न ठूला ब्यापारीले चिनी लुकाएको उनको आरोप छ।

आफ्नो पसलमा आएका ग्राहकहरूलाई चिनी बिना नै फर्काउँदा नमज्जा लागेको उनी सुनाउँछन्। तर दसैं–तिहार अगाडि चिनीको एक टुक्रा पाउनसमेत मुस्किल हुनसक्ने उनको भनाइ छ।

केही दिनअघि चिनी बेचिरहेका पाल्पाली स्टोरका कृष्ण आचार्य पनि अहिले आफ्नो पसल चिनीबिहीन भएको बताउँछन्।

१४० रूपैयाँमा चिनी बेचिसकेको बताउने उनी भन्छन्, ‘पसलमा जति चिनी थियो। सबै बेचिहालेँ, अब कहिलेदेखि पसलमा चिनी आउँछ थाहा छैन।’ पछिल्लो समय बजारमा चिनीको हाहाकार हुनुमा व्यापारीहरूकै हात रहेको उनको आशंका छ। 

खाद्य कम्पनीमा पनि चिनी छैन

बजारमा चिनीको हाहाकार भइरहँदा सरकारी दुई व्यापारिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको खडेरी छ।

आइतबारदेखि दसैँ–तिहार विशेष सुपथ पसल सञ्चालन गरेको खाद्य व्यवस्था लिमिटेडमा पनि चिनी सक्किएको छ। सोमबारसम्म ग्राहकहरूलाई प्रतिव्यक्ति २ किलोका दरले चिनी बेचिरहेको खाद्य संस्थानमा अब चिनी छैन।

‘अहिले कम्पनीमा चिनी सक्किएको छ, कहाँबाट ल्याउने भनेर पनि थाहा छैन’, कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने भन्छिन्, ‘सहुलियत पसल खुलेदेखि हामीले ७ क्विन्टल चिनी बेच्यौं, अब चिनी छैन।’ 

सरकारले संस्थानलाई १० हजार टन चिनी उपलब्ध गराउने भने पनि हालसम्म चिनी नपाएको उनले बताइन्। जसकारण चिनीको हाहाकार मच्चिएको उनको बुझाइ छ।  

‘सबै खाद्य कम्पनीहरूमा चिनी टाट पल्टिएको छ, अब कहिलेदेखि चिनी आउँछ थाहा छैन तर यो दसैं तिहार अगाडि आउँछ भनेर भन्न सकिन्न’, उनले बताइन्। 

त्यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमा पनि चिनी क्लियर छ। भलै, कम्पनीले आइतबार मात्र १० हजार मेट्रिक टन चिनी लागि नयाँ टेन्डर खुल्ला गरेको छ। तर दसैं र तिहारअघि चिनी आउने सम्भावना नभएको कम्पनीले जनाएको छ। 

सरकार के गर्दैछ? 

सरकारले चिनीको माग धान्नका लागि ५० हजार टन चिनीको लागि पत्राचार गरेको थियो। तर हालसम्म पत्रको कुनै जवाफ नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर बताउँछन। 

आफूहरूले माग गरेको चिनी आर्यात नहुँदा बजारमा चिनीको हाहाकार भएको उनको भनाइ छ। 

‘यो पटक नेपालमा चिनी आर्यात भएन। त्यसैले चिनीको अभाव भयो’, तत्कालै चिनीको अभावलाई पूर्ति गर्न नसकिने बताउँदै ठाकुर भन्छन्, ‘यो वर्ष भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धको कारण नेपालमा चिनीको अभाव भयो।’ 

अहिले चिनी आर्यात गर्ने सबै बाटोहरू बन्द भएको छ। त्यसैले पनि सरकार गुपचुप छ। दसैं तिहारको मुखैमा उपभोक्ताको माग धान्नका लागि सरकार अस्तव्यस्त छ।

‘चिनी कहाँबाट ल्याउने भनेर हामी स्वयं अन्योलमा छौं, अब साल्ट कर्पोरेसनले चिनीको लागि हालेको टेन्डर नै हाम्रो आसा छ’, उनले बताए।

हाल नेपालमा वार्षिक ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ। जसमध्ये नेपालमा वार्षिक १ लाख ४० हजारदेखि १ लाख ८० हजार टन चिनी उत्पादन हुन्छ।

स्वदेशमै उत्पादन भएको चिनीले माग धान्न सक्दैन। जसकारण बजारमा चिनीको माग पूर्ति गर्नका लागि भारतबाट चिनी आर्यात गर्नुपर्छ। तर यो वर्ष चिनी आर्यात हुनै सकेन।

‘एक वर्षअघिको तथ्याङ्क हेर्ने हो भने ४० हजार टन चिनी भारतबाट ल्याइएको थियो। दुई वर्षअघि १ लाख चिनी नेपाल आर्यात भएको थियो भने त्योभन्दा अगाडि करिब साढे दुई लाख चिनी भित्र्याइएको थियो’, बजारको माग धान्न सक्ने चिनी नेपालमै उत्पादन गर्न सकिने बताउँदै उनले भने, ‘३ लाख टन चिसनी नेपालमै उत्पादन हुन्छ। ११ वटा फ्याक्ट्री नै छ तर उखुँ खेती गर्नुपर्छ। त्यसको लागि धेरै झन्झटिलो छ।’


व्यापारीले चिनी लुकाइरहेछन्, सरकार अनुगमनको ‘कर्मकाण्ड’ गरिरहन्छ

 

सरकारी ‘बिर्को’ खोलेर कसरी पसे चिनीमा बिचौलिया ? 

प्रकाशित मिति: : 2023-10-11 15:00:00

प्रतिकृया दिनुहोस्

    चिनी लुकाउनेलाई सजिलोसँग उपचार गर्न हामी सबै उपभोक्ताले चार महिनासम्म चिनी बहिष्कार गर्दा वा नखादा कसो होला ? किनकी चिनी नखाएर कोही मर्दैन तर लुकाएको चिनी त्यस पछि बेच्न र खान योग्य हुँदैन ।

    • 6 महिना अगाडि
    • बडे बाबु